१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

बरफ काटेर निर्वाचनको बाटो खुलाइयो

बाटो खुलेपछि मतदाता नार फू फर्किन थाले

मनाङको नार्पा भूमिको नार र फू सम्म पुगिने पदमार्गको धर्मशाला क्षेत्रमा जमेको बरफ काटेर बाटो खुलाउँदै सुरक्षाकर्मी। तस्बिरः जिल्ला प्रशासन कार्यालय मनाङ

हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फू सम्मको पहुँचमार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो। पदमार्ग खुलेसँगै मतदाता घर फर्किन थालेको स्थानीयले बताएका छन्।

घरेलु औजार सहित खटिएको सुरक्षाकर्मीको टोली पदमार्ग खुला गरेर आइतबार मात्र सदरमुकाम चामे फर्केको छ। पदमार्गमा खटिएको सेनाको एउटा टोली भने पदमार्गमै छ। मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले पाँचदिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग सफा गरेको बताए। नार र फू सम्म पुग्ने विभिन्न ठाउँमा पानीको झरना रहेको र तिनै झरनाबाट खसेको पानी जमेको थियो। जसले गर्दा ना र फू सम्म पुगिने एकमात्र बाटो अवरुद्ध रहेको उनले बताए।  

‘अहिलेका लागि पदमार्ग खुलेको छ। अब मतदातालाई घर फर्किन बाटो खुलेको छ। निर्वाचनका लागि खटिने कर्मचारीलाई पनि गाउँ पुग्न सहज बनेको छ,’ उनले भने, ‘तत्काल हिउँ नपरेको खण्डमा अब यात्रा अवरुद्ध हुँदैछ।’ सदरमुकाम चामेबाट ना र फू पुग्न कम्तिमा २ दिन पैदल हिँड्नुपर्छ। विद्युत सुविधा नभएकोले घरलु हतियारका भरमा मात्र बरफ काट्नु परेको उनले बताए। पानी जमेर कडा चट्टान झै बनेको बरफ भएको ठाउँमा बाटो नै अवरुद्ध रहेको र चिप्लो पनि अत्यधिक रहेको उनले बताए।  

‘सुरक्षाकर्मीको एउटा टिम त्यही काम गर्नका लागि खटिएको थियो। पाँच दिन लगाएर ठाउँठाउँका झरनाबाट बगेको पानी जमेर बनेको बरफ काटेर बाटो खुलाइएको छ,’ उनले भने, ‘कडा चट्टान जसरी बसेको बरफ हटाउन सहज थिएन। बलकै भरमा अहिलेका लागि बाटो खुलेको छ।’ चिसो छल्न सहर झरेका अधिकांश मतदाता अब गाउँ फर्किन सहज भएको पनि प्रजिअ पौड्यालले बताए।  

नार्पा भूमिमा सबै गरी ४ सय ८८ जना मतदाता छन्। पाँचवटा मतदान केन्द्र रहेको उक्त गाउँपालिका पुग्न मनाङ सदरमुकाम चामेबाट कम्तिमा दुई दिन पैदल हिँड्नुपर्छ। अहिले चिसो छल्न गाउँका अधिकांश बासिन्दा जिल्लाबाहिर छन। छिमेकी जिल्ला लम्जुङको वेशीसहर र काठमाडौं लगायतका सहरमा मतदाता मौसमी बसाइँसराइमा छन्। जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चुनौतीपूर्ण मानिएको छ।

नार्पा भूमि गाउँपालिका–५ का अध्यक्ष सोनम तेजे लामाका अनुसार नार्पा भूमि–२ का धर्मशाला क्षेत्रमा ठाउँठाउँमा पानीका झरना थिए। तिनै झरनाबाट खसेको पानी छरिएर बाटोमा बगेको र त्यही पानी जमेर बरफ बनेपछि मतदातालाई घर फर्किन समस्या रहेकोमा अब भने सहज भएको बताए।  

‘सुरक्षाकर्मीले धेरै नै मेहनत गरेर बाटोको हिउँ सफा गरेर पदमार्ग खुलाएका छन्। मतदाता अब घर फर्किन थालेका छन,’ उनले भने, ‘केही मतदाता घर फर्किसकेका छन भने कतिपय फर्किने क्रममा छन्। अबको केही दिनमा अधिकांश मतदाता घर फर्किसक्ने छन्।’  

धर्मशाला क्षेत्रमा कम्तिमा ४ ठाउँमा झरनाको पानी जम्दा बाटो अवरुद्ध बनेको उनले बताए। ‘अधिक चिसोका कारण पानी जमेको हो। हिउँ नै परेकोले यस्तो अवस्था भएको होइन। अब भने जमेको बरफ काटेर हटाइएको छ। गाउँलेलाई घर फर्किन सहज बनेको छ,’ उनले भने, ‘बाटोे खुल्नासाथ गाउँल फर्किन थालेका हुन। केही त फर्की नै सकेका छन्।’  

पानी जमेर बरफ बनेको ठाउँ चिप्लो हुने भएकोले पनि हिँड्डुल सकसपूर्ण रहेको उनले बताए। ‘केही गरी हिउँमा चिप्लियो भने सिधै नार र फू खोलामा खस्ने जोखिम हुन्छ। त्यही भएर बरफ नपन्छाएसम्म माथि जान सकिने अवस्था थिएन,’ उनले भने, ‘अब भने मतदातालाई मतदानमा सहभागी हुनका लागि सहज बनेको छ। कतै गाउँ फर्किन नपाएर मतदान गर्नै नपाउने हो कि भन्ने त्रास थियो। तर, अब सहज भएको छ।’

प्रकाशित: १० फाल्गुन २०८२ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App