४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

पञ्चायतका ‘पुरेत’ जसले प्रधानमन्त्री हुने मौकै पाएनन्

पञ्चायतकालीन राजनीतिज्ञ विश्वबन्धु थापाले शनिबार साँझ अन्तिम सास फेरे। आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षी रहँदै आएका उनी ९८ वर्षको उमेरमा ब्रह्मलीन भएका हुन्। पञ्चायतकालमा नेताहरूले भन्ने गर्थे - डा. तुलसी गिरी पञ्चायतकी आमा हुन् भने विश्वबन्धु थापा ‘पुरेत’। पञ्चायत भन्ने नाम नै थापाले प्रस्ताव गरेका थिए। त्यसकारण उनलाई पुरेत भनिएको थियो। ‘विश्वबन्धु थापाको बौद्धिकताकै बलमा राजा महेन्द्रले मौलिक दर्शन पञ्चायत प्रजातन्त्र प्रतिपादन गरेका थिए। राजा महेन्द्रले त्यसको श्रेय थापालाई दिन कुनै कन्जुस्याइँ गरेका छैनन्,’ कुनै सन्दर्भमा डा. भेषबहादुर थापाले भनेका छन्।

विश्वबन्धुका बाबु पद्मजंग थापालाई राणाविरोधी अभियानमा लागेको भन्दै चन्द्र शमशेरका पालामा निर्वासनमा पठाइएको थियो। जुद्ध शमशेरले माफी दिएपछि उनका बाबु सपरिवार विराटनगर आएका थिए। विराटनगरकै आदर्श विद्यालयमा पढेर २००१ सालमा थापाले मेट्रिक उत्तीर्ण गरे। थप पढाइका लागि उनी बनारस गएका थिए। बनारसको काशी हिन्दु विश्वविद्यालमा पढ्दै गर्दा कम्युनिस्ट नेता मनमोहन अधिकारीलगायतसँगको संगतले उनी कम्युनिस्ट पार्टीतर्फ आकर्षित भएका थिए। थापाले त्यहीबेला विद्यार्थीलाई दिइने प्यारा मिलिटिरी तालिम पनि लिएका थिए। उनी विभिन्न वामपन्थी आन्दोलनका प्रशिक्षणहरूमा सहभागी पनि भएका थिए।

थापा बिस्तारै बिपी कोइरालासँग नजिकिए। बिपीले कम्युनिस्ट पार्टीमा नभएर समाजवादी पार्टीमा लाग्नुपर्छ भनेपछि काशी हिन्दु विश्वविद्यालयका भाइस चान्सलर आचार्य नरेन्द्र देव र प्राध्यापक मुकुट बिहारीलाई पत्र लेखेर उनी समाजवादी शिविरमा सहभागी भएका थिए। थापा २००७ सालको क्रान्तिका योद्धासमेत थिए।

२०१५ सालको आमचुनावमा कांग्रेसले १०९ मध्ये ७४ स्थानमा जित्यो। उनी चितवनबाट निर्वाचित भएका थिए। त्यसपछि उनी कांग्रेस संसदीय दलको प्रमुख सचेतक भएका थिए। त्यतिबेला बिपी कोइराला प्रधानमन्त्री भएका थिए। प्रमुख सचेतकका हैसियतमा उनी बिपीसँग नजिक त थिए नै, उनले राजा महेन्द्रसँग पनि बारम्बार भेटघाट र छलफल गर्ने गरेका थिए। अर्थात्, उनी त्यतिबेला दोहोरो सम्पर्कमा थिए। उनीबाट राजाले तत्कालीन बिपी कोइराला सरकारको सूचना पनि लिइरहेका थिए। उनको राजनीति २०१७ पुस १ मा राजा महेन्द्रले ‘कु’ गरेपछि कांग्रेसबाट पञ्चायततिर ढल्किएको थियो। राष्ट्रिय पञ्चायतका योजनाकारका रूपमा समेत चिनिने उनी महेन्द्रको ‘कु’पछि बनेको मन्त्रिमण्डलमा गृहमन्त्री भएका थिए।

२०२० सालमा राष्ट्रिय पञ्चायतका अध्यक्ष र त्यसको एक वर्षपछि मन्त्रिपरिषद्को उपाध्यक्ष भएका थापा प्रधानमन्त्री भने हुन सकेनन्। उनीसँगै पञ्चायत छिरेका तुलसी गिरी भने प्रधामन्त्री भए। राजा महेन्द्रले उनीहरू दुवैलाई विश्वास गरेका थिए। राजा महेन्द्रको अवसानपछि उनीहरू दुवै जना कमजोर भएको मानिन्छ।

गिरी २०३२ सालमा दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए भने विश्वबन्धुचाहिँ उनकै भाषामा ‘बहुदल दिनुपर्छ’ भनेका कारण प्रधानमन्त्री हुन पाएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाका अनुसार विश्वबन्धु थापा तत्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बिपी कोइरालाका अनुयायी हुन्। बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा भने विश्वबन्धु थापालाई उरन्ठेउला र महत्त्वाकांक्षी भनेका छन्। बिपीले उनलाई अवसरवादीसमेत भएको छनक दिएका छन्। विराटनगरमा पहिलो मुठभेडमा माल अड्डा कब्जाको असफल प्रयास र त्यसमा भएको क्षतिको वर्णनमा ‘विश्वबन्धुको महत्त्वपूर्ण भूमिका थियो, त्यसमा शंका छैन’ भनेर आत्मवृत्तान्तको परिच्छेदमा २४ मा उल्लेख गरिएको छ।

२०३६ सालको जनमतसंग्रहमा थापा खुलेरै बहुदलको प्रचारमा लागे। ‘बिपीले तँ कांग्रेसमा आइज भन्नुभयो। २०३७ चैतमा उनी पुनः कांग्रेसमा फर्किएँ,’ थापाले एक अन्तर्वार्तामा भनेका छन्। ‘चिरञ्जीवी वाग्ले कांग्रेसको गोरखा जिल्ला सभापति हुनुहुन्थ्यो। उहाँले आएर पाल्पामा हुन लागेको बैठकमा प्रतिनिधि भएर जानुपर्‍यो भन्नुभयो। मैले प्रतिनिधि होइन, पर्यवेक्षक भएर जान्छु भनें। पर्यवेक्षकका रूपमा गएको थिएँ। म बिपीकै छेउमा बसेको थिएँ। एउटा विद्यार्थीले आएर कार्ड हेरूँ भनेर मागे। त्यो हल्लाउँदै उहाँ पञ्चायतमा हुँदा हाम्रो विरोधमा लाग्नुभएको मान्छे भनेर हल्ला गर्न थाले। बिपीले चुप लाग्नू भने। पन्चेहरूले पछि विश्वबन्धुलाई कांग्रेसले निकाल्यो भनेर हल्लाखल्ला गरे,’ उनले त्यो अन्तर्वार्तामा भनेका छन्। बिपीको निधनपछि उनी कांग्रेसबाट टाढिए। उनलाई पञ्चायतमा फर्कन पनि गाह्रो थिएन। पञ्च हुन सदस्यता पनि लिनु नपर्ने भएपछि सहजै नरमपन्थी पञ्च नेताका रूपमा उनी देखा परे। २०४६ सालपछि पञ्चायत पक्षधर नेताले खोलेको राजनीतिक दल राप्रपामा उनी आबद्ध भए। उनी हालसम्म पनि राप्रपाका वरिष्ठ नेता थिए।

राजनीतिमा लाग्ने कोही पनि घातप्रतिघात, धोकाधडी, जसअपजस आदिको गुणदोषबाट मुक्त रहन सक्दैनन्। उनले पनि कांग्रेसलाई धोका दिएर राजासँग हात मिलाएका थिए। चाखलाग्दो पक्षचाहिँ के हो भने यति हुँदा पनि कांग्रेसका नेता बिपी कोइरालाले क्षमादान दिएका थिए। त्यसैले उनी नेपाली राजनीतिको एउटा संवेदनशील कालखण्डको साक्षी मात्र नभएर पञ्चायतकालीन राजनीतिका सक्रिय खेलाडी थिए।

प्रकाशित: ४ फाल्गुन २०८२ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App