कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको जानकारी दिएका छन्।
मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको जानकारी दिएका हुन्।
‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ’, उनले भने, ‘मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ।’
उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरेका छन्। मतदान सम्पन्न भएलगतै मतपेटिका संकलनपछि मतगणना गरिने उनले जानकारी गराए।
मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले स्पष्ट पारे। साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको जानकारी गराए। रासस
प्रकाशित: २१ फाल्गुन २०८२ १०:३८ बिहीबार





