नेपाली कांग्रेस र नेकपा एमालेको विरासतलाई भत्काउँदै सुनसरी क्षेत्र नं. २ बाट रास्वपाका लालविक्रम थापाले भारी मतान्तरमा विजयी भएका छन्।
उनले ५७ हजार ३४८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याए। यस्तै, नेकपा एमालेका सुजन लामाले आठ हजार ३०३ मत ल्याए।
क्षेत्र नं. २ बाट २०६४ सालयता दुई पटक संविधानसभा र दुई पटक प्रतिनिधिसभाको निर्वाचन हुँदा एमालेले तीन पटक र कांग्रेसले एक पटक जितेको थियो। एक्ला एक्लै चुनाव लड्दा यस क्षेत्रमा नेपाली कांग्रेस र एमालेको संगठन बलियो देखिए पनि यस पटक मतदाताले परिवर्तनको पक्षमा भोट खसालेका कारण अपेक्षा गरेभन्दा ठुलो मतान्तरले थापाले जितेका हुन्।
थापा रास्वपाका कोशी प्रदेश महामन्त्री हुन्। उनको पुर्ख्यौली घर धनकुटा हो। उनको पृष्ठभूमि सिभिल इन्जिनियर हुन्। उनले इटहरीमा केही समयअघि सम्म शैक्षिक संस्था सञ्चालन गरेका थिए। उनी अघिल्लो पटक २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उम्मेदवार थिए। त्यो बेला एमालेका भीम आचार्यले ३२ हजार २४ मत ल्याएर विजयी हुँदा उनले १९ हजार ३९१ मत ल्याएका थिए। कांग्रेसका सीताराम मेहताले त्यो बेला २६ हजार ६८ मत ल्याएका थिए।
सुनसरी चार वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी एक लाख ५८ हजार ९१० जना मतदाता रहेको कुल मत एक लाख एक हजार ६७० खसेको थियो। जसमा ६ हजार २२९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस निर्वाचन क्षेत्रमा इटहरीका १०, रामधुनीका पाँच, इनरुवाका छ, देवानगञ्जका सात र हरिनगर गाउँपालिको एउटा वडा गरी ३० वटा वडा पर्छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १७:१७ आइतबार





