४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी क्षेत्र नं.३ : विजय र भगवतीलाई रास्वपासँगै नेकपा उम्मेदवारको चुनौती

सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी प्रतिस्पर्धामा छन् । तेस्रो प्रयासमा अघिल्लो पटक चुनाव जितेकी एमालेकी भगवती चौधरीले फेरि जसरी पनि जित्ने रणनीतिमा लागेकी छन् । तर, दुवैका लागि रास्वपाका अशोक चौधरी र नेपाली कम्यूनिष्ट पार्टीका दुर्गेश चौधरी मुख्य चुनौती बनेका छन् । 

२०२७ सालदेखि पार्टी राजनीतिमा सक्रिय गच्छदार २०४८ सालयता निरन्तर शक्तिमा रहँदै आएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पराजित भएसँगै कमजोर बनेका उनी अघिल्लो २०७९ सालको निर्वाचनमा एमालेकी भगवतीसँग पराजित भएका थिए । विजयले संविधानसभा दोस्रो र २०७४ सालको निर्वाचनमा एमालेकी भगवतीसँग कठिन ढंगले जितेका थिए । 

गच्छदारले कांग्रेसमा छँदा २०४८ र ०५१ सालको मध्यावधि तथा ०५६ सालको संसदीय निर्वाचनमा अहिलेको क्षेत्र नं. ३ मा पर्ने भू-भागमा समेत समेटिएको क्षेत्र नं. २ बाट विजयी भएका थिए । गच्छदारले २०६४ सालमा फोरम नेपाल, २०७० सालमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र २०७४ सालमा कांग्रेसबाट जितेका थिए । 

विजय यसपटक उम्मेदवारी दर्ता गरेदेखि नै मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । २०७९ अघि भएका निर्वाचनमा उनी मतदानभन्दा साता–दश दिनअघि मात्र आएर गतिविधी गर्थे । अनि अन्तिम तीन दिन बाँकी रहँदा मात्र सक्रिय देखिन्थे । तर, पछिल्लो समय परिस्थिति फेरिएको छ । जसले गर्दा उनी भ्याएसम्म जनताको घरघरमा पुगेर आफ्नो यसपटक अन्तिम भएको बताउँदै मत मागिरहेका छन् ।

उनका लागि ललिता निवास जग्गा प्रकरण अन्तिम टुंगो नलाग्नु, एउटै व्यक्ति पटकपटक चुनावमा प्रतिस्पर्धा गर्नु, आफ्ना ‘एस म्यान’ लाई बढी च्याप्नुका साथै पार्टीको सवै संयन्त्र परिचालन गर्न नसक्नु, नयाँ संस्थापन (गगन थापा) को टीमसँग घुलमिल हुन नसक्नु जस्ता पक्षले असर गर्नेछ । साथै, उनका पछाडि मतदाताले नरुचाउने व्यक्ति लिएर हिड्दा पनि क्षति पुग्नेछ । 

क्षेत्र नंं.३ का चुनावी कमाण्डर दीपक ढकाल भने कांग्रेसको नेतृत्व बदलिएसँगै नयाँ र पुरानाको समिश्रणबाट नतिजा कांग्रेसको पक्षमा आउने दावी गर्छन् । ‘अहिले त वामअप मात्र भइरहेको छ,’ उनले भने, ‘अझै धेरै दिन बाँकी छ । कांग्रेस संगठीत भएर अघि बढेकाले गर्दा कुनै समस्या छैन् ।’ 

एमालेकी भगवती चौधरी २०७४ साल र दोस्रो संविधानसभाको निर्वाचन २०७० मा विजयसँगै हारेपनि २०७९ मा भने जित निकाल्न सफल भइन् । भगवतीका निम्ति पनि यसअअिका तीनवटा निर्वाचन लड्दा अनुभव र उनको सुनसरी क्षेत्र नं. ३ भरी नेटवर्किङ् राम्रो छ । साथै, पार्टीका नेता–कार्यकर्ता पनि संगठित छन् । जसले गर्दा उनलाई केही हदसम्म सहज भएपनि विगतमा जस्तो सर्वसाधारण मतदाताको साहनुभूति भने छैन् ।

भगवतीलाई यसपटक क्षेत्र नं. ३ को गढी र बर्जु गाउँपालिकाको नेतृत्वप्रति सर्वसाधारणको असन्तुष्टिले असर गर्नेछ । दुवै स्थानमा एमालेका अध्यक्ष र उपाध्यक्ष निर्वाचित छन् । गढी गाउँपालिकामा उनकै आफन्त पर्ने आशनारायण चौधरी र बर्जु गाउँपालिका अध्यक्ष जिवछकुमार रायसँग सर्वसाधारण सन्तुष्ट छैनन् । भगवतीले फरवार्ड माइक्रो फाइनान्समार्फत सर्वसाधारणलाई ऋण लगानी गर्दा त्यसको असुलीमा गरेको ताकेता र कतिपयले पैसा तिर्न नसक्दा भएको समस्याका कारण पनि असर गर्नेछ  । साथै, विगतका निर्वाचनमा मतदातामाँझ बाढेका आश्वासन पूरा नहुँदा विश्वसनियतामा कमी र नेतामा हुनुपर्ने राजनीतिक संस्कारको कमजोर प्रवृत्तिले असर गर्नेछ । 

क्षेत्र नं. ३ का एमालेका चुनावी कमाण्डर लिलम बस्नेतले भने भगवतीले सामाजिक क्षेत्रमा गरेको योगदान र प्रत्यक्ष जनतासँग जोडिएकाले गर्दा जित सहजै हुने दावी गर्छन् । उनले क्षेत्र नं. ३ मा रास्वपाको प्रभाव कम भएकाले गर्दा कांग्रेसका उम्मेदवार बिजयसँगै प्रतिस्पर्धा हुने बताए ।

क्षेत्र नं. ३ मा  रास्वपाका अशोक चौधरी र नेपाली कम्यूनिष्ट पार्टीका दुर्गेश चौधरी नयाँ हुन् । यसपटक मतदातामा नयाँलाई हेर्ने भाष्य बढीरहेका बेला इटहरी वडा नं. ५ घर भएका अशोक, त्यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा पार्न अहोरात्र खटिरहेका छन् । उनी अघिल्लोपटक समानुपातिक सांसद भएतापनि यसपटक क्षेत्र नं. ३ का लागि प्रत्यक्षतर्फ नयाँ उम्मेदवार भएको र रास्वपाको पक्षमा मतदान गरेर परिवर्तनको पक्षमा रहेकाले गर्दा सहज जित निकाल्नेमा आशावादी भएको चुनावी कमाण्डर नवीन थापाले बताए । ‘हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ हाम्रो पक्षमा जनलहर छ,’ उनले भने । रास्वपाको बर्जु र गढीसँगै दुहवी वडा नं. १, २, ८, १० र १२ सोचेभन्दा राम्रो माहोल भएको पार्टीले जनाएको छ ।

प्रायः मुख्य प्रतिस्पर्धी सबै थारु उम्मेदवार भएकाले यसपटक अनपेक्षित नतिजा आउने खतरा छ । अशोकलाई केही मतदाताले भने क्षेत्र नं. २ मा नपाएर ३ मा झरेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।

नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार दुर्गेश चौधरी अरु पार्टीका उम्मेदवारको तुलनामा युवामा पर्छन् । उनले पनि थारु समूदाय त्यसमा पनि बामपन्थीहरुको मत आफ्नो पक्षमा पार्नेछन् । यद्यपी, उनीसँग मत माग्ने हिड्ने केही व्यक्तिलाई मतदाताले नरुचाउँदा मतमा असर गर्ने देखिन्छ ।

नेपाली कम्यूनिष्ट पार्टी केन्द्रीय सदस्य शारदा पोखरेलले यसपटक सोचेभन्दा राम्रो भएको बताइन् । उनी भन्छिन, ‘रास्वपाका अशोक चौधरी पनि एकपटक सांसद भइसकेकाले एकदमै नयाँलाई मत दिने भनेर जनताको प्रतिक्रिया पाइयो, पहिला पहिला चाँहि कांग्रेसका विजय गच्छदार र एमालेकी भगवतीलाई हेभीवेटका नेता भनेर भनेपनि अहिले त ठूलाभन्दा सानै उम्मेदवारलाई जनताले मन पराईरहेका छन्, जसले हामी आशावादी छौं ।’

क्षेत्र नं. ३ मा समावेसी समाजवादी पार्टी नेपालका किशोर विश्वासले पनि केही थारु मत ल्याउँदा जित्ने उम्मेदवारलाई असर पुग्नेछ । दुहवी घर भएका खानदानी परिवारका विश्वासको व्यक्तिगत मत पाँच सयदेखि सात सयसम्म छ । त्यसबाहेक पार्टीको नाममा केही मत आउने अनुमान गरिन्छ । उनी बेला बेलामा विभिन्न मुद्दा निकालेर त्यसको पछि लागि रहने व्यक्तिमा पर्छन् । 

क्षेत्र नं. ३ बाट कांग्रेसका बिजय, एमालेबाट भगवती, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार, रास्वपाबाट अशोक चौधरी, नेपाली कम्यूनिष्टबाट दुर्गेश चौधरी, राप्रपाबाट घनश्याम गुरुङ्, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदालगायत १६ दलका र स्वतन्त्र ६ गरि २२ जना प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ । इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ । क्षेत्र नं. ३ मा यसपटक कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । 

प्रकाशित: ३ फाल्गुन २०८२ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App