प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई कायम राखेको छ।
कुल ८४ लाख २० हजार ९०४ मत गणना भइसक्दा रास्वपाले ठुलो मतान्तरले पुराना दलहरूलाई पछाडि पारेको छ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४० लाख ६९ हजार ७९३ मत प्राप्त गर्दै समानुपातिकतर्फ आफ्नो वर्चस्व कायम गरेको छ। यो सङ्ख्या कुल खसेको मतको झन्डै ४८ प्रतिशतभन्दा बढी हुन आउँछ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ६६ हजार २५१ मत पाएको छ भने नेकपा (एमाले) ११ लाख ५५ हजार २८ मतका साथ तेस्रो स्थानमा छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी ५ लाख ९५ हजार ४३४ मतसहित चौथो स्थानमा रहेको छ।
यस पटकको मतगणनामा नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टी र परम्परागत शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच पाँचौँ स्थानका लागि कडा प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृति पार्टी २ लाख ९४ हजार १८ मतका साथ अगाडि छ भने राप्रपा २ लाख ७७ हजार ८६१ मतसहित उसलाई पछ्याइरहेको छ। यी दुई दलबिचको मतान्तर निकै कम रहेकाले अन्तिम नतिजा रोचक हुने देखिन्छ।
समानुपातिकतर्फ जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख २६ हजार ४७७ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २० हजार १० मत ल्याउन सफल भएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ ११:३६ सोमबार




-600x400.jpg)
