२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

रुपन्देहीमा रास्वपाको ‘क्लिन स्वीप’: पाँचवटै क्षेत्रमा भारी मतान्तरले विजयी

रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले दिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।

क्षेत्र नं. १ मा रास्वपाका सुनिल लम्साल भारी मतले विजयी भएका छन्। लम्साल ५७ हजार ३९ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिराबहादुर केसीले १२ हजार ४४७ मत प्राप्त गरे। राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ मत ल्याउँदा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाए। यो क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो।

३५ बर्षका लम्साल स्ट्रक्चरल इन्जिनियर हुन्। उनी रास्वपाका महामन्त्री पनि हुन्। यसअघि काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह निर्वाचित भएसँगै उनी पूर्वाधार तथा वातावरण विज्ञका रूपमा कार्यरत थिए। २०४७ सालमा स्याङजाको बिर्घामा जन्मिएका लम्सालको परिवार २०५२ सालमा रुपन्देहीको तिलोत्तमा ७ मा बसाइ सरेको हो। अहिले उनी काठमाडौं विश्वविद्यालयबाट सोलिड वेस्ट म्यानेजमेन्टमा बिद्याबारिधी गरिरहेका छन्।

रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। खरेल ५६ हजार ५५० मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याए। नेपाली काँग्रेसका चुन्नप्रसाद पौडेल ९ हजार ३५२ मत सहित तेश्रो भए। नेपाली कम्युनिस्ट पार्टीका विश्वदिप पाण्डेले १ हजार ४०९ मत पाए।

रास्वपाका खरेलले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेललाई ४३ हजार ६८९ को मतान्तरले पराजित गरेका हुन्। २०६४ यताका चार वटा निर्वाचनमा पौडेल यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर यसपालि भने उनी भारी मतान्तरले रास्वपाका खरेलसँग पराजित भए। यो क्षेत्रमा कुल ८६,३०३ मत खसेको थियो। त्यसमा २ हजार २९० मत बदर भएको थियो।

खरेलले जितेपछि आफ्नो काँधमा गहन जिम्मेवारी थपिएको प्रतिक्रिया दिएका छन्। आफूलाई कुनैपनि कुरामा गलत गर्ने छुट नभएको भन्दै उनले सार्वजनिक सेवाको पदमा बसेर देश र जनताप्रति उत्तरदायी ढंगले काम गर्ने बताए।

२०५४ सालमा बुटवल सेमलारमा जन्मिएका खरेलले कानुनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन्। प्लस टु सम्मको अध्ययन रुपन्देहीमै गरेर नेपाल ल क्याम्पसबाट पाँच बर्षे बिए–एलएलबी पूरा गरेका हुन्। त्यसपछि केही समय वकालत गरे।

तत्कालिन समयमा केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनको मुद्दामा खरेलले सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्चमा बहस गरेपछि चर्चामा आएका थिए। स्नातक अध्ययनकै क्रममा उनी केही समय एमाले निकट अनेरास्ववियुमा आबद्ध भएको बताइएको छ।

त्यसपछि उनी स्नातकोत्तर अध्ययनका लागि अमेरिका गएका थिए। अमेरिकाको मिचिगन विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा एलएलएम गरे। गत वर्ष नेपाल फर्केपछि उनी रास्वपासँग जोडिएर राजनीतिमा लागेका हुन्।

रुपन्देही ३ बाट रास्वपाका डा. लेखजंग थापा विजयी भएका छन्। थापा ५८ हजार ८१४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। नेपाली काँग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत पाए। तेश्रोमा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरे। राप्रपाका गौरव बोहोराले ७ हजार ७८९ मत ल्याए।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै थापाले जनताको परिवर्तनको चाहाना पूरा गर्ने बताएका छन्। आफ्नो क्षेत्रमा कहाँ के सुधार गर्नुपर्छ भन्ने योजना बनाइसेको र सोही अनुरूप गर्ने बताए।

भैरहवामै जन्मिएका ४८ वर्षका थापा न्यूरोलोजिष्ट डाक्टर हुन्। राजनीतिमा आउनु अघि उनी काठमाडौंको महाराजगञ्ज स्थित नेशनल न्युरो सेन्टरमा न्यूरोलोजी विभाग प्रमुखको रूपमा कार्यरत थिए। भैरहवामा पनि उनले सातामा दुई दिन आफ्नै क्लिनिक मार्फत बिरामीको सेवा गर्दै आएका थिए। थापाले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट एमडी गरेका हुन्। उनले साउथ एसियन युनिभर्सिटीबाट अटिजम सम्बन्धी पिएचडी उपाधि हासिल गरेको र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फरमेटिभ मा स्नातक गरेका छन्। उनले २०८० मा रास्वपाको सदस्यता लिएका थिए।

क्षेत्र नं. ४ मा रास्वपाका कन्हैया बानियाँ २८ हजार ६६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमोद कुमार यादवले २० हजार २६२ ल्याए। नेपाली काँग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए। जनता समाजवादी पार्टीका सवेन्द्रनाथ शुक्लाले ३ हजार ४१० पाए।

मर्चवारीमाइको रायपुरमा जन्मिएका ३६ वर्षीय बानियाँ २०७९ सालमा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्यमा ४ (१) बाट निर्वाचित भएका थिए। यसपालि उनी मनोनयन दर्ताकै दिन प्रदेशसभाबाट राजीनामा दिएर रास्वपा प्रवेश गरी टिकट ल्याएका थिए।

क्षेत्र नं. ५ मा रास्वपाका तौफिक अहमद खान विजयी भएका छन्। खान ३८ हजार ८०६ मत सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत पाए। नेपाली काँग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत पाए।

तौफिक भैरहवा स्थित बेलहियाका बासिन्दा हुन्। भारत स्थित एक विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका खान यसअघि आफ्ना पिताको निर्माण व्यवसायमा सहयोग गर्दै आएका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले बुद्ध जन्मस्थल लुम्बिनीबाट आफू निर्वाचित भएको भन्दै स्थानीयसँग जोडेर लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने र जीवनस्तर सुधार गर्ने प्रतिक्रिया दिए।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App