प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न मतदानबाट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरले विजय प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित विजयी भएका हुन्।
रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी बनेपछि उनीहरू पनि चकित बनेका छन् भने उनीसँग पराजित एमाले, कांग्रेस र जसपाका उम्मेदवारहरू पनि हारपछि परिणाम हेरेर चकित बनेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा बाराको निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका अच्युत मेनाली, २ बाट जसपाका उपराष्ट्रपति रामसहायक यादव, ३ बाट एमालेकी ज्वाला कुमारी साह र ४ बाट नेकपा समाजवादीका किसान श्रेष्ठ विजयी बनेका थिए।
संगठनात्मक रूपमा बलियो देखिएका एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका तल्लो तहका कार्यकर्ताहरूमा आफ्ना उम्मेदवारप्रति उत्साह नदेखिनु र मधेशको छोरा बालनलाई प्रधानमन्त्री बनाउने नाममा चलेको रहरका कारण रास्वपाका उम्मेदवारहरूको चर्चा नै नगरी मतदाताहरू एकतर्फी रूपमा घण्टी छापमा मत दिँदा यो नतिजा आएको हो।
मतदान हुनुभन्दा एक हप्ता अघिसम्म बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाका विजयी उम्मेदवार चन्दन सिंहसँग विजय हुने आधारहरू सोध्दा उनले संगठन नै नरहेकोले आफू विजयी हुने सम्भावना कम रहेको बताएका थिए। उनले आफू विजयी हुने अवस्थामा नरहे पनि प्रतिस्पर्धामा रहने दाबी गरेका थिए।
केही मतदान केन्द्रमा रास्वपाका पोलिङ एजेन्टहरू नभएका स्थानहरूको मतपेटिका खोल्दा त्यसबाट खसेको मतको ६० प्रतिशतभन्दा बढी रास्वपाको मत देख्दा रास्वपा पार्टीका उम्मेदवारहरू समेत चकित बनेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। बुढाथोकीले १४ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अच्युत मेनालीले ११ हजार ६ सय ४५ मत ल्याएका छन्।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७ मत र एमालेका बलवीर प्रसाद चौधरीले ७ हजार २१३ मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६ सय ९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यसैगरी जसपा नेपालका रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४, एमालेकी ज्वाला कुमारी साहले ५ हजार २ सय ७१, जनमत पार्टीका प्रमोद गुप्ताले ३ हजार ८ सय १९ तथा नेपाल कम्युनिस्ट पार्टीका भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले एमालेका किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १ सय २३ मत प्राप्त गरेका छन्।
रास्वपाबाट विजयी बनेका चारै जनामध्ये तीन जना अन्य पार्टी छोडेर रातारात रास्वपामा प्रवेश गरेर टिकट लिएका थिए। निर्वाचन क्षेत्र नम्बर २ का चन्दन सिंह, ३ का अरविन्द साह र ४ का रहवर अन्सारी दल बदल गरेर रास्वपाबाट टिकट पाएर विजयी बन्न सफल भएका हुन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १९:३२ आइतबार





