राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि पाँच वर्ष सरकार चलाउन आफ्नो पार्टीलाई बहुमत दिन मतदातासमक्ष आग्रह गरेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित रास्वपाको चुनावी वाचापत्र सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन्। उनले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सामान्य नभएको पनि बताए।
‘हामीले वाचापत्रमा १०० वटा नीतिगत आधार प्रस्तुत गरेका छौं’, लामिछानेले भने, ‘हामीले गरेका वाचा पूरा गर्न सकेनौं भने हामी सजाय भोग्न तयार छौं। यो नागरिकसँग गरिएको एउटा पवित्र करार हो, यो पूरा गर्न हामीलाई स्पष्ट जनादेश दिन आग्रह गर्छु।’
मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि बहुमतको सरकार चाहिने उनले बताए। ‘हामीलाई ५ वर्षको म्यान्डेट दिनुहोस्, एउटा देश, एउटा झण्डा, एउटा चुनाव चिह्न र एउटा स्पष्ट भिजन भएको सरकारले कसरी काम गर्छ भन्ने हामी देखाउँछौं’, उनले भने।
रास्वपामा सबैभन्दा धेरै युवा, महिला, डाक्टर, इन्जिनियर र विज्ञहरू रहेको दाबी गर्दै उनले अब देश चलाउने जिम्मा नयाँ पुस्ताको काँधमा आएको सुनाए।
पछिल्लो समय ‘डोजर’लाई लिएर भइरहेको चर्चा र त्रासप्रति लक्षित गर्दै लामिछानेले रास्वपाको सरकार आए भ्रष्टाचारीहरू मात्र डराउनुपर्ने स्पष्ट पारे। ‘हाम्रो सरकार आए उठीबास लगाउँछ भनेर भ्रम छरिएको छ’, उनले भने, ‘डोजर चल्यो भने सबैभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन, हामी सुकुम्बासी र भूमिहीनलाई विस्थापित होइन, व्यवस्थित गर्छौं।’
आफ्नो पत्रकारिताको सुरूवाती दिनहरूमा कालीकोटमा अस्पताल निर्माण गरेको स्मरण गर्दै लामिछानेले कर्णालीलाई अब राज्यले पछाडि पार्न नपाउने दाबी गरे। ‘कर्णालीलाई सधैं पछाडि पारियो तर अब रास्वपाले कर्णालीका सपनालाई आफ्नो काँधमा बोकेर हिँड्नेछ,’ उनले भने, ‘त्यही भएर हामीले कर्णालीको यो पवित्र भूमिबाट चुनावी मार्गचित्र सार्वजनिक गरेका हौं।’
लामिछानेले लोकतन्त्रलाई खतरा हुने व्यक्ति हेलिकोप्टर चढेर भागिसकेकाले फेरि बालुवाटार र सिंहदरबार आउन नहुने बताए। ‘लोकतन्त्रलाई जसबाट खतरा थियो, त्यो हेलिकोप्टर चढेर भागेको छ। लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकोप्टर सिंहदरबार र बालुवाटारमा फर्किन्छ,’ उनले भने, ‘भागेको त्यो हेलिकोप्टर जहाँ ल्यान्ड हुन्छ होस्, हामीलाई भन्नु केही छैन् तर जनताको भाग्य र भविष्य फेर्ने सिंहदरबारमा ल्यान्ड नहोस्, यति भए पुग्छ।’
उनले फरिवर्तनको झिल्कोलाई कसैले पनि चुनौती दिन नहुने बताए। उनले अहिले चुनाव सार्नुपर्छ, चुनावले निकास दिँदैन भन्ने सुनिएको बताउँदै चुनावले निकास नदिने भए केले निकास दिन्छ त भन्ने प्रश्न गरे। ‘लोकतन्त्रका तागत जनता हुन्, जनताले भोटबाट आफ्नो तागत देखाउने उत्सव हो निर्वाचन’, उनले भने, ‘यो निर्वाचनले निकास दिन्न भने केले दिन्छ?’
उनले आफू भोट (मत)बाट नभए रोडबाट पनि भिड्न तयार रहेको बताए। ‘रोडबाट भए रोडबाट, भोट (मत)बाट भए भोटबाट आउनुहोस् तर हामी भोटबाट व्यवस्था फेर्न चाहन्छौं, रगतको थोपा चुहाउन चाहँदैनौं’, उनले भने, ‘कर्णालीका धेरै आमाहरूको काख रित्तिएको छ, धेरै दिदीबहिनीहरूको सिउँदो पुछिएको छ, बालबालिकाहरू टुहुरा भएका छन्। त्यसैले हामी भोटबाट परिवर्तन चाहन्छौं।’
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शे–फोक्सुण्डोको गहिराइ बुझ्न आफूहरू कर्णाली आएको बताए। उनले स्वर्गकी अप्सरा रारा ताल, देशकै लामो नदी कर्णाली, देशको सबैभन्दा ठुलो जिल्ला डोल्पा र गाउँपालिका भएको ठाउँमा आउन पाउँदा खुसी लागेको बताए। ‘देशकै गहिरो ताल कर्णालीमै छ, जुन गहिराइलाई कहिलेसम्म कसैले बुझ्न सकेन’, उनले भने, ‘त्यो गहिराइलाई हामी बुझ्न चाहन्छौं, त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो।’
उनले कर्णालीको सुन मानिने यार्सा विश्वभर पुगेको तर स्याउ र मार्सी धान चितवन र झापासम्म नपुगेको बताए। ‘हामी कर्णालीको मार्सी र स्याउलाई देशभर पुर्याउन चाहन्छौं’, उनले भने, ‘हामी त्यो काम गर्न आएका हौं।’
शाहले आफूहरू सिंजा सभ्यता जोगाउने अभियानमा लाग्ने पनि बताए। ‘नेपाली भाषाको उद्गमस्थल, आफ्नै भाषा, लिपि, चित्रकला, नाचगान यहाँ छ’, उनले भने, ‘जसरी काठमाडौं महानगरपालिकामा नेवाः सभ्यताको नाचगान, लिपि, बाजागाजा, मूर्त, अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं त्यसरी नै कर्णालीको सभ्यतालाई पनि हामी जोगाएर राख्न चाहन्छौं।’
उनले रास्वपा कर्णालीको गरिबीलाई बुझ्ने र हटाउन चाहने पार्टी भएको दाबी गरे।
आर्थिक लक्ष्य
–प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने
– अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने
– ७% आर्थिक वृद्धिदर कायम गर्ने
– सहकारी र लघुवित्त क्षेत्रमा कडा नियमन
– साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता
– ५० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी/लघुवित्तलाई राष्ट्र बैंकको नियमन
– १० वर्षमा ३० अर्ब डलरकाे आईटी निर्यात
– सूचना प्रविधिमा ५ लाख रोजगारी सिर्जना
– १० वर्षमा ३० हजार मेगावट विद्युत्
– ऊर्जा क्षेत्रमा एकल द्वार प्रणाली
– उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय सुरक्षा अडिट
प्रकाशित: ८ फाल्गुन २०८२ ०८:३३ शुक्रबार





