सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२, पर्सास्थित भित्री सडकखण्डमा बुधबार दिउँसो स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।
प्रहरीका अनुसार मंगलबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घर पुर्याएर विद्यालयतर्फ फर्कने क्रममा को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेसन एकेडेमीको बस दुर्घटनामा परेको हो।
बसबाट बालिकालाई झार्ने क्रममा अचानक बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेमा बसका सहचालक सिरहाकै लहान नगरपालिका–२२ बस्ने २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया छात्रा समिक्षा कुमारी साह रहेका छन्।
प्रहरीका अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिका-८, काचन स्थायी घर भएकी समिक्षा हाल आफ्नो मावली घरमा बस्दै आएकी थिइन्।
दुर्घटनालगत्तै बसका चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ। दुर्घटनामा संलग्न उक्त बसलाई हाल इलाका प्रहरी कार्यालय महेशपुरपतारले आफ्नो नियन्त्रणमा लिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ असार २०८३ २१:२५ मंगलबार





