आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर-३ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। चर्चित उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका कारण यहाँ मुख्यगरी त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यस क्षेत्रबाट नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा एमालेले सुमन मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दीपक जिएम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट तारकसिंह थारू पनि चुनावी मैदानमा छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बाँके-३ मा विभिन्न दल र स्वतन्त्र गरी कुल २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बाँके-३ लाई नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो ‘किल्ला’ दाबी गर्दै आएका छन्। संसदीय निर्वाचनको इतिहास हेर्दा २०४८ सालयता कांग्रेसले तीन पटक, एमालेले दुई पटक तथा राप्रपा र माओवादीले एक-एक पटक चुनाव जितेको तथ्याङ्क छ।
२०४८ सालमा कांग्रेसका कृष्णसिंह परियार, २०५१ मा राप्रपाका फत्तेसिंह थारू र २०५६ मा कांग्रेसका कैलाशनाथ कसौधन (गुप्ता) ले यस क्षेत्रबाट चुनाव जितेका थिए।
त्यसैगरी, २०६४ को पहिलो संविधानसभामा माओवादीकी पूर्णाकुमारी सुवेदी, २०७० मा एमालेका दलबहादुर सुनार र २०७४ मा एमालेकै नन्दलाल रोकाय निर्वाचित भएका थिए।
पछिल्लो पटक २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौरले एमालेका किस्मतकुमार कक्षपतिलाई पराजित गर्दै यो क्षेत्रमा कांग्रेसको विरासत फर्काएका थिए।
तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राठौरले २९ हजार ९७ मत ल्याउँदा एमाले–राप्रपा गठबन्धनका कक्षपतिले २४ हजार ३०५ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा रास्वपाका देवेन्द्रनाथ शुक्ला ७ हजार ४६७ मतसहित तेस्रो स्थानमा रहेका थिए।
त्यसअघि २०७४ सालमा वाम गठबन्धनका तर्फबाट एमालेका नन्दलाल रोकायले ३१ हजार ६०१ मत ल्याएर कांग्रेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए। कुर्मीले २६,६१७ मत ल्याएका थिए।
विगतका दुई निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका ठूला दलहरू यसपटक एक्लाएक्लै मैदानमा छन्। स्थानीय स्तरको राजनीतिक विश्लेषणअनुसार यसपटक कांग्रेस, एमाले र रास्वपाबीच मुख्य भिडन्त हुनेछ। यद्यपि, नेकपा र राप्रपाले पनि प्रतिस्पर्धालाई प्रभाव पार्ने अनुमान छ।
कांग्रेस आफ्नो जितलाई निरन्तरता दिने दाउमा छ भने एमाले पुरानो विरासत फर्काउने रणनीतिमा छ। उता, रास्वपा भने परम्परागत मत भत्काएर आफ्नो बलियो उपस्थिति स्थापित गर्ने योजनामा छ।
एक्लाएक्लै चुनाव लड्दा दलहरूलाई आ-आफ्नै चुनौती छन्। एमालेलाई आफ्नै आधारभूत मत जोगाउनु पर्ने दबाब छ भने कांग्रेसलाई पार्टीभित्रको आन्तरिक असन्तुष्टि व्यवस्थापन गरी कार्यकर्तालाई एकढिक्का राख्न चुनौती छ। अर्कोतर्फ, बलियो सांगठनिक संरचना नभएको रास्वपालाई अन्य दलका असन्तुष्ट र स्वतन्त्र मत तान्न कठिनाइ हुने देखिन्छ।
निर्वाचन कार्यालय बाँकेका अनुसार यसपटक बाँके–३ मा मतदाताको संख्या बढेको छ। यहाँ पुरुष ५८ हजार ६६४ र महिला ५८ हजार ६८९ गरी कुल १ लाख १७ हजार मतदाता रहेका छन्।
यस क्षेत्रमा बैजनाथ र खजुरा गाउँपालिकाका आठ/आठ, जानकी गाउँपालिकाका ६ र नेपालगन्ज उपमहानगरपालिकाका दुई गरी कुल २४ वटा वडा समेटिएका छन्। मतदानका लागि ४८ वटा मतदान स्थलमा १३५ वटा मतदान केन्द्र तोकिएका छन्।
यो क्षेत्र जातीय र सामाजिक रूपले मिश्रित छ। यहाँ दलित, थारू, मगर र मधेसी/मुस्लिम समुदायको बाक्लो बसोबास छ। यी बस्ती चुनावको हारजितमा निर्णायक मानिन्छन्। यसका साथै, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या पनि उल्लेख्य छ। कुल मतदाता संख्याको करिब २० देखि २५ प्रतिशत हिस्सा ओगट्ने यस्ता मतदाताहरूले जसलाई समर्थन गर्छन्, उसैको पल्ला भारी हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
प्रकाशित: १७ फाल्गुन २०८२ २०:४५ आइतबार





