२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मतदान केन्द्रहरू पूर्ण समावेशी र अपांगमैत्री थिएनन्

प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको पर्यवेक्षण गरेको आधिकारिक निकायले मतदान केन्द्र निष्पक्ष भए पनि पूर्ण समावेशी र अपांगमैत्री नभएको जनाएको छ। आइतबार राजधानीमा पर्यवेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै पर्यवेक्षणको नेतृत्व गरेको संस्था महिला तथा कानुन मञ्चले यस्तो जनाएको हो।

समग्रमा भने मतदान शान्तिपूर्ण र निष्पक्ष भएको पर्यवेक्षणको नेतृत्व गरेको संस्था महिला तथा कानुन मञ्चका निर्देशक सुविन श्रेष्ठले बताए। ‘हालसम्म प्राप्त नतिजाअनुसार निर्वाचन निष्पक्ष भएको पर्यवेक्षणबाट प्राप्त भएको छ’ उनले भने।

मञ्चले अन्य १४ वटा गैरसरकारी संस्थालाई समावेश गरी सातवटै प्रदेशबाट २५ सय ६० जना पर्यवेक्षकलाई मतदान केन्द्रमा मतदान सुरु हुनुअघि र मतदान सकिएपछि मतगणना केन्द्रमा खटिएका थिए।

प्रतिवेदनअनुसार ९६ प्रतिशत मतदान केन्द्रमा सात बजेदेखि ७.१५ भित्र मतदान सुरु भएको, ९१ प्रतिशत केन्द्रमा अपांगता भएका व्यक्तिका लागि सहजीकरण गर्ने व्यवस्था भएको, ३१.४ प्रतिशत केन्द्रमा बालबालिकाको उपस्थिति भएको, ३७.२ प्रतिशत केन्द्रमा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था रहेको ४२.९ स्थानमा स्वास्थ्य स्वयंसेवकको व्यवस्था भएको,१४.७ प्रतिशत स्थानमा एम्बुलेन्सको व्यवस्था थियो।

त्यसैगरी ६८.६ प्रतिशत स्थानमा पानी, ८८ प्रतिशत स्थानमा सौचालयको व्यवस्था, डर तथा धम्कीविना मतदान गर्ने ८७.८ प्रतिशत, १२.७ प्रतिशत मतदान स्थल अपांगताका लागि सहज नभएको प्रतिवेदनले औंल्याएको छ तर मतदान केन्द्रहरू स्वास्थ्य केन्द्र, मन्दिरजस्ता साँघुरा स्थलहरूमा हुँदा अपांगता भएकाहरूका लागि अप्ठेरो बनेको, लैगिक अल्पसंख्यकहरूका लागि छुट्टै सूची नभएको, बहिराका लागि दोभासे नभएको र असक्तका लागि कपितय केन्द्रमा छुट्टै लाइन नभएकाले केन्द्रहरू पूर्णरूपमा अपाङ्गतामैत्री नभएको प्रारम्भिक प्रतिवेदनमा प्राप्त भएको हो।

प्रारम्भिक नतिजा सार्वजनिक गर्दै पर्यवेक्षकहरूले कतिपय स्थानमा महिला म्यादी प्रहरीका लागि असज बनेको, कतिपय मतदान केन्द्रमा महिला प्रहरीका लागि खाजाको व्यवस्था नभएको, महिला प्रहरी बस्ने कक्ष महिलामैत्री नभएको, मतदाताको लागि सौचालय, औषधी, पिउने पानी, स्तनपान कक्ष, सेनिटरी प्याड नभएको बताए।

पर्यवेक्षकहरूका अनुसार त्यसैगरी कतिपय मतदान केन्द्रहरूमा महिला कर्मचारी न्यून रहेको, अपांगतामैत्री मतदान केन्द्र नभएको, मन्दिर तथा स्वास्थ्य केन्द्रमा रहेका मतदान केन्द्रहरूको निस्कने मार्ग भिरालो भएकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि अप्ठेरो पर्ने, ब्रेल लिपि तथा दोभासे कमीका कारण दृष्टिविहीन र बहिरा मतदाताका लागि असहज बनेको लगायत कमजोरी थिए।

प्रकाशित: २५ फाल्गुन २०८२ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App