३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

यसरी भत्कियो पुराना दलको किल्ला

रुपन्देहीका पाँचै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्। एमाले, कांग्रेस, राप्रपा र जसपाले आफ्नो परम्परागत प्रभाव रहेको मानेका क्षेत्रमा रास्वपाले अप्रत्याशित जित निकाल्दै जिल्लाको राजनीतिक समीकरण नै बदलिदिएको छ।

रुपन्देही क्षेत्र नम्बर १, २, ३, ४ र ५ मा मतगणना सकिएपछि विजयी घोषणा भइसकेको छ।

रुपन्देही–१ मा रास्वपाका महामन्त्री सुनिल लम्साल ५४ हजार ८४५ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्जवल बोहराले ८ हजार ३०१, नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ र नेकपाका घनश्याम यादवले २ हजार १९८ मत पाए।

यसअघि यस क्षेत्रमा एमालेका सचिव छविलाल विश्वकर्मा लगातार दुई पटक विजयी भएका थिए। यस पटक एमालेले विश्वकर्माको सट्टा केन्द्रीय सदस्य न्यौपानेलाई उम्मेदवार बनाएको थियो।

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भए। उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे। पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन्।

यसै क्षेत्रमा नेपाली कांग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन्। पौडेल २०६४ यता लगातार यस क्षेत्रमा विजयी हुँदै आएका थिए।

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गरे। गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् भने एमालेका वासुदेव घिमिरेले ८ हजार २७८ मत पाए।

स्थानीय राजनीतिमा सक्रिय र कांग्रेस संगठनमा अनुभवी मानिएका गुरुङलाई थापाले ठूलो मतान्तरमा पछि पारेका हुन्। यसअघि २०७९ को निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो भने त्यसअघि एमाले र कांग्रेसले पालैपालो जित्दै आएका थिए।

रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ विजयी भएका छन्। उनले २८ हजार ६६ मत प्राप्त गर्दै नेकपा एमालेका प्रमोदकुमार यादव (२० हजार २६२ मत) लाई पराजित गरे। नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत पाए।

यस क्षेत्रमा लामो समयदेखि जित्दै आएका जसपाका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला भने ३ हजार ४१० मतमा सीमित भए।

रोचक पक्ष के भने, बनियाँ २०७९ मा शुक्लालाई जिताउन उनकै पार्टीमा सक्रिय थिए र प्रदेशसभा सदस्यसमेत बनेका थिए। प्रदेशसभा पद छाडेर प्रतिनिधिसभा लडेका उनले आफ्नै गुरुलाई चौथो स्थानमा सीमित गर्दै जित हासिल गरेका हुन्।

रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले नेकपा एमालेका खिमलाल भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे। भट्टराईले १३ हजार १०० मत पाए।

नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेकपाका वकिल मुसलमानले ६ हजार १७६ मत पाए।

यसरी रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाले क्लीन स्वीप गर्दै एमाले, कांग्रेस, राप्रपा र जसपाका पुराना किल्ला भत्काएको छ। जिल्लाको राजनीतिक शक्ति सन्तुलनमा यो परिणामलाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App