२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ-४ : ह्याट्रिक गर्ने मोदीको तयारी, विरासत फर्काउने घिमिरेको दाबी

मोरङ क्षेत्र नं ४ लाई कुनै बेला नेपाली कांग्रेसको किल्लाको रूपमा लिइने गरिन्थ्यो। तर, पछिल्ला दुई निर्वाचनमा कांग्रेसको किल्लाका रूपमा रहेको मोरङ–४ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले जित निकाल्दै आएको छ।

कांग्रेसले गुमाएको विरसतलाई फर्काउन यो पटकको निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे अघि सरेका छन्। घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनका मोरङ–४ मा एमाले–माओवादी गठबन्धनका उम्मेदवार अमनलाल मोदी निर्वाचित भएका थिए। पछिल्लो २०७९ को निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनबाट मोदी नै निर्वाचित भएका थिए। मोरङ क्षेत्र नं ४ (ख) बाट प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका गुरुराज घिमिरे भने नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरीसँग पराजित भएका थिए।

गुरुराज घिमिरे नेपाली कांग्रेसको विशेष महाअधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि यस क्षेत्रका जनताले उनीमाथि केही भरोसा र केही आशा गर्न थालेका छन्। जसका कारण आगामि निर्वाचनमा घिमिरेलाई यस क्षेत्रका जनताले मतदान गर्ने कांग्रेसका नेताहरूको विश्लेषण छ। महामन्त्री घिमिरे पनि यस पटक कांग्रेसको विरासत फर्काउने दाबी गर्दछन्। घिमिरेले भने, ‘विभिन्न गठबन्धनमा अलमलिएका कारण यस अघिका निर्वाचनमा कांग्रेसले गुमाउँदै आएको यो क्षेत्रमा यस पटक कांग्रेसको विरासत फर्किन्छ।’

यता नेकपा एमालेले यस क्षेत्रमा कोशी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ। घिमिरेले यस अघि २०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नं ४ को (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। तर, २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए। एमालेको पुरानो मत जोगाउन सकेको अवस्थामा यस क्षेत्रमा निर्वाचन जित्ने आंकलनसहित आफ्नो मत जोगाउने योजनामा घिमिरेले निर्वाचनमा जित्ने रणनीति बनाएर मैदानमा उत्रिएका छन्। अर्को तर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अमनलाल मोदी भने यो पटक पनि निर्वाचन जितेर ह्याट्रिक गर्ने दाउमा छन्। तर, उनलाई यो पटक कांग्रेस र एमालेका उम्मेदवार जत्तिको पनि जित निकाल्न सहज भने देखिँदैन।

यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको आधार मत निक्कै कमजोर रहेको छ। तर, उम्मेदवार मोदीको व्यक्तिगत क्रेज भने जित निकाल्न प्रयाप्त रहेको नेताहरूको दाबी छ। तल्लो तहका जनतासम्म पुग्न सक्ने व्यक्ति भएका कारण नेपाली कम्युनिष्ट पार्टीलाई समानुपातिकमा न्यून मत आए पनि प्रत्यक्षतर्फ राम्रो मत आउने नेपाली कम्युनिष्ट पार्टीका नेताहरूको विश्वास छ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस पटक मोरङको क्षेत्र नं ४ मा जित निकाल्न कसरत गरिरहेको छ। यस पटकको निर्वाचनमा रास्पवाको माहौल बनेका कारण जित निकाल्न सहज हुने रास्वपाका नेताहरूको विश्लेषण छ। यस क्षेत्रमा रास्वपाबाट सन्तोष राजवंशीले उम्मेदवारी दिएका छन्। जनजातिको मत निर्णायक रहेको यस क्षेत्रमा रास्वपाका उम्मेदवार राजवंशीले नै निर्वाचन जित्ने दाबी रास्वपाका नेताहरूले गर्दै आएका छन्।

२०७९ सालको निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने मोरङ ४ मा नेपाली कांग्रेस सबैभन्दा अग्र स्थानमा छ। कांग्रेसले १९ हजार ५५५ मत पाएको थियो। एमालेले प्रत्यक्ष तर्फ निर्वाचन हारे पनि समानुपातिकमा भने १८ हजार ३८६ मत ल्याएको थियो। प्रत्यक्षमा माओवादीले गठबन्धनबाट जिते पनि समानुपातिक मत ९ हजार ७६० मात्रै  प्राप्त गरेको थियो। यस क्षेत्रमा राप्रपाले पनि समानुपातिकतर्फ ७ हजार ८४६ मत प्राप्त गरेको थियो। रास्वपाले ७ हजार २७० मत प्राप्त गरेको थियो।

उज्यालो नेपाल पार्टीका उम्मेदवार विनोद परियारको उम्मेदवारी रद्द भएसँगै क्षेत्र नम्बर ४ मा १९ जना उमेदवार रहेका छन्। मोरङको ४ नम्बर क्षेत्रमा विराटनगर महानगरपालिकाको १, २ ३, ८ र १० नम्बर वडा समेटिएका छन्। त्यस बाहेक ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको ५, ६ र ७ नम्बर वडा पनि छन्। एक लाख १९ हजार २५५ जना मतदाता छन्।

माओवादीका मोदी २०७९ मा विजेता बन्दा कांग्रेस, एकीकृत समाजवादीको साथ थियो। उनले ३० हजार ६१२ मत प्राप्त गरेका थिए। एमालेबाट उमेदवार भएका विनोद ढकालले २४ हजार ४६३ मत पाएका थिए। राप्रपाले ७ हजार ४ सय ६८ मत पाएको थियो। रास्वपाका नेत्र शिवाकोटीले ५ हजार ३३३ मत पाएका थिए।

यस पटक राप्रपाबाट माधव आचार्य उम्मेदवार रहेका छन्। यस बाहेक पनि यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका तवरेज अख्तर आलम, जनमत पार्टीका जीवनकुमार गुप्ता, नेपाल मजदुर किसान पार्टीका जयराम थारु, मंगोल नेशनल अर्गनाईजेशनका गोल्छा राई,संघीय लोकतान्त्रिक मञ्चका हरनु मुसर रहेका छन्।

यस्तै श्रम संस्कृति पार्टी कृष्णकुमार अटल, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का हरीबहादुर बस्नेत, नागरिक उन्मुक्ति पार्टी नेपालका  हरी नारायण चौधरी, राष्ट्रिय निर्माण दलकी कल्पना देवी यादव,समावेशी समाजवादी पार्टीकी नुमा लिम्बु, आम जनता पार्टीका अशोक शर्मा छन्। यसैगरी स्वतन्त्रमा भक्तमणी दाहाल, विनोदकुमार कार्की र ज्ञानेन्द्र खत्री उम्मेदवार रहेका छन्।

प्रकाशित: २६ माघ २०८२ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App