२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मतदानअघि ललितपुर-३ का मतदाताको चिन्ता: देशको ऋण र स्थानीय विकास मुख्य मुद्दा

प्रतिनिधिसभा निर्वाचनको माहौल नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर ३ मा मतदाताहरूले आफ्नो भोट देशको भविष्य र स्थानीय विकासको प्राथमिकता दिएका छन्। केहीले देशको बढ्दो ऋण र नेताहरूको जबाफदेहितामा प्रश्न उठाएका छन् भने, कतिपयले खानेपानी, सडक र व्यापारिक समस्याको समाधानलाई प्राथमिकता दिएका छन्।

ललितपुर–३ स्थित तालछिखेलका स्थानीय ५४ वर्षीय व्यवसायी नवराज देवकोटाका अनुसार उम्मेदवारहरूले राखेका एजेण्डाहरू पुरा गर्न नसकेको अवस्थामा कानुनी कारबाही गर्नुपर्छ। प्रत्येक उम्मेदवारको भाषण धेरै काम शून्य भएकोमा उनले आक्रोश व्यक्त गरे।

‘म कुनै पनि पार्टीमा आबद्ध छैन, तर भोट हाल्नु मेरो अधिकार हो,’ नागरिकसँग देवकोटाले भने, ‘नेताहरूले तीन महिनाभित्र आफ्नो योजना कार्यान्वयन गर्न सकेनन् भने उनीहरूको पदमा बस्ने अधिकार खोसिनु पर्छ।’ उनले विशेष रूपमा देशको बढ्दो ऋण, नेतृत्वको जिम्मेवारी र रोजगारी तथा उत्पादनबारे चिन्ता व्यक्त गरेका छन्।

उनी भन्छन्, ‘मेरो मुख्य चिन्ता देशको ऋणको बारेमा हो । देश ठुलो ऋणको खाडलमा डुबेको छ, तर नेताहरूले आम्दानीका स्रोत बढाउने कुरै गर्दैनन्। उनीहरूले ऋण लिएर बजेट बनाउँछन् र विकासका फोस्रा कुरा मात्र गर्छन्। घोषणापत्रमा मात्र लेखेर हुँदैन, लिखित प्रतिबद्धता चाहिन्छ।’

उनका अनुसार दशकौँ देखि एउटै घोषणापत्र बोकेर हिँडेका नेताहरूले आफ्नो लागि बङला बनाए, देश बनाएनन्। त्यस्ता नेताहरूको सम्पत्ति शुद्धीकरण गरेर कारबाही गर्नु पर्ने उनको माग छ। ‘प्रतिबद्धता पूरा नगर्ने नेताहरूको सम्पत्ति राज्यले जफत गर्नुपर्छ। उनीहरूलाई स्थानीयले पाए जस्तै दुखको मूल्य चुकाउन लगाउनुपर्छ,’ देशलाई ऋणको खाडलमा हालेका नेताहरूप्रति आजित भएको देवकोटाले भने।

देशका केही लोकप्रिय अभियन्ता तथा नेताहरू केवल विज्ञापन र हल्ला मात्र गर्ने गरेको उनको आलोचना छ। ‘दुर्गा प्रसाईँ, रवि लामिछाने र केपी ओलीले फटाहा र फोटोकपी राजनीति मात्रै गरेका छन्,’ वास्तविक समस्या समाधानमा कमी औँल्याउदै उनले भने।

युवा पलायन, स्वदेशी उत्पादन अभाव र रोजगारीको सङ्कटलाई मुख्य चुनौतीको रूपमा रहेको देवकोटाले नागरिकलाई बताए। उनले भने, ‘सरकारले युवाहरूलाई विदेश नजाने वातावरण बनाइ स्वदेशमै तालिम र रोजगारीको अवसर दिनुपर्छ। आधारभूत वस्तु समेत स्वदेशमा उत्पादन हुनुपर्छ, जसले आत्मनिर्भरतामा जोड दिन्छ।’ उनले आफू कुनै दलमा आबद्ध नभएको र मतदानलाई आफ्नो अधिकारको रूपमा प्रयोग गर्ने बताए। ‘फोक्सो भोट’ जस्ता विकृतिमा असन्तुष्टि व्यक्त गर्दै सचेत मतदानको आवश्यकता रहेको उनी बताउँछन्।

यस्तै, ललितपुरस्थित तालछिखेलका अर्का मतदाता ५२ वार्षिय कृष्णप्रसाद ढकालले मतदाताहरू मुख्य रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), का तोसिमा कार्की र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनको चर्चा बढी देखेको बताएका छन्।

उनले भने, ‘अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का राजेश महर्जन पनि बलिया उम्मेदवार हुन् र लोकप्रिय पनि छन्। स्थानीय विकास र जनताका समस्या समाधान नै मुख्य प्राथमिकता हो। देशमा रोजगारी र उत्पादन बढाउनुपर्नेछ।’

उनले आफ्नो राजनीतिक झुकाव पनि प्रस्ट पार्दै भने, ‘म पहिलेदेखि एमाले समर्थक भए पनि अहिले प्रचण्ड (नेकपा) तिर लागेको हुनाले नेकपाका उम्मेदवार राजेश महर्जनलाई नै भोट दिने सोचमा छु।’

निर्वाचनको दिन मतदाताहरूले उम्मेदवारहरूको प्रतिबद्धता, स्थानीय समस्या समाधान र राष्ट्रको आर्थिक स्थिरतामा उनीहरूको दृष्टिकोणलाई ध्यानमा राख्दै मतदान गर्ने तयारी गरेका छन्।

यस प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर –३ मा पुरुष ४९ हजार ४११ र महिला ५३ हजार ०२६ गरी कुल मतदाता १ लाख २ हजार ४३७ मतदाता छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट सात गरी कुल २३ उम्मेदवार छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल २ लाख ६९ हजार २५६ मतदाता रहेका छन्।

तीमध्ये काँग्रेसका जीतेन्द्रकुमार श्रेष्ठ, एमालेका सन्दन थापा मगर, रास्वपाका तोसिमा कार्की, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजकाजी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविनकुमार खड्का, उज्यालो नेपाल पार्टीका विजय पन्त, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खगेन्द्र महर्जनलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App