चुनाव दैलोमै आइपुगेको छ। घर–घरमा उम्मेदवारको भेटघाट, पर्चा–पोस्टर र सामाजिक सञ्जालमा चुनावी बहस चर्किँदै छन्। तर कपनका रमेश कार्कीका लागि चुनावभन्दा ठुलो चिन्ता बर्खाको छ। ‘चुनाव आएको खुसीभन्दा पनि बर्खा आउला भन्ने डर बढी छ,’ उनी भन्छन्, ‘खोला खोतल्नेहरू प्रधानमन्त्री बन्न हिँडिसके, हामी भने अझै खोलाको दुर्गन्धमै बाँचिरहेका छौँ।’
दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको चखुँचामार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर स्थानीयका अनुसार अवस्था उस्तै छ। वर्षा याममा भेल घरदैलोमा पुग्ने त्रास छ भने हिउँदमा दुर्गन्ध र फोहोरको समस्या छ।
‘दुई वर्षअघि डोजर चलेको खहरे अझै उस्तै छ। कसैले चासो देखाउँदैनन्,‘ मैया थापा भन्छिन्, ‘हाम्रो बाटो भत्केको छ, नेताहरू प्रधानमन्त्री बन्न देश डुलिरहेका छन्।’
कपन र बुढानीलकण्ठ क्षेत्रमा खहरे व्यवस्थापन, ढल निकास, सडक मर्मत र बाढी नियन्त्रण प्रमुख मुद्दा बनेका छन्। तर डिल्लीबजार, गौरीघाट र कालो पुलतिरको चिन्ता फरक छ। यहाँ पार्किङ अभाव, ट्राफिक जाम, फोहोर व्यवस्थापन र अव्यवस्थित शहरीकरणलगायतक समस्या छन्। तर यहाँका अधिकांश मतदाताको चिन्ता मुलुक नबनेकोमा देखियो। ‘एक पटक अन्य समस्या भन्दा पनि देश बनेको हेर्ने रहर छ डिल्लीबजारका वीरेन्द्र मानन्धर भन्छन्, ‘यो चुनावलाई हामीले देश बनाउने अवसरका रूपमा लिएका छौँ।’
‘गगनको क्षेत्र’मा नयाँ परीक्षा
२०६४ पछि निरन्तर नेपाली कांग्रेसको पकडमा रहँदै आएको काठमाडौं–४ पछिल्लो दशकमा ‘गगनको क्षेत्र’का रूपमा परिचित थियो। गगनले २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक जित निकाल्दै यहाँ बलियो प्रभाव स्थापित गरेका थिए। २०७९ को निर्वाचनमा उनले २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजन भट्टराई १३ हजार ८५५ मतमा सीमित भएका थिए।
तर यस पटक विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेपछि थापाले सर्लाही–४ रोजेका छन्। उनको अनुपस्थितिले काठमाडौं–४ मा नेतृत्वको रिक्तता मात्र होइन, राजनीतिक समीकरणको नयाँ अध्याय पनि सुरु गरेको छ।
कांग्रेसले युवा नेता सचिन तिमल्सीनालाई अघि सारेको छ। उनका लागि यो चुनाव दोहोरो परीक्षा हो। उनलाई गगनको ‘मान्छे’ ठानेर मत प्राप्त हुन पनि सक्छ। सङ्गठन, पुरानो मताधार र सद्भाव उनको पक्षमा सर्न सक्छ। तर मतदाताले उनलाई गगनसँग तुलना गर्ने सम्भावना पनि उत्तिकै छ। ‘सचिनको प्रचारमा गगनको तस्बिर देखिन्छ,' महेश विडारी भन्छन्, ‘तर चुनाव जित्न त्यति मात्रै पर्याप्त हुँदैन।’
यस्तोमा दुई पटक पराजित भएका एमालेका राजन भट्टराई यस पटक परिस्थिति अनुकूल ठानिरहेका छन्। परराष्ट्र मामिलामा जानकार र सङ्गठनात्मक रूपमा अनुभवी भट्टराई गगनको अनुपस्थितिलाई ‘हारको शृंखला तोड्ने’ अवसरका रूपमा हेर्छन्।
बुढानीलकण्ठ नगरपालिकामा एमालेको पकड र स्थानीय तहको पृष्ठभूमिले उनलाई आत्मविश्वास दिएको छ। तर संसदीय चुनावमा मतदाताको मनोविज्ञान फरक हुने गरेको विगतले देखाएको छ। ‘यहाँ पार्टीभन्दा पनि उम्मेदवार हेरेर भोट दिने चलन छ,’ मैया थापा सुनाउँछिन्, ‘त्यसैले मतदाता यो पार्टीको हो भनेर ठोकुवा गर्न मिल्दैन।’
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि अवसर देखेको छ। उसले पुकार बम लाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नउठाए पनि समानुपातिकतर्फ उल्लेख्य मत ल्याएको रास्वपाले यस पटक प्रत्यक्षमै प्रभाव पार्ने दाबी गरेको छ।
पारदर्शिता, जवाफदेहिता र ‘नयाँ राजनीति’ उनका मुख्य अजेन्डा हुन्। सहरी युवा र पहिलो पटक मतदान गर्ने मतदाता कत्तिको प्रभावित हुन्छन्, त्यो निर्णायक बन्न सक्छ। ‘पुरानाबाट आजित मतदाता आफूतिर आकर्षित हुने’ अनुमान रास्वपा उम्मेदवारको छ।
यी बाहेक यस क्षेत्रमा सुरेन्द्रराज भण्डारी (राप्रपा), इन्द्रकुमार भुसाल (नेकपा), उज्यालो पार्टीका दीपक अधिकारी र स्वतन्त्र उम्मेदवार डा. दीपेन्द्र काफ्लेसहित २८ उम्मेदवार मैदानमा छन्। जितको सम्भावना सीमित देखिए पनि उनीहरूले ठुला दलको मत विभाजनमा भूमिका खेल्न सक्छन्।
काठमाडौं–४ मा ७६ हजार १ सय ४१ मतदाता छन्। यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा १, ७, ८ र ३० तथा बुढानीलकण्ठ नगरपालिका का वडा १, २, ८, ९, १०, ११, १२ र १३ समेटिएका छन्। २०७९ को समानुपातिक मत परिणाम हेर्दा कांग्रेस ११ हजार ८ सय ८, एमाले १० हजार ५ सय ६० र रास्वपा ९ हजार ४ सय १२ मतमा थिए। यसले प्रत्यक्षमा गगनको व्यक्तिगत लोकप्रियता निर्णायक भएको सङ्केत गर्छ।
यस पटक भने व्यक्तिगत करिश्माभन्दा सङ्गठन, उम्मेदवारको छवि र स्थानीय मुद्दा निर्णायक हुन सक्छन्। नयाँ मतदाता संख्या बढेको छ। सामाजिक सञ्जाल, घरदैलो र प्रत्यक्ष संवादले मतदातामा केही न केही प्रभाव पर्ने देखिन्छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १६:४७ मंगलबार





