१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

कैलाली-१ः समुदाय भन्दामाथि ‘किस्मत’ बदल्दै टिकापुर

कैलाली–१ मा पर्ने टिकापुरमा चुनावी चहलपहल बढेको छ। हाटबजार, चियापसल, खेतखलियान सबैतिर चुनावी चर्चा सुनिन्छ। ती चर्चामा एउटा फरक तर सभ्य समाजको झल्को भेटिएको छ। त्यो हो- अब जात मात्रै होइन, काम गर्ने मान्छे चाहिन्छ।

विगतका चुनावमा यहाँको मतगणित प्रायः समुदायमा आधारित हुन्थ्यो। थारु बाहुल्य क्षेत्र भएकाले उनीहरूको सामूहिक मतले नतिजा निर्धारण गर्ने गरेको थियो। तर, यसपटक दृश्य फरक देखिन्छ।

‘हामीलाई आफ्नो समुदायको वा अर्को समुदाय भन्ने छैन। हामीलाई परिवर्तन ल्याउने मानिस चाहिएको छ,’ शक्तिनगरकी प्रमिला चौधरी भन्छिन्, ‘सबै समुदाय मिलेर मात्र टिकापुरलाई अगाडि बढाउन सकिन्छ।’

टिकापुरमा धेरै समस्या छन्। टिकापुर बाढीको जोखिममा पर्ने क्षेत्र हो। वर्षेनि तटबन्धनको आश्वासन दोहोरिन्छ, तर नदीको डर उस्तै छ। कतिपय परिवार अझै लालपुर्जा नपाएर अस्थिर जीवन बाँचिरहेका छन्।

‘धेरै पटक भोट हालियो, तर हाम्रो जीवनमा परिवर्तन भएन। गणतन्त्र चोककी वेलावती चौधरी भन्छिन्, ‘हामी सडक बनेको हेर्न चाहन्छौं, विद्यालयमा राम्रो पढाइ भएको हेर्न चाहन्छौं।’

शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी लगायतका सबै मुद्दा अहिले जातीय समीकरणभन्दा अगाडि आएका छन्।

यहाँका कतिपय परिवार अझै लालपुर्जा नपाएर अनिश्चितताको जीवन बाँचिरहेका छन्।शिक्षा, स्वास्थ्य र खेलकुदको पूर्वाधार कमजोर छ। युवा रोजगारीको खोजीमा बाहिरिन बाध्य छन्। यी सबै समस्याको जड एउटै देखिन्छ। समस्या र सरकारबीच दुरी देखिन्छ।  

तर अहिले टिकापुरमा चेतनाको स्तर उक्लिएको छ। समुदायहरूबीचको दूरी घटेको छ। थारु, पहाडिया, दलित, थारु सबैबीच संवाद बढेको छ। सद्भाव कायम राख्दै विकासको बाटो खोज्ने चाहना प्रबल छ।

रेशम चौधरीको प्रभाव र बदलिँदो आधार

झट्ट हेर्दा कैलाली क्षेत्र नम्बर-१ रेशमलाल चौधरीको आधार इलाका जस्तो देखिन्छ। २०७४ को चुनावमा उनी टीकापुर हत्याकाण्डका कारण भूमिगत रहेकै बेला भारी मतका साथ विजयी भएका थिए। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवारी दिएका थिए।

पछि जेल जीवन बिताउँदै गर्दा पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन भयो। २०७९ को चुनावमा रञ्जिता श्रेष्ठले विजय हासिल गरिन् र मन्त्री समेत बनिन्।

तर २०७९ पछि दाम्पत्य सम्बन्ध र पार्टीभित्रको खटपटले नाउपा दुई भागमा विभाजित भयो। रञ्जिताले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित गराइन् भने रेशमले नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरे। यस विभाजनले कार्यकर्ता तितरबितर भए। मतदाता पनि अन्योलमा परे।

अब प्रश्न उठेको छ, रेशमले पकड जमाएको क्षेत्रमा नयाँ समीकरण कसको पक्षमा जान्छ ?। कैलाली–१ मा अहिले प्रतिस्पर्धा बहुआयामिक छ।

नाउपाबाट नेकपामा सामेल रामलाल डगौंरा नकेपाका उम्मेदवार छन्। टीकापुर नगरपालिकाका मेयर पदबाट राजीनामा दिएर मैदानमा उत्रिएका उनी २०७९ को जितलाई निरन्तरता दिन चाहन्छन्। यहीबीचमा एमालेले युवा नेता द्वारिकाप्रसाद न्यौपानलेलाई उम्मेदवार बनाएको छ।

प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टीबाट, कोमल ज्ञवाली रास्वपाबाट, विमलकुमार डगौँरा श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसबाट जनकराज चौधरी, राप्रपाबाट लोकेन्द्र कुँवर, जनमत पार्टीका भगतराम डगौँरा, नेमकिपाकी सुनिता भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली, प्रलोपाका जनकराज शाह, माओवादीका रामबहादुर विश्वकर्मा, आजपाकी रूपाकुमारी चौधरी, स्वतन्त्र उम्मेदवारहरू अरुण ठकुल्ला, तपेन्द्र शाह, नरेश रावल, फागुराम चौधरी, राजेन्द्र बहादुर शाही र सत्यनारायण भट्टराई मैदानमा छन्।

यहाँ थारु समुदायका मात्रै ७ जना उम्मेदवार छन्। यसले मत विभाजनको सम्भावना बलियो बनाएको छ। यही परिस्थितिबीच एमालेले युवा नेता न्यौपानेलाई उम्मेदवार बनाउँदै टिकापुरका मतदातामा फरक स्वाद पुगेको भेटिन्छ।

३१ वर्षदेखि एमालेले यो क्षेत्र जित्न सकेको छैन। २०४८ मा कांग्रेस, ०५१ मा एमाले, ०५६ मा कांग्रेस, ०६४ मा माओवादी विजयी भएका थिए। ३१ वर्षपछि नयाँ अवसर आएको भन्दै एमाले पंक्तिमा उत्साह छ।

साथै, फरक पृठभूमिका कारण पनि यसपटक एमालेका लागि अवसर आएको एमाले नेताहरुको दावी छ। अन्य पार्टीका उम्मेदवारहरुले पनि आफ्नो दावी पेश गरेका छन्।  

वैचारिक नेताको रुपमा परिचित ४७ वर्षीय न्यौपाने स्नातकोत्तर अध्ययन गरेका स्थानीय बासिन्दा हुन्। कक्षा ८ देखि राजनीतिमा सक्रिय उनी सुदूरपश्चिमबाट उदाएका युवा नेता मानिन्छन्। उनी राजनीतिलाई पेशा होइन, उत्पादनसँग जोड्नुपर्ने मान्यता राख्छन्।उत्पादनलाई राजनीतिसँग जोड्नुपर्ने उनको भनाइ रहदै आएको छ।

‘हामीले उत्पादन गरेको तरकारीले राम्रो बजार पाउँन सकेको छैन,’ पविता चौधरी भन्छिन्, ‘हाम्रो उत्पादनले राम्रो बजार पाओस् भन्ने चाहना छ।’

जातभन्दा माथि उठ्ने अभ्यास

टिकापुरका मतदाता अहिले एउटा प्रयोग गरिरहेका छन् त्यो हो, जातभन्दा माथि उठ्ने। उनीहरुमा पहिले समुदाय निर्णायक थियो, अहिले विकासका कुराहरु अगाडी आएका छन्। उनीहरु भावनात्मक निर्णयभन्दा कार्यक्षमताको आधारमा नेता चुन्ने बताउँछन्।  

‘समुदायले जातको आधारमा मत दिँदै आएको थियो, यस पटक हामी राम्रो मान्छेको खोजीमा छौ,’ बलबीर डगौरा भन्छन्, ‘हामीलाई हाम्रो भन्दा पनि राम्रो नेताको खाचो छ।’

उनका अनुसार यसपटक टिकापुर बदल्ने नेता खोजेकै कारण समुदायभन्दा माथि उठ्नु परेको हो।

यस्तै भनाइ छ किस्मत होटलका संचालक देवराज न्यौपानेको पनि। उनी यसपटक टिकापुरले आफ्नो किस्मत फेर्ने बताउँछन्। ‘टिकापुर सद्भावयुक्त सहरको रुपमा अगाडी बढ्दै छ,’ उनले भने, ‘जुनसुकै दल र व्यक्तीले चुनाव जितुन तर अहिलेको निर्वाचनको जगमा टिकापुरको सुन्दर भविष्य कोरिने छ।’

कैलाली–१ को चुनावी आंकलन निकै मुश्लिक बनेको छ। यसअघि जितहारको अनुमान मतदानअघि नै गर्न सकिन्थ्यो। तर यसपटक स्थिति फरक छ। नाउपा विभाजित छ। कांग्रेस पहाडिया समुदायको मत जोगाउने रणनीतिमा छ। कोही विरासत जोगाउन खोज्दैछ। तर थारु मत विभाजनको सम्भावनाले अन्य दलका गैर थारु उम्मेदवारको पनि संभवाना बढेको छ।

टिकापुर अहिले केवल चुनावी प्रतिस्पर्धाको मैदान होइन। यो एउटा सामाजिक परिवर्तनको प्रयोगशाला बनेको छ। सद्भाव, सह-अस्तित्व र विकासको खोजीमा लागेको यो क्षेत्र नयाँ नेतृत्वको पर्खाइमा छ।

मतदानको दिन नजिकिँदै जाँदा एउटा प्रश्न गुञ्जिरहेको छ। त्यो हो के यसपटक टिकापुरले फरक इतिहास रच्नेछ ? जवाफ चाडै आउने छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App