२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिम प्रदेश : शान्तिपूर्ण मतदान सुरु

सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्रमा मतदान सुरु भएको छ। 

शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

मतदाताहरू बिहान मतदान सुरु हुनु अघि नै मतदान स्थलमा पुगिसकेका थिए।

निर्वाचनका लागि प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरेर सुदूरपश्चिममा ३० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा अधिकारीले बताएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाले निर्वाचनको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको बताए।

प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

प्रदेशभर सात हजार ९८ जना प्रहरी परिचालन र १३ हजार ६४७ जना निर्वाचन प्रहरी, निर्वाचन प्रहरी सहित पाँच हजार बढी सशस्त्र प्रहरी र ५ हजार बढी सेना परिचालन गरिएको सुरक्षा अधिकारीले बताए। 

निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।

  यस प्रदेशमा ९ जिल्ला मध्य ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्।
२३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ।

३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता रहेका छन् भने २ निर्वाचन क्षेत्र रहेको अछाममा १ लाख ६५ हजार ३३७ मतदाता छन्। बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन्।डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्।

नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट ले कैलालीको गोदावरी नगरपालिका वडा नं १ स्थित घण्टेश्वर माविको मतदान केन्द्रबाट मतदान गरेका छन्। भट्ट कैलाली निर्वाचन क्षेत्र ४ का उम्मेदवार हुन।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App