२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

शोकका बीच चुनावी यात्राः उम्मेदवार कोराभित्र, घरदैलोमा छोरीहरू

मोरङ क्षेत्र नम्बर ६ मा यतिबेला चुनावी सरगर्मी उच्च छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि यो समय दोहोरो पीडाको क्षण बनेको छ । एकातर्फ १०१ वर्षको उमेरका बुबा विष्णुप्रसाद ढकालको स्वार्गारोहण अनि अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी ।  

उम्मेदवार ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजक्रियामा सेतो वस्त्र धारण गरेर कोरामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहँदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।

केही दिनअघिमात्र कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उनले मतदातालाई सम्बोधन गरे । “म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,” उनले भने ।  

उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भयो । ढकालको अनुपस्थितिमा उनका दुई छोरीहरू घरदैलो अभियानमा निस्किएका छन । ‘जेनजी’ पुस्ताका दुई छोरीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई एकसाथ जोडेर अभियान अघि बढाइरहेका छन ।

इटालीमा सस्टेनेवल नेचुरल रिसोर्स मेनेन्जमेन्टबाट मास्टर गर्दै गरेकी जेनजी उमेरकी जेठी छोरी सुरभीले भर्खरै बिएलएलबी सकेर बसेकी कान्छी छोरी सौरभीमा राम्रै राजनीतिक चेत देखिन्छ । दुबै छोरी बिहानै उठेर बुबाको आशीर्वाद लिएर बुवाको प्रतिबद्धता पत्र बोकेर मतदाताको घर–घर पुगिरहेका छन् । उनीहरूको हातमा केवल प्रतिबद्धता पत्रमात्र छैन, बुबाको संघर्ष र इमान्दारिताको कथा पनि छ । घरदैलोमा पुगेर उनीहरु भन्छन्, “हाम्रो बुबा अहिले तपाईहरूको आँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौ । उहाँको सपना पूरा गर्न साथ दिनुहोला ।”

जब दुई छोरीहरु मतदाताको आँगनमा पुग्छन्, धेरैजसो मतदाताहरू सुरुमा आश्चर्य मान्छन् ।

“विनोद दाइ खोइ ?” भन्ने प्रश्नको उत्तरमा जब छोरीहरूले “हजुरबुबा बित्नुभयो, बुबा किरियामा हुनुहुन्छ, त्यसैले हामी आएका हौं” भनेर विनम्रतापूर्वक हात जोड्छन्, माहोल एकाएक भावुक बन्छ ।

राजनीतिक आलोचना गर्न तयार भएर बसेका विपक्षी मतदाताको मन पनि यो दृश्यले पग्लिने गरेको छ । एक स्थानीय वृद्धा आमाले आँशु पुछ्दै भनेको दृश्य मार्मिक पारामा भनिन् “बिचरा बाउको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिडेका छन्, धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो ।”

मतदाताहरूले यसलाई केवल राजनीतिक प्रचारका रूपमा मात्र लिएका छैनन् । उनीहरूले यसमा ’छोरी’ को अदम्य साहस र पारिवारिक संस्कार देखेका छन । धेरैको बुझाइ छ– “जसको छोरीहरू यति जिम्मेवार छन्, त्यो बाबुले समाजका लागि पनि पक्कै केही राम्रै सोचेका होलान ।”

विनोद ढकाल कोरामा बस्दा उनका शब्दहरू मौन होलान्, तर उनका छोरीहरूको पाइलाले त्यो मौनतालाई शक्तिशाली आवाजमा परिणत गरिदिएको छ ।

पितृशोकको यो घडीमा छोरीहरूले देखाएको यो परिपक्वताले  राजनीति केवल भाषण र घोषणापत्र मात्र होइन, यो संवेदना, सम्बन्ध र संस्कारको शिक्षा पनि भएको मतदाताको प्रतिकृया छ । बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’ बनेको यो दृश्यले मोरङका मतदाताको मन छोएको छ ।

मतदाताहरूका लागि यो दृश्य भावुक बनिरहेको छ । एक स्थानीय मतदाता भन्छन्, “हिजोसम्म विनोद दाइ आफैं आउनुहुन्थ्यो, अहिले उहा शोकमा हुनुुहुदोरहेछ, आज उहाका छोरीहरू बुबाको लागि भोट माग्दै हिड्दा मन छोएको छ । यो केवल राजनीति होइन, परिवारको संस्कार र जिम्मेवारी पनि हो ।”

प्रकाशित: ४ फाल्गुन २०८२ १९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App