गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिकूल मौसमका कारण उत्तरी भेगबाट मतपेटिका ढुवानी गर्न समस्या भएपछि मतगणना ढिलो गरी सुरु गरिएको हो।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत रहेका २३ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको थियो। मौसम प्रतिकूल हुँदा ढुवानी कार्य प्रभावित भएपछि मतपेटिका शुक्रबार मात्रै सुरक्षित रूपमा संकलन केन्द्रमा ल्याइएको निर्वाचन स्रोतले जनाएको छ। मतपेटिका ढुवानी कार्य सम्पन्न भएपछि शनिबार बिहानबाट मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
गोरखा १ मा यसपटक प्रमुख दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङ, नेकपा (एमाले) का रामचन्द्र लामिछाने, नेपाली कांग्रेसका प्रेम खत्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हरि अधिकारीलगायत उम्मेदवार मैदानमा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १३:३५ शनिबार



-600x400.jpg)

