७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

नीति र थिति बसाल्ने कांग्रेस प्रतिज्ञा

विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो सभा गरी शक्ति प्रदर्शन गरेको छ। सभापति गगनकुमार थापाले नेतृत्व सम्हालेपछि पहिलो पटक बुधबार मधेस प्रदेशको जनकपुरस्थित तिरूहुतिया गाछीमा चुनावी सभा गरी कांग्रेसले शक्ति प्रदर्शन गरेको हो। यही सभामार्फत कांग्रेसले चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको छ। सभाबाट कांग्रेसले जनतासँग मत मात्र होइन, विश्वास र भरोसा पनि मागेको छ।

सभामा मधेस प्रदेशका आठ जिल्ला र यो प्रदेश आसपासका जिल्लाका जनता, पार्टी नेता र कार्यकर्ता तथा शुभेच्छुक उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै केन्द्रीय सभापति थापाले कांग्रेसले अब देशको नेतृत्व सम्हाल्ने र सबै नेपालीको जिम्मा राज्यले लिने नीति र थिति बसाल्ने उद्घोष गरे। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउने र संघीयताको प्रभावकारी कार्यान्वयनमा लाग्ने वाचा पनि गरे। उनले देशमा कुशासन अन्त्य गर्ने प्रतिज्ञा गर्दै कांग्रेस सबैलाई समेटेर अघि बढ्न सक्षम रहेको बताए।

मधेस प्रदेशकै सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका थापाले मधेसबाटै देश परिवर्तनको साहस र अठोट आफूले लिएको बताए। उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘अब मधेसले देशमा संघीयता कार्यान्वयन गराउन जरूरी छ’, उनले भने, ‘मधेसले नेतृत्व लिन सक्ने शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको आधार यहाँ छ।’

थापाले मधेसलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पार्दै भने, ‘मधेसको शिक्षा नभएको भए पहाडमा गणित राम्रोसँग पढाइ हुँदैनथ्यो। मधेसका शिक्षकले देश शिक्षित बनाएका हुन् तर आज मधेसको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जर्जर छ।’

यहाँका किसान, विशेषगरी उखु किसानको समस्या, वातावरणीय संकट र खानेपानी अभाव समाधान गर्न आफू मधेश आएको उनले बताए। उनले मधेसलाई सिंगो देश पाल्न सक्ने आर्थिक शक्ति बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

मधेसको वित्तीय संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै उनले सहकारी ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताए। ‘यहाँ सहकारी ठगहरूको विगबिगी बढेको छ। अब उनीहरूलाई तह लगाइन्छ’, उनले चेतावनी दिए।

मधेसका युवाको आकांक्षा सम्बोधन गर्दै उनले यहाँ एउटा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरे। ‘मधेसका युवाले देखेको क्रिकेटको सपना पूरा गर्न म चाहन्छु’, उनले भने।

आफू मधेसको ‘बेटा’ बन्न यहाँ आएको उल्लेख गर्दै थापाले मधेसका ऐतिहासिक व्यक्तित्वहरूको साहस र जीवनशैलीबाट प्रेरणा लिएको बताए।

कांग्रेस शुद्धीकरण र आत्मसमीक्षासहित जनविश्वास लिन चुनावी मैदानमा आएको उनले बताए। ‘अब हामी मत मात्र होइन, विश्वास र भरोसा लिन आएका छौं’, उनले भने, ‘देशलाई अगाडि हिँडाउन र परिवर्तन गरेर देखाउन कांग्रेस तयार छ।’

थापाले कांग्रेसलाई युवाको साझा पार्टीका रूपमा स्थापित गर्दै उनीहरूको सपना पूरा गर्ने अभियान सुरु गरिएको बाताए।

उनले विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक परे दूतावास र कर्मचारी व्यवस्थापन गरी राज्यले जिम्मेवारी लिने बताए। ‘कुनै पनि नेपाली विदेशमा रहे पनि उसको हेरचाह गर्ने दायित्व नेपाल सरकारको हुनेछ’, उनले भने।

यसैगरी पाटीका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देश र मधेस दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई भोट दिएर जिताउन जनतालाई आग्रह गरे। उनले अहिलेको चुनाव सामान्य प्रतिस्पर्धाभन्दा फरक भएको बताए। ‘हामी जान्दछौं - यो बेला देश दुखिरहेको छ, मधेस दुखिरहेको छ’, उनले भने, ‘अहिले मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, यो परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।’

शर्माले कांग्रेसका लागि जित वा हार अनौठो विषय नभएको उल्लेख गर्दै अहिलेको बहस व्यवस्थाको भविष्यसँग जोडिएको बताए। ‘कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो। कांग्रेसले जिन्दगीमा धेरै चुनाव जितेको छ, धेरै हारेको पनि छ। जित- हार हाम्रा लागि नौलो कुरा होइन’, उनले भने, ‘तर आजको प्रश्न पद्धति जोगाउने कि हार्ने भन्ने हो। समाजको सद्भाव कसले कायम राख्न सक्छ भन्ने हो।’

उनले देश र कांग्रेसलाई मधेसले दिएको योगदानप्रति विशेष सम्मान व्यक्त गर्दै मधेसलाई देशको अन्न भण्डारका रूपमा चित्रण गरे। ‘सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेस हो’, उनले भने, ‘मधेसका किसान र उनीहरूले उब्जाएका प्रत्येक दानाप्रति कृतज्ञता व्यक्त गर्न हामी यहाँ आएका हौं।’ वर्तमान राजनीतिक घडीमा जिम्मेवार नेतृत्व र स्थायित्व अपरिहार्य रहेको सन्देश उनको थियो।

कार्यक्रममा मधेस प्रदेश रास्वपा प्रमुख ममता शर्मा कांग्रेसमा प्रवेश गरिन्। मधेस प्रदेश रास्वपा संस्थापक सभापति शर्मालाई कांग्रेस सभापति थापाले पार्टीमा स्वागत गरेका थिए। कांग्रेस प्रवेश गरेसँगै शर्माले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले त्यसलाई त्यागेको बताइन्।

उनले भनिन्, ‘रास्वपामा दागैदाग भएकाहरूले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएको महसुस गरी म उक्त पार्टी परित्याग गरी जेनजीको भावना बोक्ने र सुशासनको काममा जोड दिने नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले हरेक पटकका चुनावमा मधेसले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन अपिल गरिन्। मैथिली भाषामा उनले भनिन्, ‘सब दाइब मधेसके जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेसमे निक उम्मेदवार छानू, कांग्रेसके उम्मेदवारके पहचानू।’

प्रकाशित: ७ फाल्गुन २०८२ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App