२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

कपिलवस्तुमा एमाले र कांग्रेसलाई साख जोगाउन चुनौती

चुनाव नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्रका उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। दलहरू गाउँबस्तीमा मत माग्न पसेपछि चुनावी सरगर्मी बढेको छ। लामो समयदेखि कपिलवस्तुमा प्रभाव कायम राख्दै आएका एमाले र कांग्रेसलाई बिरासत जोगाउन चुनौती देखिएको छ। तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा २०७९ सालको निर्वाचनमा एमालेले २ र कांग्रेसले एक सिट जितेको थियो।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रभावशाली नेताहरूले दल फेरबदल र नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दल एमाले र कांग्रेसलाई चुनौती दिएको छ।

मनोनयनको केही दिनअघि मात्र एमालेका बृजेशकुमार गुप्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरी उम्मेदवार बने। यस्तै कांग्रेस नेता वीरेन्द्र कनौडिया एमालेमा र कांग्रेस नेता तथा पूर्वएएसपी विक्रमसिंह थापा पार्टी परित्याग गरी रास्वपाको उम्मेदवार बने।

नेता गुप्ता क्षेत्र नं २, कनौडिया क्षेत्र नं ३ र थापा क्षेत्र नम्बर १ का उम्मेदवार बनेका हुन्। पार्टीका प्रभावशाली नेता नै पार्टी त्यागेर अरू पार्टीका उम्मेदवार बनेपछि एमाले र कांग्रेसलाई साख जोगाउन हम्मेहम्मे परेको मतदाताको भनाइ छ।

२०७९ मा कपिलवस्तु क्षेत्र नं १ मा एमालेका बलराम अधिकारी, क्षेत्र नं २ मा कांग्रेसका सुरेन्द्रराज आचार्य, क्षेत्र नं ३ मा एमालेका मंगलप्रसाद गुप्ताले जितेका थिए। यसपटकको निर्वाचनमा एमालेले गत निर्वाचनमा जितेका अधिकारी र गुप्तालाई टिकट दिएन। नयाँ उम्मेदवार क्षेत्र नं १ मा विश्रामप्रसाद थारू, २ मा दीर्घनारायण पाण्डेय र ३ मा वीरेन्द्र कनौडियालाई उम्मेदवार बनाएको छ।

गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेको र झिनो मतले मात्र कांग्रेसका आचार्यसँग पराजित भएका बृजेशकुमार गुप्ता नेकपाबाट क्षेत्र नं २ मा उम्मेदवार बनेका छन।

उता कांग्रेस क्षेत्रीय समितिबाट एकल नाम सिफारिस भए पनि टिकट नपाउने जस्तो लागेपछि वीरेन्द्र कनौडिया एमालेमा प्रवेश गरी क्षेत्र नं ३ को उम्मेदवार बनेका छन्। भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका बेला पोखरास्थित लिचिबारी जग्गा काण्डमा मुछिए पनि टिकट नपाएका एमाले नेता बलराम अधिकारीलाई यसपटक जिल्लाको चुनावी कमान्डर बनाइएको छ। मंगलप्रसाद गुप्ता वृद्ध र बिरामी परेको कारण देखाउँदै टिकट नदिएको एमाले पार्टी स्रोतले जनाएको छ।

२०४८ सालयता कपिलवस्तुमा कांग्रेस र एमालेले प्रभाव जमाउँदै आएका छन्। २०७४ सालमा भने क्षेत्र नं १ मा माओवादी नेता चन्द्रप्रकाश शर्मा बलदेवले चुनाव जितेका थिए । दल फेरबदल र रास्वपाको चर्चाले कांग्रेस र एमालेलाई टाउको दुखाइ बनेको मतदाता बताउँछन्।

एमालेका प्रभावशाली नेता बृजेशकुमार गुप्ता अन्तिम समयमा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेपछि एमालेलाई ठुलो धक्का लागेको छ। पञ्चायतकालीन प्रभावशाली नेता भगवानदास गुप्ताका छोरा बुजेश क्षेत्र नं २ मा लगातार चारपटक जित्ने नेता हुन्। पार्टी परिवर्तन गर्दै गुप्ता २०७४ र २०७९ मा एमालेबाट उम्मेदवार बनेका थिए। गत निर्वाचनमा तीन सय १७ मतले मात्र कांग्रेस नेता आचार्यसँग चुनाव हारेका थिए।

कपिलवस्तुमा एमाले र कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समेत चुनौती दिएको छ। क्षेत्र नं १ मा कांग्रेसका अतहर कमाल, एमालेका विश्राम थारू उम्मेदवार छन्। दुवैलाई रास्वपाका मोहन आचार्य, नेकपाका कृष्ण कुँवर तथा कांग्रेसमा विद्रोह गरी वागी उम्मेदवार बनेका नेता दीपकुमार उपाध्यायका छोरा आशिष शर्माले समेत कडा टक्कर दिएका छन्।

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नं १ मा जातीय, धार्मिक कुराले पनि ठुलो प्रभाव पार्ने त्यस क्षेत्रका मतदाताको भनाइ छ। उत्तरी क्षेत्रमा थारू तथा दक्षिणी क्षेत्रमा मुस्लिम, कुर्मी र यादव जातिको बसोवास छ।

क्षेत्र नं २ कांग्रेस नेता विक्रमसिंह थापा अन्तिम समयमा रास्वपाको उम्मेदवार बनेपछि कांग्रेसलाई अलि गाह्रो परको मतदाता बताउँछन्। थापा २०७९ सालमा कांग्रेसको लुम्बिनी प्रदेशको उम्मेदवार बनी थारै मतान्तरले पराजित भएका थिए। बुद्धभूमि र महाराजगञ्ज नगरपालिकामा रास्वपाको हल्ला र चर्चाले कांग्रेस र एमालेलाई झस्काएको छ।

क्षेत्र नं ३ दशक बढी कांग्रेसमा आबद्ध भई चुनावको केही दिनअघि मात्र एमालेबाट वीरेन्द्र कनौडिया उम्मेदवार बनेपछि एमाले केही हौसिएको छ। यसपटक फेरि कांग्रेसबाट अभिषेक प्रताप चुनावी मैदानमा छन्।

गत निर्वाचनमा शाह एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए। शाह लगातार तीनपटक जितेर चौथोपटकमा पराजित भएका थिए।

उता राप्रपा त्यागेर रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका प्रकाश रजौरियाले पनि कांग्रेस र एमालेलाई कडा टिक्कर दिएका छन्। राष्ट्रिय मुक्ति पार्टीबाट ईश्वरदयाल मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट एहेसन खाले राम्रो मत पाउने देखिएको छ। दलबदल र नयाँ पार्टीको हल्लाले आफ्नो पार्टीलाई खासै फरक नपर्ने एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको दाबी छ। उनले यसपटक पनि एमालेले कपिलवस्तुमा आफ्नो विरासत कायम राख्ने दाबी गरे।

कांग्रेस जिल्ला सभापति अब्दुल कलामले पार्टी अध्यक्ष गगन थापालाई आगामी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएकाले यस पार्टीले फेरि देशभर पुनः प्रभुत्व कायम राखेको बताए। उनी भन्छन्, ‘यसपटक जिल्लाका तीनवटै सिटमा कांग्रेसले जित्छ, जित्छ।’

प्रकाशित: ८ फाल्गुन २०८२ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App