१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

उम्मेदवार घरदैलोमा व्यस्त

निर्वाचन आचासंहिताअनुसार सभा, कोणसभा, जुलस गर्न नपाएपछि उम्मेदवारहरू घरदैलो, भेटघाट आन्तरिक बैठक, मतदाता कार्यक्रममा व्यस्त छन्। चार गतेपछि मात्र दलीय र स्वतन्त्र उम्मेदवार ठुला सभा गर्ने तयारीमा छन्। फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदै छ।

निर्वाचन आयोगले दल र उम्मेदवारलाई सभा, जुलुस, कोणसभा, र्‍याली, माइकिङ गरी प्रचारप्रसार गर्न फागुन ४ देखि १८ सम्म समय तोकिदिएको छ।

निर्वाचन आचारसंहिताअनुसार फागुन ४ अघि दलहरूले सभा, जुलुस, र्‍याली, कोणसभाजस्ता कार्यक्रम गरी प्रचारप्रसार गर्न पाउँदैनन्। त्यसैले उम्मेदवारहरू तीन सातादेखि प्रचारप्रसारका लागि घरदैलो, भेटघाट, आन्तरिक बैठक र मतदाता शिक्षा जस्ता कार्यक्रम व्यस्त भएका हुन्।

मतदाताहरूसँगको प्रत्यक्ष भेटघाट र छलफलसहितको प्रचारप्रसारमा बढी प्रभावकारी हुने उम्मेदवारहरूको अनुभव छ। सम्भव भएसम्म सबै मतदाताको घरमा पुगेर भेटघाट गर्ने योजना उम्मेदवारहरूको छ। ठुलाठुला सभा गर्नुभन्दा घरमै गएर भोट माग्दा बढी प्रभावकारी हुने उनीहरूको भनाइ छ।

घरदैलोमा भेटघाट कार्यक्रम दिनभरि नै चल्ने भए पनि प्रायः उम्मेदवारले बिहानको समय रोज्ने गरेका छन्। बिहान घरमा जाँदा अधिकांश मतदाता भेटिने भएकाले उनीहरूले यो समय रोजेका हुन्। घरदैलोमा पुग्दा केही उम्मेदवारले फेसबुकमा लाइभसमेत गर्दै आएका छन्। घरदैलो कार्यक्रममै उनीहरूले बन्द कोठाभित्र मतदाता, शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन पनि गर्दै आएका छन्।

उम्मेदवारहरू निकट र विश्वासिला पात्रलाई सँगै लिएर घरदैलोमा पुग्ने गरेका छन्। कुनैकुनै उम्मेदवार स्थानीय बाजागाजा र परम्परासहित घरदैलोमा पुगेका छन्। घरदैलो कार्यक्रममा पनि सानोतिनो र्‍याली जस्तै देखिन्छ। घरदैलोमा जानुअघि उम्मेदवारहरूले सम्बन्धित ठाउँका समस्या, यसअघि चुनावी परिणाम, मतदाताको मनोविज्ञानलगायत बुझ्ने गर्छन्।

नेपाली कांग्रेसले आइतबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ। यसै प्रयोजनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रसका सभापति गगन थापा सर्लाहीलगायत मधेसका विभिन्न ठाउँमा चलिरहेको घरदैलो तथा भेटघाट कार्यक्रम छाडेर शनिबार साँझ काठमाडौं आएका छन्।

झापा–५ बाट उम्मेदवारी दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि २० दिन झापा बसेर निर्वाचन घोषणापत्र जारी गर्न काठमाडौं आएका छन्। झापामा बस्दा उनले घरदैलो तथा मतदातासँग भेटघाट गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि रुपन्देही, गुल्मी, कपिलवस्तु लगायत जिल्लामा घरदैलो र कार्यकर्तासँग  भेटघाट गरी चितवन फर्केका छन्। उनले चितवन–२ बाट उम्मेदवारी दिएका छन्। झापा–५ बाट उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भने देश दौडाहामा नेपाली कम्युनिस्ट पार्टी (नकेपा) का संयोजक पुष्ककमल दाहाल पनि पूर्वी रुकुममा केही दिन घरदैलो गरी अहिले काठमाडौं आएका छन्। सोही पार्टीबाट रौतहट–१ मा उम्मेदवार बनेका सहसंयोजक माधव नेपाल र सर्लाही–३ मा उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ घरदैलो कार्यक्रमै छन्।

कति छापिए मत पत्र?

निर्वाचन आयोगका अनुसार मतपत्र छपाइको काम करिबकरिब अन्तिम चरणमा पुगेको छ। हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ।

आगामी तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान आयोगका कर्मचारीले गरेका छन्। पुस २२ गतेदेखि मतपत्र छाप्न सुरु भएको हो। प्रत्यक्ष निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगल जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App