२०७४ सालयता भएको दुई प्रतिनिधिसभा निर्वाचन र एक उपनिर्वाचनमा लगातार जित निकाल्न सफल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई यसपालि सिट बचाउन धौधौ छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि जसपाका उम्मेदवारलाई जित हात पार्न चुनौती देखिएको हो।
यसपालि जसपा नेपालबाट रामकिशोर यादव, कांग्रेसबाट भैयाराम यादव, एमालेबाट बलवीर चौधरी, नेकपाबाट रमेश यादव, रास्वपाबाट चन्दन सिंह, प्रलोपाबाट शिवचन्द्र कुशवाहासहित २९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
२०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। २०७९ मा निर्वाचित भएलगत्तै यादव उपराष्ट्रपति बनेपछि यस क्षेत्रमा २०८० वैशाखमा भएको उपनिर्वाचनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
जसपाका उम्मेदवार रामकिशोर यादवले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जसपा उम्मेदवार रामसहायक यादवलाई हराएका थिए। २०७९ सालको प्रतिनिधिसभा सदस्यमा बागी बनेर जसपा उम्मेदवारलाई हराउन लागेका रामकिशोरले २०८० सालको उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्रलाई विजयी गराउन सहयोग गरेका थिए।
बारा– २ को निर्वाचन क्षेत्र घुम्दा स्थानीय नेता–कार्यकर्ताले खुलेर सहयोग गरेको अवस्था रहेकाले आफूले चुनाव जित्ने उनले दाबी गरे।
कांग्रेस उम्मेदवार भैयाराम यादवले आफ्नो निर्वाचन क्षेत्रमा घुम्दा कांग्रेसका सबै नेताकार्यकर्ताले सहयोग गरेको अवस्था नरहेको बताए।
उनी भन्छन्, ‘केही नेताले सम्पर्क गर्न मानेनन् तर धेरै नेता–कार्यकर्ता उत्साही बनेर मलाई विजयी गराउन रात दिन खटिरहेका छन्।’
यस क्षेत्रका महागढीमाई नगरपालिका र सुर्वण गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडाध्यक्षहरू कांग्रेसका रहेकाले पार्टीगत मतले नै आफू अन्य उम्मेदवारभन्दा धेरै अगाडि रहने उनले बताए।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य र जिल्ला सभापति राधेचन्द्र यादवलाई पाखा लगाएर उम्मेदवार बनेका कारण भैयाराम यादवलाई पार्टीभित्रैबाट विरोधको सामना गर्नुपरेको छ। राधेचन्द्र २०५१ सालमा प्रतिनिधिसभा सदस्य, २०७० सालमा संविधानसभा सदस्यमा बारा– २ बाट निर्वाचिन व्यक्ति हुन्।
तत्कालीन सभापति शेरबहादुर देउवा खेमामा रहेका राधेचन्द्र यादवका छोरा राजेश राय यादव कांग्रेस बाराका जिल्ला सभापति छन्। गगन थापा नेतृत्वले पुराना र निरन्तर पार्टीलाई योगदान पुर्याएका राधेचन्द्र यादवलाई पाखा लगाएकोमा अधिकांश कार्यकर्ता र मतदाता निराश छन्।
यसैगरी प्रलोपाबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका छन्। जनयुद्धदेखि मधेस अन्दोलनल गायत सबै खाले राजनीतिक परिवर्तनमा योगदान गरेकाले यसपालि मतदाताले आफूलाई नै विजयी गराउने विश्वास रहेको कुशवाहा बताउँछन्। यस क्षेत्रबाट लगातार पाँचवटा निर्वाचन लडेको र आफ्ना मतदातो संख्या धेरै रहेकाले यसपालि आफूले स्पष्ट रूपमा जित्ने दाबी उनले गरे।
उनी भन्छन्, ‘२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मैले तीन सय ५४ मतले पराजित भएँ। २०८० सालको उपनिर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार उपेन्द्र यादवभन्दा पाँच हजार मत कम आए पनि अहिले ती मतदाता मेरो समर्थनमा रहेका छन्। यसकारणले पनि मेरो जित निश्चित छ।’
कुशवाहा २०६४ सालको संविधानसभा निर्वाचनमा बारा– २ बाट निर्वाचित सदस्य हुन्।
यसैगरी एमालेबाट बलवीर चौधरी उम्मेदवार बनेका छन्। यसअघि निर्वाचित सांसदहरूले बारा– २ मा केही काम नगरेकाले मतदाता अहिले मलाई विजयी गराउन लागिपरेको उनको दाबी छ। यस क्षेत्रको उत्तरी भेगमा एमालेको बलियो संगठन भएकाले मेरो जित सुनिश्चित छ। २०७० सालको संविधानसभा निर्वाचनमा बारा– ५ बाट एमालेबाट निर्वाचित सदस्य हुन् चौधरी।
यसैगरी रास्वपाबाट चन्दन सिंह उम्मेदवार रहेका छन्। कांग्रेस, जसपा र एमालेका उम्मेदवारहरूलाई उछिनेर आफू विजयी बन्ने स्थानमा रहेको उनको भनाइ छ। यस क्षेत्रमा जसपा, कांग्रेस, एमालेजस्तो बलियो संगठन रास्वपासँग नभए पनि जनतामा रास्वपाप्रति ठुलो आशा रहेकाले आफूले जित्ने उनले दाबी गरे।
मुलुकभरका मतदाताले परिवर्तन खोजेको र त्यसको केन्द्रमा आफू रहेको दाबी गर्दै उनले सोही भावनाअनुसार आफू विजयी बन्ने सम्भावना रहेको बताए। उनी २०७४ मा राष्ट्रिय जनता पार्टीबाट देवताल गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
रास्वपाबाट ममता शर्माले टिकट पाउने निश्चित भइसकेको अवस्थामा सिंहले रातारात रास्वपा प्रवेश गरेर सो टिकट हात पारेपछि रास्वपाका पुराना नेता–कार्यकर्ता निराश बनेको मतदाताको भनाइ छ। २०७९ सालको निर्वाचनमा बारा– २ मा रास्वपाले समानुपातिक मत दुई हजार आठ सय प्राप्त गरेको थियो। २०७९ सालमा यो क्षेत्रमा पूर्वडिआईजी रमेश खरेल उम्मेदवार थिए।
यस निर्वाचन क्षेत्रमा एक लाख १३ हजार मतदाता रहेका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गत पाँचवटा स्थानीय तह र ४४ वटा वडा पर्दछन्, जसमा देवताल, पचरौता, करैयामाई गाउँपालिका, गढीमाई र कोल्हबी नगरपालिकाको वडा नं ८ रहेको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ ०९:०५ मंगलबार





