बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकाध स्थानबाहेक देशभरका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री, मतपत्र, मतपेटिका, कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार विशेष परिस्थिति उत्पन्न भएका केही स्थानबाहेक सोमबार नै सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र सामग्री पठाइसकिएको छ। ‘रामेछाप र मुस्ताङमा कर्मचारी चढेको गाडी दुर्घटना भएको छ। त्यस्तो विशेष अवस्थामा रिजर्भमा राखिएका कर्मचारी तुरुन्तै पठाउँदै छौं,’ उनले भने, ‘अन्य सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका र जनशक्ति पुगिसकेको छ।’
उनका अनुसार निर्वाचन सामग्री, मतपत्र, कर्मचारी र सुरक्षाकर्मी एकै पटक सँगसँगै पठाउने व्यवस्था गरिएको छ। आयोगले यसपटक मतदान केन्द्रमा ५१ प्रकारका निर्वाचन सामग्री पठाएको जनाएको छ।
१० हजार ९६७ मतदानस्थल, २३ हजार ११२ मतदान केन्द्र
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो संख्या २०७९ सालको निर्वाचनभन्दा ७५ मतदानस्थल बढी हो।
निर्वाचनका लागि दुई लाख १३ हजार कर्मचारी परिचालन गरिएको छ। प्रत्येक जिल्लामा दुईदेखि तीन जना कर्मचारी जगेडामा राखिएको छ, ताकि आवश्यक परे तुरुन्तै खटाउन सकियोस्। खटिने सबै कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको छ। आयोगले दलनिकट संघ–संगठनका कार्यसमितिमा रहेका कर्मचारीलाई निर्वाचनमा नखटाउने नीति लिएको छ।
निजामती कर्मचारी, विभिन्न संघसंस्थाका कर्मचारी तथा स्वयंसेवकसमेत परिचालन गरिँदै छ। पाँच सयसम्म मतदाता भएका केन्द्रमा आठ जना र पाँच सयदेखि एक हजारसम्म मतदाता भएका केन्द्रमा नौ जनाका दरले कर्मचारी खटाइने व्यवस्था गरिएको छ। आवश्यक परे मतदान अधिकृतले स्वयंसेवक कर्मचारी भर्ना गर्न सक्ने अधिकारसमेत दिइएको छ।
मतपेटिका र जिल्ला अनुसार व्यवस्था
हरेक मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकतर्फका दुई–दुई वटा मतपेटिका राखिनेछ भने सोही संख्यामा मतपेटिका रिजर्भमा पनि राखिएको छ।
आयोगका अनुसार काठमाडौं, झापा र रूपन्देहीमा सबैभन्दा बढी मतपेटिका आवश्यक पर्छ। ती जिल्लामा ८१७ देखि ८३३ वटासम्म मतदान केन्द्र छन्। मनाङमा भने सबैभन्दा कम, ३४ वटा मात्र मतदान केन्द्र रहेका छन्।
मतदाता संख्या नौ लाखले वृद्धि
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए। यसपटक २०८२ सालमा कुल मतदाता संख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ।
२०७९ मा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ मतदाता थिए। २०८२ मा पुरुष मतदाता पाँच लाख २२ हजार ५५२, महिला तीन लाख ९२ हजार ५५२ र अन्य १५ ले वृद्धि भएको आयोगले जनाएको छ।
आयोगले सोमबार राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु गरिसकेको छ। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले दाबी गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ २०:४० मंगलबार





