विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन्। कोइरालाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापालाई ८ हजार ७ सय १५ मत अन्तरले पराजित गरेका हुन्।
कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरे भने थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गरे । यस्तै राप्रपाका प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गरे।
यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की निर्वाचित भएकी छिन्। कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गरेर विजयी भएकी हुन्। उनकी प्रतिष्पर्धी गठबन्धनतर्फका जसपाका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरे। उपमेयरमा राप्रपाकी उम्मेदवार विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४ सय १ मत प्राप्त गर्दा स्वतन्त्रबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेले ५ हजार १ सय १७ मत प्राप्त गरिन्।
विराटनगरमा कूल १ लाख ३३ हजार १ सय ४२ मतदता रहेकोमा ८९ हजार ७ सय ८९ मत खसेको थियो। विराटनगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले जितेसँगै विराटनगरमा नेपाली काँग्रेसले आफ्नो गढ जोगाउन सफल भएको छ।
विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै नवनिर्वाचित मेयर नागेश कोइरालाले सुशासन र विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए उनले ऐतिहासिक रुपमा विराटनगर औद्योगिक सहरको रुपमा रहेको शाख फर्काउने, विराटनगरलाई प्रदेश १ को राजधानीका रुपमा सुविधा सम्पन्न सहरका रुपमा विकास गर्ने योजना रहेको बताए।
विराटनगरको मतगणनाको प्राप्त परिणाम अनुसार नेकपा एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ गरी ९ वटा वडामा वडाध्यक्षसहित जितेको । त्यसैगरी नेपाली काँग्रेसले वडा नं. ५, ६, ७, ९, १५ र १६ गरी ६ वटा वडा जितेको छ। जनता समाजवादीले १२ र १७ गरी दुई वटा वडा जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नम्बर १३ तथा स्वतन्त्र उम्मेदवारले वडा नम्बर १८ मा जित हासिल गरेको छ।
को हुन् नागेश कोइराला?
५ दलीय गठबन्धनकातर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। नागेशका बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट विक्रम संम्वत् २०३० साल जेष्ठ ३१ गते विराटनगरमा भएको हो।
विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभरसिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष हुँदै २०५६ सालमा सभापतिसमेत भइसकेका छन्। त्यस्तै २०६६ सालमा नेपाली काँग्रेस मोरङको कोषाध्यक्ष र २०७२ मा सचिवमा अत्याधिक मतका साथ निर्वाचित भएका थिए।
कोइराला २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनबाट जिल्लाको उपसभापतिमा निर्वाचित भए। कोइराला सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनी रोटरी क्लब अफ विराटनगर मिट टाउनको अध्यक्ष र राउण्ड टेबल–५ विराटनगरको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन्। विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भएका कोइराला लायन्स क्लब अफ ग्रिनसिटीको सदस्य भइसकेका हुन्।
कोइरालाले कोराना महामारीको समयमा आर्थिक समस्यामा परेकाहरुलाई विराटनगरका १९ वटै र मोरङका विभिन्न स्थानमा पुगेर राहत सामग्रीसमेत वितरण गर्दै बाढीपीडितका लागि राहतसँगै लत्ताकपडा र भाँडाकुँडा वितरण गरेका थिए। कोइरालाले विराटनगर पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरमा गुरुकुल विद्यालय सञ्चालनका लागि २ करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।
को हुन् शिल्पा निराला कार्की
नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरमा निर्वाचति शिल्पा निराला कार्की २०३५ साल मंसिर १४ गते लहानमा जन्मिएकी हुन्। शिल्पाले विद्यालय तहको अध्ययन लहानमै गरेकी हुन्। विराटनगरको कोसी क्याम्पसबाट प्लस २, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र डिग्री क्याम्पस विराटनगर स्नातकोत्तर गरेकी छिन्।
विराटनगरमा आएदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी कार्कीले घरेलु तथा साना उद्योग महासंघ, लायन्स क्लब, रोटरी क्लब जस्ता संस्थाबाट सामाजिक अभियानलाई अगाडि बढाइरहेकी थिइन्। योगमाया फाउण्डेशन, उद्योग संगठनको महिला उद्यमी समितिको सल्लाहकार, जनपथ मावि विद्यालय व्यवस्थापन समिति, कोसी अस्पताल विकास समिति सदस्यसमेत रहेर उनले काम गरेकी छन्।
अखिल नेपाल महिला संघबाट नेकपा एमालेमा जोडिँदै राजनीतिक यात्रा सुरु भएको हो। २०६२/०६३ को जनआन्दोलनमा समेत शिल्पा अग्रपंतिमा थिइन्। नेकपा एमाले विराटनगर महानगरपालिकाको कमिटीकी उपाध्यक्ष हुँदै महानगरपालिकाको उपमेयर बन्न सफल भइन्।
प्रकाशित: ७ जेष्ठ २०७९ ०३:०२ शनिबार