८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

सिन्धुपाल्चोकमा कांग्रेस बन्याे पहिलाे पार्टी

स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको छ। जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा धेरै पाँच पालिका जित्दै कांग्रेस जिल्लामा पहिलो पार्टी बनेको हो। उसले सबैभन्दा धेरै सात उपप्रमुख/उपाध्यक्ष समेत जितेको छ ।  

स्थानीय तह निर्वाचन २०७४ मा तीन स्थानीय तह जित्दै कांग्रेस दोस्रो बनेको थियो। त्यतिबेला कांग्रेस  तीन/तीन अध्यक्ष/उपाध्यक्ष जितेको थियो । यो पटक कांग्रेसले आफ्नो अवस्था उल्लेख्य सुधार्‍यो । यो चुनावबाट माओवादी दोस्रो पार्टी बन्यो। अघिल्लो निर्वाचनमा माओवादी तेस्रो मात्रै थियो । दोस्रो पार्टी बन्ने क्रममा उसले चार स्थानीय तहको प्रमुख/अध्यक्ष जित्यो । माओवादीले उपप्रमुख/उपाध्यक्ष भने जित्न सकेन।  

अघिल्लो निर्वाचनमा सात स्थानीय तह जितेर पहिलो बनेको एमालेले यो चुनावमा सबैभन्दा बढी घाटा बेहोर्‍यो । पार्टी फुटले एमालेलाई नराम्ररी असर पुर्‍याउँदा कांग्रेस, माओवादीलाई राम्रै राजनीतिक लाभ मिल्यो। यो पटक एमाले पहिलोबाट गल्र्यामगुर्लुम झरेर तेस्रोमा खुम्चियो। एमालेले यसपटक तीन गाउँपालिका मात्रै जित्न सक्यो । बरु उसले चार उपप्रमुख/उपाध्यक्ष हात पार्‍यो।  

कांग्रेसले भोटेकोसी, त्रिपुरासुन्दरी, हेलम्बु र बाह्रविसे नगरपालिकामा प्रमुख/अध्यक्ष, उपप्रमुख उपाध्यक्ष दुबै पद जित्यो। मेलम्ची नगरपालिकाको प्रमुख जित्दा कांग्रेसले जुगल, बलेफी, र सुनकोसीमा उपाध्यक्ष लिन सफल भयो।  

माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा विजय हाँसिल गर्‍यो। त्यस्तै लिसंखुपाखर, बलेफी र जुगल गाउँपालिका अध्यक्ष जितेको माओवादीले एउटै उपप्रमुख/उपाध्यक्ष जित्न भने सकेन। एमाले फुटेर बनेको एकीकृत समाजवादीले चौतारा नगरको उपप्रमुख हात पार्‍यो । यहाँ माओवादी–समाजवादी गठबन्धन थियो।

एमालेले इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुबै पद जित्यो। उसले पाँचपोखरी रक्षा गर्दा इन्द्रावती नयाँ थपेको हो । माओवादीसँगको गठबन्धनका कारण सुनकोसी नगरपालिका अध्यक्ष जितेको एमालेले लिसंखुपाखरमा उपाध्यक्ष र मेलम्ची नगरमा उपप्रमुख हात पार्‍यो। 

गाउँ–गाउँमा सिंहदरवार सञ्चालन गर्ने अधिकार रहेको वडाध्यक्षमा पनि कांग्रेसले नै बर्चश्व कायम गरेको छ । यहाँका स्थानीय तहका १ सय ३ वडामध्ये कांग्रेस एक्लैले ५२ वडाध्यक्ष जितेको छ। एमालेले दोस्रो धेरै ३७ वडामा जित हाँसिल गरेको छ। स्थानीय तहको नेतृत्व बढाएको माओवादीले भने यसपटक वडा आधाले घटाएर ११ वटा मात्र जित्यो। राप्रपा, समाजवादी र स्वतन्त्र उम्मेदवारले एक÷एक वडाध्यक्ष जितेका छन्।  

अघिल्लो पटक एमालेले ४२, कांग्रेसले ३८, माओवादीले २१ र राप्रपाले दुईवटा वडा जितेका थिए। यस पटक कांग्रेसले १४ वटा वडा थप्दा एमालेले पाँच र माओवादीले १० वटा वडा गुमाए। दुबैले गुमाएको वडा थप्न कांग्रेस सफल भयो।  

एकलौटी जिसस बनाउन चुक्यो कांग्रेस

स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। स्थानीय तह संख्याका आधारमा सिन्धुपाल्चोकमा प्रमुख, उपप्रमुखसहित नौ सदस्यीय समन्वय समिति बन्ने छ। स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले समन्वय समिति चुन्न मतदान गर्न पाउँछन्। यसरी जिल्लामा समन्वय समिति चुन्ने निर्वाचनमा २४ मतदाता रहन्छन्। जिसस प्रमुख, उपप्रमुख र सदस्यमा चुनिन १३ मत आवश्यक पर्छ।  

पाँच प्रमुख/अध्यक्ष तथा सात उपप्रमुख/उपाध्यक्ष जितेको कांग्रेससँग एक्लै १२ मत छ। थप एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष जितेको भए कांग्रेस एक्लैले जिसस गठन गर्न सक्थ्यो। एमाले, माओवादीसँग पनि १२ नै मत छ। यी दुई पार्टी मिलेर पनि जिसस गठन हुँदैन। एक्लैसँग आधा मत रहेकाले कांग्रेसबिना जिसस बन्न सम्भव छैन।  

कांग्रेस एक्लैले पनि जिसस बनाउन सक्दैन। यस्तोमा कांग्रेससँग एमाले, माओवादीमध्ये एक दलले गठबन्धन गर्नैपर्छ। यस्तोमा प्रमुख र उपप्रमुख पद आफैँसँग राख्न कांग्रेसले एमाले, माओवादीसँग ‘लविङ’ तीव्र पार्न सक्छ। अथवा प्रमुख र धेरै सदस्य आफैँसँग राख्न कांग्रेससँग पर्याप्त ‘बार्गेनिक स्पेस’ रहेको छ। 

प्रकाशित: ६ जेष्ठ २०७९ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App