१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी मतगणना सुचारु गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मतदान अधिकृतको दस्तखत नभएको मतपत्र वदर गरी सुरक्षा प्रबन्ध मिलाएर मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ।  

निर्वाचन अधिकृतको कार्यालय धरानले पत्राचार गरेपछि आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। आयोगका उपसचिव ऋर्षिराम भुसालले बुधबार राती निर्वाचन अधिकृतको कार्यालयलाई एक पत्र पठाउदै मतगणना कार्य सुचारु गर्न निर्देशन दिएका छन्। आयोगले दस्तखत नगरी मतपत्र वितरण गर्ने मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको छ।  

उक्त पत्रमा दस्तखत नभएको मतपत्र वदर गरी सुरक्षा प्रबन्ध मिलाई मतगणना कार्य सुचारु गर्न पनि निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ। यस्तै, मतगणना सुचारु गर्न राजनीतिक दल तथा उम्मेदवार वा उनका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ वमोजिम गर्न पनि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ। उक्त दफामा प्रतिनिधिहरु उपस्थित नभएमा मतदान वा मतगणनाको काम नरोकिने, र यस्तो काम कानुन वमोजिम भएको मानिने पनि उल्लेख छ।  

आयोगले मतगणना प्रक्रियाको क्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाको प्रजिअलाई पनि आयोगले निर्देशन दिने निर्णय पनि गरेको छ। धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले आयोगको निर्णय पत्र प्राप्त भएको र त्यसबारेमा पुनः राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना कार्य सुचारु गर्न पहल भइरहेको बताए। अहिले निर्वाचन अधिकृत नेपालले धरानमा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन्।  

मतपत्रको बिषयले मतगणनास्थल तनावग्रस्त भएपछि सुरक्षाको लागि तैनाथ सेना, सशस्त्र र जनपद प्रहरी। र, सर्वपक्षीय, सर्वदलीय बैठक हुँदै। तस्बिरः रोहित/नागरिक

धरानको वडा नं २० को मतगणनाको क्रममा १८ वटा मतपत मतदान अधिकृतको दस्तखत नभएको भेटिएपछि विवाद भएको थियो। विवाद पछि मतगणना कार्य स्थगित भएर सर्वदलीय बैठक बैठक हुँदा मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको थियो। तर, मतगणना सकिदा ४ मतले माओवादी केन्द्रको वडाका अध्यक्ष उम्मेद्वार पराजित भएपछि पुनः माओवादी कार्यकर्ताहरुले विरोध प्रर्दशन गरेका थिए। दस्तखत नभएको १८ मतमध्ये ११ वटा भोट माओवादी केन्द्रको भएको दाबी गरिएको छ। माओवादीले मतपत्र सदर हुनुपर्ने, नभए पुनः मतदान गर्नुपर्ने माग गरेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ १५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App