२६ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

इटहरीमा मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमालेको अग्रता

भोक्राहा–नरसिंहमा काँग्रेस र देवानगञ्जमा जसपा विजयी

इटहरी उपमहानगरपालिकामा चुनाबी नजिता अनुसार गठबन्धनका मेयरका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता कामय गरेकी छन्।

इटहरीमा  वडा नं. १, ३, १८, १९ र  २० चारवटा वडाको मतगणना पूरा हुँदा र बाँकी पाँच वटा वडाको गणना चलिरहँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले बुधबार साँझसम्म १४ हजार ३३६ मत प्राप्त गरेका छन्।  

इटहरीमा मेयर–उपमेयर निर्णय गर्ने वडा वडा नं. २, ४ र ५ हुन्। यी तीनवटा वडा बढी मतदाता हुनु र एमालेको पकड भएको वडा हुन्। मतगणना चलिरहेका यी तीनवटै वडामा एमालेका मेयरका उम्मेदवार याम सुब्बाभन्दा पौडेलले बढी मत ल्याइ रहेका छन्। अहिलेसम्मको मत गणनाको नतिजा अनुसार एमालेका मेयरका उम्मेदवार याम सुब्बाले १२ हजार २१३ मत प्राप्त गरेका छन्। सुब्बाले प्राप्त गरेको मतभन्दा पौडेल दुई हजार १२३ मतले अग्रता कायमै राखेका छन्।  

इटहरी उपमहानगरपालिकाको उपमेयरमा भने एमालेका तर्फबाट संगीता चौधरीले अहिलेसम्म १३ हजार ७२० मत ल्याएकी छन्। गठबन्धनका उपमेयरका उम्मेदवार एकीकृत समाजवादीका केशवकुमार विष्टले आठ हजार ५३२ मत ल्याएका छन्। विष्टभन्दा चौधरीले पाँच हजार १८८ मतले अगाडि छीन्। एमाले मेयरका उम्मेदवारले प्राप्त गरेको मतसँग तुलना गर्दा उपमेयर चौधरीले एक हजार ५०७ मत बढी प्राप्त गरेकी छन्। 

इटहरीमा यसपटक कुल एक लाख ४ हजार ६२६ मतदातामध्ये ७३ हजार ७३२ मत खसेको छ।  अहिलेसम्म इटहरीमा दुईवडा वडा १ र २० नेपाली काँग्रेसले जितेको छ। तीनवटा वडा एमालेले जिति सकेको छ। एमालेले वडा नं. ३, १८ र १९ वडा प्यानलसहित जितेको छ।  

अहिलेसम्म सार्वजनिक भएको नतिजा अनुसार सुनसरीका चारवटा नगरपालिकामध्ये दुईवटामा काँग्रेस र दुईवटामा एमालेले अग्रता कायम राखेको छ। बराहक्षेत्र नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार रमेश कार्कीले चार हजार ९२८ मत ल्याउँदा एमालेका निलम खनालले तीन हजार ८०६ मत ल्याएका छन्। उपमेयरमा एमालेकी नन्दकुमारी सुनुवारले चार हजार १४९ मत ल्याएर अग्र स्थानमा छिन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमित गौतमले दुई हजार ८४० मत ल्याएका छन्। 

इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर दुवैमा अग्रता कायम छ। जसमा नेपाली काँग्रेसका मेयरका उम्मेदवार केदार भण्डारीले सात हजार ४४१ मत ल्याउँदा उममेयर विनिता मेहताले सात हजार ६०२ मत ल्याएकी छन्। एमालेका मेयरका उम्मेदवार सरोज पोखरेलले छ हजार ४९ मत ल्याएका छन भने उपमेयर प्रवीण साहजादीले छ हजार १९४ मत ल्याएकी छन्। रामधुनी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार शंकर चौधरीले १० हजार ३०१ ल्याउँदा नेपाली काँग्रेसका सुदिप अधिकारीले नौं हजार १३५ मत ल्याएर पछ्याइ रहेका छन। यस्तै, एमालेबाट उपमेयरमा तारा थापाले नौ हजार ७९२ मत ल्याउँदा नेपाली काँग्रेसकी आशा चौधरीले आठ हजार १९१ मत ल्याएकी छन्। 

दुहवीमा नेकपा एमालेका विनय पोखरेलले छ हजार ८४१ म्त ल्याउँदा नेपाली काँग्रेसका वेद गच्छदारले छ हजार १८६ मत ल्याएर पछ्याई रहेका छन्। यस्तै, उपमेयरमा नेपाली काँग्रेसकी मेनुका पोखरेलले पाँच हजार ८८५ मत ल्याउँदा एमालेसँग सहकार्य गरेका जनता समाजवादी पार्टीका सरोज सिंहले तीन हजार ३०८ मत ल्याएका छन्।  

अहिलेसम्म सुनसरीमा दुईवटा गाउँपालिका भोक्राहा नरसिंह र देवानगञ्जको नतिजा सार्वजनिक भइ सकेको छ। जसमा भोक्राहा नरसिंहमा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली काँग्रेसले जितेको छ भने देवानगञ्ज गाउँपालिकामा अध्यक्ष जनता समाजवादी पार्टी र उपाध्यक्ष नेपाली काँग्रेसले जितेको छ। अब नतिजा सार्वजनिक हुन बाँकी गाउँपालिकामध्ये कोशी र हरिनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस फराकिलो मत सहित अग्र स्थानमा छ। बर्जु र गढीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार फराकिलो मत सहित अग्र स्थानमा छन्।  

भोक्राहा–नरसिंहमा काँग्रेस र देवानगञ्जमा जसपा विजयी

सुनसरीको दुईवटा गाउँपालिकाको बुधबार सार्वजनिक भएको नजिता अनुसार एक गाउँपालिकामा नेपाली काँग्रेस  र एउटामा जनता समाजवादी पार्टीले जितेको छ। भोक्राहा–नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर अन्सारी विजयी भएका छन्। उनले चार हजार ९९३ मत ल्याएर विजयी भएका हुन्।

भोक्राहा–नरसिंह नेपाली काँग्रेसको पकड क्षेत्र भएपनि हरेक निर्वाचनताका एकापसमा नेता–कार्यकर्ताबीच समस्या हुँदै आएपनि यसपटक संगठीत भएपछि जित निकाल्न सफल भएको हो। यहाँ अन्सारीका निकटम प्रतिद्दन्दी नेकपा एमालेका महेन्द्रकुमार यादवले तीन हजार ६५५ मत ल्याए। २०७४ सालको निर्वाचनमा अन्सारीलाई यादवले नै हराएका थिए। यसपटक अन्सारीले यादवलाई हराउन सफल भए।

उपाध्यक्षमा नेपाली काँग्रेसकै सुनिताकुमारी उराव चार हजार २४६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटम प्रतिद्दन्दी पुनम मेहताले दुई हजार ८७९ मत ल्याएन्।

 २०७४ सालको निर्वाचनमा तत्कालिन फोरम नेपालका तर्फबाट प्रमुखमा महेन्द्र यादव र उपप्रमुखमा पुनम मेहता विजयी भएका थिए। यादव भने यसपटकको निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए।

देवानगञ्ज गाउँपालिकामा भर्खरै सार्वजनिक भएको चुनाबी नजिता अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्षका नेपाली काँग्रेसको उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा जनता समाजवादी पार्टीका वेचन यादव विजयी भएका हुन्। उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादव विजयी भएकी छन्। अध्यक्षमा विजयी यादवले ६८७४ र उपाध्यक्षमा विजयी कुमारीले ६११२ मत ल्याएर विजयी भएकी हुन्। अध्यक्षमा विजयी यादवको निकटम प्रतिद्दन्दी नेपाली काँग्रेसका श्यामलाल महत्तोले ६३६८ ल्याए। यस्तै, उपाध्यक्षमा विजयी कुमारीको निकटम प्रतिद्दन्दी जनता समाजवादी पार्टीकी आशमनीकुमारी यादवले ६०९७ मत ल्याइन्। २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस विजयी भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App