रौतहटको ६ पालिकामा बुधवार भएको पुनःमतदानमा करिब ८० प्रतिशत मतदाताले मत खसालेका छन्। गत वैशाख ३० मा भएको मतदानको क्रममा विभिन्न कारणले रौतहटको २४ मतदान केन्द्रको मतदान स्थगित भएकोमा बुधबार पुनः मतदान भएको हो।
रौतहटको गढीमाई, गरुडा, देवाही गोनाही, बौद्धिमाई र फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाको २४ मतदान केन्द्रमा बुधबार मतदान भएको हो। पुनःमतदान भएको जिल्लाको सबै ठाउँमा दिनभर वातावरण शान्तिपूर्ण रहेको र मतदानको क्रममा कतै कुनै विवाद नभएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।
सबै मतदान केन्द्र र वरिपरिको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना व्यापक मात्रामा परिचालन गरिएको थियो। रौतहटमा बुधवार भएको पुनः मतदानमा मतदाताहरुले व्यापक सहभागिता जनाएका छन्।
मतदान गर्न बुधबार बिहानैदेखि बुथमा मतदाताहरु लाइनमा बसेका थिए। जिल्लाको सबै मतदान केन्द्रमा दिउँसो दुई बजेसम्म मतदान केन्द्रहरु खाली भइसकेका थिए। जिल्लाको केही मतदान केन्द्रमा आफूले अनुगमन गरेको र मतदान गर्न पाउने अधिकारको शान्तिपूर्ण प्रयोग मतदाताले गर्न पाएको राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षक इन्द्रजीत सहनीले बताएका छन्।
पुनः मतदान सम्पन्न भइसकेको र मतपेटिकाहरु मतगणनास्थलमा ल्याइसकेपछि आजैदेखि मतगणनाको काम सुरु गरिने प्रजिअ शाहीले जानकारी गराएका छन्।
प्रकाशित: ४ जेष्ठ २०७९ १३:५५ बुधबार





-600x400.jpg)