कोहलपुर–२ का हिरालाल परियार मंगलबार राति १२ बजे मतगणनास्थलमा भेटिए। पहिलोपटक मताधिकार प्रयोग गरेका उनी कसले जित्छ भनेर सुन्न मतगणनास्थलमा पुगेका थिए। गाउँकै साथीहरुसँग आएका उनले रातभर मतगणनास्थलमै बस्ने गरेको बताए। ‘१० बजे घरबाट खाना खाएर आएको हो,’ उनले भने, ‘कसले जित्छ भन्ने उत्सुकता हुँदा रातभरि मतगणनास्थलमै हुन्छु।’
यसपटक उनी निर्वाचन प्रचारप्रसारमा पनि निकै सक्रिय भए। आफूलाई मन परेको उम्मेदवारलाई जिताउनका लागि हर प्रयास गरेको उनी बताउँछन्। ‘मैले मत दिएका उम्मेदवारले जितेमा म धेरै खुसी हुन्छु,’ उनी भन्छन्, ‘किन भने, सबैभन्दा पहिला मैले निःशुल्क शिक्षा पाउछुँ।’ परियार प्लस टु अध्ययन गर्छन्। यस्तै कोहलपुर–२ कै सुदास शाही पनि कोहलपुर नगर कार्यपालिकाको कार्यालयमा भइरहेको मतगणनास्थलमा भेटिए। आफू मतपरिणाम सुन्न आएको उनले बताए। उनले भने, ‘मेरो वडाको मतगणना भइरहेको छ। कसले जित्छ भनेर सुन्न आतुर छु। अब अन्तिम रिजल्ट कहिलेसम्म आउने हो। रातभरि यतै बसाइँ हुन्छ आज।’
उनले वडामा राम्रो मान्छे आउने आशा लागेको पनि बताए। विभिन्न पार्टीबाट उम्मेदवार बनेका सबै व्यक्ति राम्रा भए पनि तीमध्ये पनि असल व्यक्ति आएमा वडाको विकास हुने शाहीको भनाइ छ। अबको पाँच वर्षमा आफ्नो वडामा डुबान र बाटोघाटोको समस्या समाधान उनको आशा छ। मतगणनास्थलमै भेटिएका कोहलपुर–११ का धर्मलाल आचार्यले आफू घरमा एक्लै भएको र साथीले बोलाएकोले आएको बताए। यसपटक कोहलपुरमा कस्तो व्यक्ति आउँछ भन्ने प्रतीक्षामा रहेको उनी बताउँछन्।
परिवार, शाही र आचार्य मात्रै होइन कोहलपुरको मतगणनास्थलमा पार्टीका समर्थक र कार्यकर्ताहरुको बाक्लै भीड लाग्छ। मंगलबारबाट सुरु भएको मतगणनास्थलमा दिउँसो पनि उत्तिकै समर्थकको भीड हुन्छ। त्यस्तै अनुपातमा रातको समयमा पनि उनीहरुको खुल्ला ठाउँमा पाल ओछ्याएर, ढुंगाका रासमाथि बसेर होस् मोटरसाइकलमाथि सुतेर भए पनि किन नहोस्, मतपरिणामको बेग्र प्रतीक्षामा हुन्छन्। मंगलबार राति मतगणनास्थलमा पुग्दा सयौं संख्यामा मानिसहरुको उपस्थिति थियो। बृद्धबृद्धादेखि युवायुवतीसम्म कोहलपुरको मतगणनास्थलमा मानिसहरु जम्मा भएको देखिन्छन्।
मतगणनास्थल र बाहिर रहेका नेता कार्यकर्ताहरुको सुरक्षाको लागि बाक्लो संख्यामा म्यादी प्रहरी खटाइएको छ। कोहलपुरमा अहिलेसम्म तीनवटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १ मा माओवादी केन्द्र र वडा नम्बर १५ र २ मा नेपाली कांग्रेसले जीत हासिल गरेका छन्। कोहलपुरका निर्वाचन अधिकृत तीर्थराज भट्टले कोहलपुरमा जेठ ५ गतेसम्म अन्तिम नतिजा आउने बताए।
प्रकाशित: ४ जेष्ठ २०७९ १२:२४ बुधबार





-600x400.jpg)