सिन्धुलीका चार स्थानीय तहको नतिजा सार्वजानिक भएको छ। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सिन्धुलीको घ्यालेख गाँउपालिका, तीनपाटन गाँउपालिका हरिहरपुरगढी गाँउपालिका र गोलञ्जोर गाँउपालिकाको नतिजा सार्वजानिक भएको छ।
यहाँको घ्यालेख गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका जगतबहादुर भोलनले २१०२ मत प्राप्त गरि विजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका १३८३ मत मात्रै प्राप्त गरेका थिए।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शंकरमान घलानले २८८३ मत ल्याएर विजेता बनेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी प्रमिला वाइवाले १५२८ मत ल्याएकी थिइन्। यस्तै सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका बज्रध्वज वाइवाले अध्यक्षमा जितेका छन् भने नेपाली काँग्रेसका चेखबहादुर थिङ उपाध्यक्षमा निर्वाचित भएका छन्।
अध्यक्ष वाइवाले ४७२९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका मानबहादुर वाइवाले ३६१६ मत पाएका छन्। यस्तै उपाध्यक्षमा निर्वाचित चेखबहादुरले ७ हजार पाँच सय तीन मत प्राप्त गरेर विजय हासिल गरे भने नेकपा एमालेका निर्मला ठाडामगरले दुई हजार आठ सय ५५ मत प्राप्त गरिन्।
यस्तै सिन्धुलीको तीनपाटन गाँउपालिकामा नेपाली काँग्रेसका कर्णबहादुर मगर दोस्रो पटक गाँउपालिका अध्यक्षमा चुनिएका छन्। गठबन्धनबाट नेपाली काँग्रेसका थापामगर अध्यक्षमा पुन निर्वाचित भएका हुन्।
थापामगरले ९ हजार २ सय ३९ मत ल्याएर बिजयी बनेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४४ मत ल्याएका छन्। थापामगरले एकहजार एक सय ९५ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्।
नेकपा एमालेको किल्ला मानिने तीनपाटन गाँउपालिकामा २०७४ सालको स्थानिय निर्वाचनमा १९ मतान्तरणले एमालेका उनै छत्र दाहाललाई हराएर निर्वाचित बनेका थापामगर पुन दाहालसँग फराकिलो मतान्तरणले निर्वाचित भएका हुन्।
गाँउपालिका उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी बनेका छन्। उनले ८ हजार ३ सय ९९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी पदममाया तामाङले ७ हजार ९ सय ८ मत पाएकी थिइन्। उनि यसअघिको २०७४ सालको स्थानिय निर्वाचनमा उपाध्यक्षमै निर्वाचित भएकी थिइन्।
गठबन्धनलाई हराउदै एमालेका शंकर विजयी
सिन्धुलीको गोलञ्जोर गाँउपालिकामा नेकपा एमालेका शंकरराज बराल निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका पुष्पबहादुर कार्कीलाई हराउदै उनी अध्यक्षता निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित बरालले ४ हजार ७ सय ४४ मत सहित बिजयी बनेका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका पुष्पबहादुर कार्कीले ४ हजार ४ सय ६३ मत पाएका थिए।
पराजित बनेका कार्की यसअघि सोही स्थानिय तहको अध्यक्ष थिए। यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने(पुकार) विजयी बनेका छन्। उनले ४ हजार २ सय ४२ मत ल्याएका थिए भने निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी ममता देवकोटाले ३ हजार ८ सय ३८ मत पाएकी थिइन्। उपाध्यक्षमा निर्वाचित भएका न्यौपाने २०७४ सालमा अध्यक्षका उम्मेदवार थिए।
प्रकाशित: ४ जेष्ठ २०७९ ०६:३८ बुधबार





