१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

जीविकोपार्जन सुधारका लागि भैँसीपालन कार्यक्रम’

फाइल तस्वीर

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले बताए।

उक्त कार्यक्रम सञ्चालनका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट रहेको उनले बताए। भैँसीपालनलाई प्रवर्द्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।

उनले भने, “भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पुर्‍याउने कार्यक्रमको उद्देश्य हो। यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन्।”

कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापन लगायतमा किसानलाई अनुदान दिइने छ। अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० भैँसी पालेको हुनुपर्नेछ।  

प्रकाशित: १२ चैत्र २०८२ ०९:३२ बिहीबार