२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

गणकले नै बदमासी गरेपछि तिलोत्तमाको मतगणना स्थगित

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा  गणकले नै  बदमासी गरेपछि मतगणना कार्य रोकिएको छ। मत गणनामा खटिएका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाएको र सुर्य चिन्हमा आएको मत बढाएर अभिलेख राखेको पाइएपछि आज बिहानैदेखि मत गणना रोकिएको हो।

तिलोत्तमा नगरपालिकाका कर्मचारी गणक गणेस गौतमले सुर्य चिन्हमा आएको मत संख्याको अभिलेख राख्दा बढाउने र रुख चिन्हमा आएको मतलाई आएको मत भन्दा घटाउने गरेको गणना स्थलमा रहेका दलका प्रतिनिधिहरूले फेला परेका थिए। गणक गौतमले काँग्रेसका उम्मेदवारले पाएको १४१ मतको अभिलेख राख्दा घटाए रु ११४ बनाउने र एमालेलाई आएको १५९ मतको अभिलेख राख्दा बढाएर १९५ राखेको पाइएको मतगणना मा खटिएका दलका प्रतिनिधिहरुले बताएका छन्।

निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले पनि मत गणनामा खटिएका कर्मचारीबाटै गडबडी भएको स्वीकार गरेको छ। निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले मत गणनामा खटिएका कर्मचारीबाट कमजोरी भएको भन्दै त्यसलाइ सुधारेर अगाडि बढने बताए। लोहनीले मत गणनामा गडबडी गर्ने गौतमलाइ गणकबाट हटाउने नागरिकलाइ बताए। ‘कमजोरी फेला परेपछि हामीले ती गणक (कर्मचारी)लाइ सचेत गराइसकेका छौं,गणकमा अर्को व्यवस्था गर्ने तयारी पनि गरेका छौं’ लोहनीले भने। 

गणनामा खटिएका कर्मचारीले नै राजनीतिक रुपमा प्रभावित भइ मत संख्या तलमाथि गरेपछि तिलोत्तमा १६ को मत गणना सोमबार राती देखि नै रोकीएको थियो। वडा नं. २ को मत गणनामा पनि कर्मचारीले सोही गल्ती दोहोरयाएपछि आज (मंगलबार) बिहान देखि मतगणना रोकिएको छ।

गठबन्धनका ५ दल सहित राप्रपा र जनमुक्ति पार्टीका प्रतिनिधिले मत गणनामा एमाले निकटका कर्मचारी धेरै रहेको र तीनले जसरी पनि काँग्रेस सहित गठबन्धका उम्मेदवारलाइ हराएर एमालेका उम्मेदवारलाइ जिताउने प्रपञ्चमा लागेको आरोप लगाएका छन्।

मतगणना स्थल आज बिहानै देखि तनाव ग्रस्त छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा सहित राप्रपा र जनमुक्ति पार्टीले मतगणनामा बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने र मत गणना निश्पक्ष हुनु पर्ने माग गरेका छन। सात दलले पुन मतगणनाको माग गरेका छन भने एमालेले पुनः मत गणना गर्न मानेको छैन।

नेपाली काँग्रेसका तिलोत्तमा नगरसभापति हरिलाल पाण्डे,नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज बेलप्रसाद शर्मा,नेकपा एकिकृत समाजवादीका नगर इन्चार्ज कृष्ण प्रसाद भुसाल,जनता समाजवादीका व्यासमुन थारु,राष्ट्रिय जनमोर्चाका रुकबहादुर पराजुली,राष्ट्रिय जनमुक्ति पार्टीका राधिका श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन खनालले संयुक्त प्रेस विज्ञप्ती जारी गरी राष्ट्रसेवक कर्मचारीबाटै मतदाताहरुले मतदान मार्फत व्यक्त गरेको अभिमतको  सहि अभिलेख राख्नु पर्नेमा  अमृक  पार्टीको पक्षमा  गलत अभिलेख राखी अत्यन्तै गैरकानुनी र गैरजिम्मेबार काम गरेका भन्दै भ्रत्सना गरेका छन्।

उनीहरुले समम्पूर्ण मतपत्रको यर्थात छानविन गरी पुनः गणना गर्नु पर्ने माग जिल्ला निर्वाचन अधिकृत र निर्वाचन आयोग लगायत सम्बन्धित निकाय समक्ष गरेका छन।

यता नेकपा एमाले तिलोत्तमा नगर कमिटिले भने गठबन्धनका दलहरुले नियतबस मतगणना कार्यमा अवरोध गरेको भन्दै विज्ञप्ति निकालेको छ। एमाले नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले विज्ञप्ति निकालेर शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनबाट आउन सक्ने परिणामबाट त्रसित मत परिणामलाई आफनो पक्षमा पार्न षडयन्त्रमुलक रुपमा कार्य गरेको आरोप गठबन्धनका दलहरुलाई लगाएका छन्।  

विवाद सृजना भएपछि समाधानकालागि  बोलाइएको सर्बदलीय बैठकमा समेत  एमाले उपस्थित नभएपछि मतगणना कार्य अन्यौलमा परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तिलौत्तमा नगरपालिकामा मेयरमा गठबन्धका तर्फबाट काँग्रेसका रामकृष्ण खाण र एमालेका मोहन चापागाइ बिच तिब्र प्रतिस्पर्धी छ। झिनो मतान्तरले खाँण र चपागाँइ अघि पछि हुने गरेका छन्। १७ वटा वडा रहेको तिलोत्तमामा  दुइ वटा वडाको मतगणना  सकिदा काँग्रेस र एमालेले १/१ वटामा जित निकालेका छन्। वडा नं. १ मा एमाले विजयी भएको छ भने वडा नं. १७ मा नेपाली काँग्रेस विजयी भएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App