२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

लोपोन्मुख लेप्चा समुदायका राजकुमार वडाध्यक्ष निर्वाचित

रोङ गाउँपालिकाको वडा ४ मा वडाध्यक्ष जितेका लोपोन्मुख लेप्चा समुदायका राजकुमार लेप्चा।

इलामको रोङ गाउँपालिका ४ को वडाध्यक्षमा देशकै लोपोन्मुख लेप्चा समुदायका वडाध्यक्ष विजयी भएका छन्। नेकपा (एमाले)बाट उम्मेदवार बनेका लेप्चाले ४ सय १० मत ल्याए।  

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३ सय ४१ मत पाएका छन्। यो वडामा महिला वडा सदस्य एमालेबाट निर्विरोध भएकी थिइन्। बाँकी ३ सदस्य पनि एमालेले नै जितेको छ।  

विजयी भएपछि लेप्चाले स्थानीय सरकार सबै जाति, भाषा, धर्म, सम्प्रदायलगायतले अपनत्व गर्नुपर्नेखालको हुनुपर्ने बताए। ‘मैले लामो समयदेखि गाउँघरमा सामाजिक काम गरेको भएर पनि मतदाताले मलाई जिताइदिनुभएको छ,’ उनले भने, ‘म मेरो समुदायका लागि र त्यतिमात्रै नभएर वडाका सबै बासिन्दाका लागि सेवकको काम गर्छु।’  

उनले वडाका समस्या गाउँपालिकामा छलफल गरी समाधानको उपयुक्त बाटो पहिल्याउनेदेखि किसानले गाउँपालिकाबाट पाउने सेवा–सुविधामा सहजकर्ताको काम गर्ने बताए। ‘मलाई मेरो समुदायले मात्रै होइन, सबै वडाबासी मतदाताले जिम्मेदवारी दिनुभएको छ,’ उनले भने, ‘सबैका लागि काम गर्छु।’

 वैशाख ३० को स्थानीय तह निर्वाचनमा इलामका विभिन्न पालिकाबाट लोपोन्मुख लेप्चा समुदायका नागरिकले उम्मेदवारी दिएका थिए। सूर्याेदय ४ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उमेश लेप्चा पराजित भएका छन्। सूर्याेदय ५ को वडा सदस्यमा एमालेबाट उम्मेदवार बनेका आकाश लेप्चा (७२५) विजयी भएका छन्।  

सूर्याेदय वडा ७ को सदस्यमा नेकपा (एकीकृत समाजवादी)बाट मोहन लेप्चा उम्मेदवार बनेका छन् भने यही वडाको महिला सदस्यमा एमालेबाट बुद्धिमाया लेप्चाले मनोनयन दर्ता गराएकी छिन्। नेकपा (एस)बाटै सूर्याेदय वडा ८ को सदस्यमा रितेश लेप्चा र वडा १० को महिला सदस्यमा एमालेबाट तीर्थकुमारी लेप्चा उम्मेदवार बनेका छन्। यी वडाको गतगणना गर्न बाँकी छ।

रोङ गाउँपालिका वडा १ को सदस्यमा एमालेबाट उम्मेदवारी दिएका टिन्डु लेप्चा पराजित भए। वडा ५ को सदस्यमा एमालेबाटै कर्णबहादुर लेप्चा पनि उम्मेदवार छन्। यो वडामा गणनाका नतिजा आउन बाँकी छ।

स्थानीय तह निर्वाचन २०७४ इलामका विभिन्न पालिकामा ५ जनप्रतिनिधि चुनिएका थिए। उनीहरू वडा सदस्य र महिला वडासदस्यमा चुनिएका थिए। लेप्चा समुदायका अगुवा वीरबहादुर लेप्चा सूर्याेदय नगरपालिकाको नगरसभा सदस्य निर्वाचित भएका थिए। 

सूर्योदय नपा ४ को महिला वडा सदस्यमा शशीकला लेप्चा, वडा ५ को महिला वडासदस्यमा धनमाया लेप्चा, वडा ९ को वडासदस्यमा मनबहादुर लेप्चा विजयी थिए। वीरबहादुरसहित चारैजना त्यतिबेला नेकपा (एमाले)बाट निर्वाचित भएका थिए। माइजोगमाई गाउँपालिका २ को वडासदस्यमा नेपाली कांग्रेसको तर्फबाट सुकबहादुर लेप्चा विजयी बनेका थिए।  

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट टीकाराम लेप्चा र एमालेको तर्फबाट शकुन्तला लेप्चा समानुपातिक सूचीबाट संविधानसभा सदस्य बनेका थिए। लोपोन्मुख लेप्चा समुदायको मुख्य बसोबास सूर्याेदय र रोङमा छ। माइजोगमाईमा छिटफुट बसोबास छ। पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App