अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जिल्लामा जित हाँसिल गरेको एक मात्र बन्दीपुर गाउँपालिकामा यसपाली पराजित भएको छ। यहाँ माओवादीसँगै, नेकपा एमाले र नेपाली कांग्रेसको त्रिपक्षिय भिडन्त थियो।
गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पुर्णसिं थापालाई ६३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।
सुरेन्द्रले तीन हजार २२९ र पुर्णसिंले तीन हजार १६६ मत ल्याए। उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन्। गुरुङले तीन हजार २७ र प्रतिष्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन्।
१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो। अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो। यस पटक पनि पुरानौ अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए। तर पराजित हुनुपरेको छ। गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०७९ ०८:०७ मंगलबार





