गत शुक्रबार स्थानीयतह निर्वाचनकै क्रममा गोली लागेर मृत्युबरण गरेका कटारी नगरपालिका १० सोरुङछविसेका नविन भन्ने वीरबहादुर कटुवालको शव अन्त्यष्टि भएको छ।
प्रहरीको गोली लागेर ठाउँका ठाउँ ढलेका १८ वर्षीय कटुवालको ४ दिनपछि सोमबार दिउँसो पोष्टमार्टमपछि कटारीमा अन्त्यष्टि गरिएको हो।
सोरुङस्थित कालिका मावि केन्द्रमा मतदान कार्य सकिन लाग्दा साँझ ५ः०० बज्नै लाग्दा भएको बिबादमा प्रहरीले खोलेको फाईरिङमा छातिमा गोली लागेर उनको निधन भएको थियो। घटनास्थलै ढलेका उनलाई बचाउन प्रयास गर्दै अस्पताल लान हिडाइए पनि १ सय मिटर तल नपुग्दै प्राण गएको स्थानीयको भनाई छ।
उपचार गर्न नभ्याउँदै ज्यान गएपछि मतदानस्थलमै फर्काएर राखिएको कटुवालको शव पटकपटकको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति जुटाएपछि आईतबार साँझ उठाएर कटारी झारिएको थियो ।
पीडितपक्ष, निर्वाचन कार्याल, निर्वाचन अधिकृत, नगरपालिका, राजनीतिक दलका प्रतिनिधि र प्रशासन प्रहरीसमेतको सहभागितामा ५ बुँदे सहमतिसँगै उनको शव उठाइएको थियो। शवको पोष्टमार्टम कटारी अस्पतालमा गरेर सोमबारै अन्त्यष्टि गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले बताए। उनका अनुसार कटुवालसँगै घट्नामा गोली लागेर त्यहीँका अर्का १३ वर्षीय किशोर मोहन श्रेष्ठ घाईते भएका छन् । उनको उपचार काठमाडौंमा भईरहेको छ।
शव अन्त्यष्टि गरिए पनि मतगणना गर्ने विषय भने टुंगो लागिसकेको छैन। सोरुङसहित १४ वटै वडाका सबै केन्द्रबाट ल्याइएका मतपेटिका नगरपालिकामा सुरक्षित राखिएको बैठकमा सहभागी इप्रका प्रमुख डिएसपी राईले बताए।
उनका अनुसार मतगणना थाल्न सोमबार दिनभरजसो सर्वदलीय बैठक बसे पनि सहमति जुट्न सकेन । निर्वाचन अधिकृत राजकुमार राउत, राजनीतिक दलका प्रतिनिधिहरु, उम्मेदवार र सुरक्षाकर्मी सहभागी बैठकमा गणना थाल्ने विषयमा कुरा नलिमेको उनले बताए। दलका प्रतिनिधिबीच नै कुरा नमिलेपछि गणनाको मिति टुंगो नलागेको उनको भनाई छ।
निकै लामो समयसम्म बसेको बैठकमा मृतकको शव उठाउनुअघि अघिल्लो दिन भएको ५ बुँदे सहमति बमोजिम निश्पक्ष छानविन समिति गठन हुनुपर्ने माग सहभागीले उठाएका थिए। बैठकमा सहभागी नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले निर्वाचनको क्रममा एकजनको ज्यान गएको तथा एकजना घाइते भएकाले त्यस्तो विशिष्ट परिस्थितिमा स्वतन्त्र र निश्पक्ष छानविन समिति गठन नगरेसम्म गणना नगर्ने निर्णय भएको बताए। यो निर्णयसँगै कटारी नगरपालिकाको मतगणना कहिलेदेखि हुने भन्ने कुरा अन्यौल भएको छ।
यता सदरमुकाम त्रियुगा नगरपालिकाको पनि गणना रोकिएको छ। वडा नं. १२ मा रोकिएको मतदान प्रक्रिया सुचारु हुन नसकेपछि सिंगो नगरपालिकाको मतगणना रोकिन पुगेको हो। १६ वटा वडामध्ये अन्य सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भए पनि जनप्रेमी आधारभूत विद्यालयमा भईरहेको मतदान कार्य अधिकृतले बेईमानी गरेको आरोप लागेपछि स्थगित हुन पुगेको हो।
रोकिएको मतदान कार्य सुचारु गर्ने या त्यत्तिकै गणना गर्ने भन्ने टुंगो नलागेकाले गणना हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी खेमराज कोईरालााले मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएको र अर्को निर्वाचन अधिकृतको टुंगो नलागेकाले निर्णय हुन बाँकी रहेको बताए।
प्रकाशित: २ जेष्ठ २०७९ १५:०८ सोमबार





