गोरखाको चुमनुब्री गाउँपालिकाको मत गणना अझै सुरु हुन सकेको छैन। आईतबार बिहान मत पेटिका सबै गाउँपालिकाको केन्द्र सिर्दिबासमा संकलन भएपनि सर्वदलीय बैठकले मत गणना सुरु गर्ने निर्णय गर्न नसक्दा ढिलाई भएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए।
‘हामीलाई आयोगबाट गणनाको निर्देशन आउन बाँकी छ’ उनले भने, ‘आयोगको निर्देशन अनुसार प्रक्रियाअघि बढ्उँछौँ।’ माओवादी केन्द्रलेले मतदान केन्द्रमा फर्जी मत खसेको आशंकामा मतगणना गर्न नमानेपछि रोकिएको हो।
निर्वाचन अधिकृतको कार्यालयले भने उक्त केन्द्रमा कुनै समस्या नभएको र मतदान सम्पन्न भएको तीन दिन पछि मात्रै गुनासो आएको जनाएको छ। दुई दिनसम्म सर्वदलीय बैठक राखेर निर्णय गराउने प्रयास सफल नभएपछि आयोगमा निर्देशनका लागि पठाइएको छ।
तिब्बत सँग सिमाना जोडिएको यो गाउँपालिकामा सात वटा वडा छन्। सबैभन्दा टाढाको वडाबाट मत पेटिका गाउँपालिकाको केन्द्र सम्म ल्याउन तीन दिन पैदल हिड्नु परेको थियो।
दुईवटा नगरपालिका सहित ११ स्थानीय तह रहेको गोरखामा पाँचवटा गाउँपालिकाको मत गणना सकिएको छ अन्य पालिकाको चलिरहेको छ। चुमनुब्रीको भने सुरु हुन नसकेको हो।
प्रकाशित: २ जेष्ठ २०७९ १२:३० सोमबार