डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।
उनीहरू दुबैजना २०७४ को स्थानीय तह निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। उतिबेला डुम्रेल निर्वाचित भएका थिए। यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हाँसिल गर्दा डुम्रेलल २ हजार २४० मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि कांगे्रसकै निर्मला बोहरा ओली निर्वाचित भइन्। उनले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन्। सिंह निवर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टिका सिंहले ६ सय २६ मत प्राप्त गरे।
६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एकमा एमाले जित्यो। अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने, पाँचमा एमाले जितेको थियो।
यसपटक वडा नम्बर १ मा एमालेका लालबहादुर रोकायाको प्यानल विजयी हुँदा बाँकी वडामा कांग्रेसको प्यानल विजयी भए। जसमा वडा नम्बर २ मा मानबहादुर सिंह, वडा नम्बर ३ मा नवराज उपाध्याय, वडा नम्बर ४ मा जगतबहादुर सिंह, वडा नम्बर ५मा बहादुर साउँद र वडा नम्बर ६ मा दीपकबहादुर साउँदको प्यानल विजयी भएको छ।
प्रकाशित: २ जेष्ठ २०७९ १२:०२ सोमबार





