७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

भक्तपुर नगरपालिका ६ मा डा. हरिराम सुवाल वडाध्यक्षमा विजयी

राजनीति गर्ने व्यक्तिहरुले धेरै पढेलेखेका हुँंदैनन् भन्ने नेपाली मान्यतालाई गलत सावित गरिदिएका छन् भक्तपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित वडा अध्यक्ष डाक्टर हरिराम सुवाल।

पीएचडी गरेका उनी राजनीतिमा लामो समयदेखि सक्रिय छन् र त्यही कारण अहिले उनी वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ मा उम्मेदवारी दिइ उनले सोमबार विजयी हासिल गर्न सफल भएका हुन्।

उनी यसअघि पनि सोही पार्टीबाट सोही वडाको वडा अध्यक्ष निर्वाचित भएका थिए। उनको योग्यताको कदर गर्दै पार्टीले उनलाई फेरी पनि वडा अध्यक्षमा उम्मेदवारी दिन लगाएको हो र उनी पुनः विजयी हात पार्न सफल भएका हुन्। डा. सुवालको वडामा उनी मात्रै नभई उनको पूरै टिम नै विजयी भएको हो।

उनको टिमले अत्याधिक बहुमतले विजयी हासिल गर्न सफल भएको हो। डा. सुवालको मत तीन हजार बढी आएको छ भने उनको निकतम प्रतिद्वन्दीको मत तीन सयमा सिमित छ। वडा अध्यक्ष डा. सुवालले तीन हजार दुई सय २९ मत पाएका छन्।

उनका निकटम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका भूपेन्द्रप्रसाद नेपालीले तीन सय २२ मत पाएका छन्। डा. सुवाल आफै मात्रै बलियो अनि सक्षम उम्मेदवार होइन, अनुभवको हिसाबले, उमेरका हिसाबले उनका वडा सदस्य उनी भन्दा पाको छन्।

उनको टिममा नेमकिपाका पुराना नेता (पार्टी अध्यक्ष नागरायणमा विजुक्छें भन्दा नि पुरानो) गोविन्द दुवालसमेत वडा सदस्यमा विजयी भएका छन्। दुवाल नेमकिपाको तर्फबाट भक्तपुरका पूर्व राष्ट्रिय पञ्चायत (पञ्चायतकालमा अहिलेको संसद सदस्य जस्तो) सदस्य हुन्।

नेपालबाट पञ्चायतकालमा नेमकिपाबाट दुवाल नै पञ्चायत सदस्यमा उम्मेदवारी दिइ विजयी हुन्थे। नेपालमा प्रजातन्त्र पुनः स्थापनापछि मात्रै पार्टी अध्यक्ष विजुक्छें उम्मेदवारी दिइ संसद सदस्यमा प्रतिनिधित्व गर्दै आएका हुन्। पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा उठिरहेको बेला डा. सुवाल उदाहरण बन्न सफल भएका हुन्।

बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको हुन्छ नेताको भन्ने नेपाली मानसिकतालाई गतल सावित गरिदिएका हुन् डा. सुवालले। डा. सुवालले विद्यावारिधि गर्ने नेपालकै पहिलो वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएको बताइन्छ।

त्यतिमात्रै नभई डा. सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएको अनुमान छ। उनले त्रिभुवन विश्व विद्यालयबाटै तीन वटा विषयमा प्रविणता प्रमाणपत्र तह, तीन वटा विषयमा स्नातक र दुई वटा विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन्।

भक्तपुरको व्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन, उनले पोलिटिकल साइन्स र इतिहास गरी दुईवटा विषयमा स्नातकोत्तर गरेका हुन्।

साथै शिक्षा, कानून र मानविकी गरी तीनवटा विषयमा स्नातक तथा मानविकी, वाणिज्य र कानुन गरी तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका छन्। डा. सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए।

वडाध्यक्ष डा.सुवालले त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्बन्धी ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए। डा. सुवाल अहिलेदेखि राजनीतिमा सक्रिय होइन, उहिलेदेखि नै सक्रिय छन्।

उनी पार्टीको जनवर्गीय संगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’ को केन्द्रीय सचिव पनि हुन्। विद्यावारिधि उतीर्ण गरेसंगै डा.सुवाल नेमकिपामा धेर विषय अध्ययन गर्ने नेता समेत बनेका छन्। बाबु कृष्णनारायण र आमा विष्णु सुवालका दुई छोरामध्ये कान्छो छोराको रुपमा २०३४ साल मंसिर ९ गते चोछें भक्तपुरमा जन्मेका डा. सुवालका ३ दिदीबहिनी छन्।

पार्टीले भक्तपुरमा झण्डै २० वर्ष अगाडि लागू गरेको ‘एक घर, एक स्नातक’ को अवधारणा अनुसार पछिल्लो समयमा भक्तपुर नगरक्षेत्रमा कम्तीमा स्नातक तह उतीर्ण गर्ने शिक्षित युवाहरुको संख्या बढीरहेको छ भने उच्च शिक्षा (स्नाकोत्तर तह) अध्ययन गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App