१२ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

बागलुङका ४० वडाको मत परिणाम सार्वजनिक, गठबन्धनको वर्चश्व

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाममा  बागलुङमा पाँच दलीय गठबन्धनले वर्चश्व कायम गरेको छ। सोमबार बिहानसम्म पूर्ण रुपमा मत परिणाम सार्वजनिक भएका ४० वडामध्ये अधिकाँसमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

सार्वजनिक परिणाम अनुसार बागलुङमा नेपाली काँग्रेसका १८, नेकपा माओवादी केन्द्रका १०, एमालेका ६, राष्ट्रिय जनमोर्चाका ५ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना वडाध्यक्ष निर्वाचित भएका छन्। बागलुङ नगरपालिकाको वडा चार वडाको परिणाम सार्वजनिक भएकोमा चार वटैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  

बागलुङ नगरपालिकाका १ मा काँग्रेसका जयबहादुर केसी, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीका सुरज बोसेल, वडा नम्बर १३ मा काँग्रेसका नारायण शर्मा पौडेल र १४ मा काँग्रेसकै चक्रबहादुर खत्री विजयी भएका छन्। नगर प्रमुख र उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। 

प्रमुखमा गठबन्धन तर्फका काँग्रेसका बसन्त कुमार श्रेष्ठले ४१४५ मत ल्याउँदा एमालेका जनकराज पौडेलले १९५४ मत ल्याएका छन्। उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले ३५८२ मत ल्याउँदा राप्रपाका सञ्जय खड्काले १७१३ मत पाएका छन्। गलकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुख गठबन्धनले जितेका छन्।  

नगरप्रमुखमा काँग्रेसका भरत शर्मा गैरे र उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन्। ११ वडाध्ये ७ वडामा काँग्रेस, २ मा माओवादी केन्द्र र १ मा राष्ट्रिय जनमोर्चा तथा १ मा नेकपा एमाले विजयी भएका छन्। जैमिनी नगरपालिकामा ३ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा  वडा नम्बर १० मा राजमो, वडा नम्बर ९ मा एमाले र वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। नगर प्रमुख उपप्रमुखमा गठबन्धनका उम्मेदवार झण्डै तेब्बर मतले अगाडि छन्। गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले नगर प्रमुखमा ४६९२ मत ल्याउँदा एमालेका लिला रानाले १५५१ मत पाएका छन्।  

उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले ४६७८ मत ल्याएका छन् भने एमालेकी उषा पौडेलले १५३४ मत पाएकी छिन्। जिल्लाको ढोरपाटन नगरपालिकाको ४ वटा वडाको नतिजा सार्वजनिक हुँदा २ मा नेकपा एमाले र २ मा गठबन्धनका उम्मेदवार विजयी भए। वडा नम्बर ६ र ९ मा एमाले, वडा नम्बर ८ मा माओवादी र वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्ष निर्वाचित भए। नगरप्रमुखमा एमालेका देवकुमार नेपाली अगाडि छन्। उनले २१४६ मत पाएका छन् भने माओवादी केन्द्रका चन्द्र अर्यालले २०५७ मत ल्याएका छन्।

उपप्रमुखमा नेपाली काँग्रेसका धनबहादुर कायतले २५४९ मत ल्याउँदा एमालेबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चा विद्रोही समुहकी ताराकुमारी पुनको १६२२ मत छ। निसीखोला गाउँपालिकाको चार वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १ र ४ मा नेपाली काँग्रेस, वडा नम्बर २ मा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनका काँग्रेसबाट सूर्यबहादुर घर्तीले २८२३ मत ल्याउँदा एमालेका भूमिराज घर्तीले १२७८ मत पाएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका प्रेमबहादुर घर्तीले २५३१ मत पाएका छन् भने एमालेकी भाटु चन्दले १५३८ मत पाईन्।

तमानखोला गाउँपालिका अध्यक्ष उपाध्यक्ष नै नेपाली काँग्रेसले जितेको छ। जिल्लाभर गठबन्धन हुँदा तमानमा भने भिन्दा भिन्दै प्रतिस्पर्धा भएको थियो। नेपाली काँग्रेसका जोकलाल बुढा गाउँपालिका अध्यक्ष र हिराकुमारी छन्त्याल उपाध्यक्षमा विजयी भए। तमानका ६ वटा वडामध्ये ३ मा काँग्रेस र ३ मा माओवादी विजयी हुँदा एमाले तमानखोलामा क्लिन स्वीप भएको छ। वडा नम्बर १, २ र ४ मा माओवादी र ३, ५ र ६ मा काँग्रेस विजयी भएका छन्। गत निर्वाचनमा तमान ४ मा वडाध्यक्ष जितेको एमाले अहिले माओवादीसंग पराजित भएको छ। ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक हिमाल र उपाध्यक्षमा नेपाली काँग्रेसका भीमबहादुर रोका विजयी भएका छन्।  

पाँच वडामध्ये पाँच वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बरेङ गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ५ का मत परिणाम सार्वजनिक भएको छ। १ मा राजमो र ५ मा काँग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनबाट राजमोका कृृष्णप्रसाद शर्माले २७६१ मत पाउँदा एमालेका प्रदिप थापाले १११९ मत पाएका छन्। उपाध्यक्षमा काँग्रेसका दिलीपकुमार पुनले २७९० मत ल्याएर अग्रता कायम गरिरहेका छन्। बडिगाड गाउँपालिकामा वडा नम्बर १ को मात्रै अन्ति परिणा सार्वजनिक भएको छ। त्यहाँ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्।  

पालिका अध्यक्ष काँग्रेसबाट गण्डकी थापा अधिकारीले १३६० मत ल्याउँदा एमालेका राजन पाईजाले १०२८ मत ल्याएका छन्। उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १३५५ मत सहित अग्रता कायम गर्दा एमालेकी मिनाकुमारी माझीको १००० मत रहेको छ। काठेखोला गाउँपालिकाका ३ वडामा मत परिणाम सार्वजनिक हुँदा २ मा एमाले र १ मा काँग्रेस उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा काँग्रेस, वडा नम्बर २ र ३ मा एमाले विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका राजु थापाले २३९९ मत सहित अग्रता कायम गरेका छन्।  

एमालेका डिलबहादुर कार्कीको २१६५ रहेको छ। उपाध्यक्षमा भने एमालेकी कोपिला पुनले २१८२ मतका साथ अग्रता बनाएकी छिन्। राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलकको २१०३ मत प्राप्त रहेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App