४ वैशाख २०८१ मंगलबार
निर्वाचन विशेष

गलकोट नगरपालिकाः काँग्रेस प्रमुख र माओवादी उपप्रमुखमा विजयी

जिल्लाको गलकोट नगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। गलकोट नगरप्रमुखमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे र उपप्रमुखमा माओवादीका फमलाल निउरेर विजयी भएका हुन्।

शर्माले ५४१४ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि नगर प्रमुखमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण काउचाले ३५१९ मत पाएका छन्। उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरेले ६०३९ मत पाउँदा प्रतिस्पर्धी एमालेकी रुपमा विकले ३०५७ मत पाएकी छिन्। नेपाली काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी मञ्जु शर्मा चालिसले ३२६२ मत ल्याइन्।

उपप्रमुखमा माओवादी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका तिलक उप्रेतीले १९८१ मत पाए। गलकोट नगरपालिकाका ११ वडामध्ये १० वडामा गठबन्धनका उम्मेदवार विजयी हुँदा एउटा वडामा नेकपा एमाले विजयी भएको छ।

वडा नम्बर ११ को रिघामा नेकपा एमालेका उम्मेदवार डम्बर श्रीसले गठबन्धनतर्फका राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई पछि पार्दै विजयी भए। वडा नम्बर १० मा नेपाली काँग्रेसका भक्त काउचा, वडा नम्बर ९ मा काँग्रेसकै तेजबहादुर थापा, वडा नम्बर ८ मा काँग्रेसका तेजप्रसाद सापकोटा वडाध्यक्ष पदमा विजयी भएका छन्।

वडा नम्बर ७ मा माओवादी केन्द्रका राजबहादुर थापा ९ मतले वडाध्यक्षमा विजयी भए। उनलाई गठबन्धनमा विद्रोह गरेको काँग्रेस कार्यकर्ताको स्वतन्त्र उम्मेदवार कडा टक्कर दिएका थिए। वडा नम्बर ६ मा माओवादी केन्द्रका रामप्रसाद कँडेल, वडा नम्बर ५ मा काँग्रेसका पवन हमाल, वडा नम्बर ४ मा काँग्रेसका बलबहादुर खत्री, वडा नम्बर ३ मा काँग्रेसका फमबहादुर खत्री, वडा नम्बर २ मा काँग्रेसका हिमबहादुर भण्डारी र वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाका लालबहादुर राना विजयी भएका छन्।  

गत स्थानीय निर्वाचन जितेको वडाहरुमा अहिले पनि दलहरुले आफ्नो जित पक्का गरेका छन्। गठबन्धन गरेका कारण गत निर्वाचनमा उपप्रमुख पनि जितेको काँग्रेसले यस पटक गठबन्धनका साझेदार माओवादी केन्द्रलाई उपप्रमुख दिएको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App