पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्याएका हुन्।
हालसम्म ८ हजार ६ सय ९३ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार ४ सय ६५ मत ल्याएर अग्रता बनाएका छन्। उनलाई नेकपा एमालेका कृष्ण थापाले ३ हजार १ सय ८ मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै राप्रपाका शंकर खरालले ४ सय ६२ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ सय १२ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले झिनो मतको अग्रता कायम राखेकी छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी काँग्रेस उम्मेदवार उनले नेकपा एमालेकी मञ्जुदेवी गुरुङलाई २५ मतान्तरले पछि पारेकी छन्। रानाभाटले हालसम्म ३ हजार ६ सय मत ल्याएकी छन्। एमालेकी गुरुङले ३ हजार ५ सय ७५ मत प्राप्त गरेकी छन्। राप्रपाकी रञ्जना सेनले ४३२ मत प्राप्त गरेकी छन्।
पोखरा–१ को वडाध्यक्षमा एमालेका प्रधान विजयी
पोखरा महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका सहारा प्रधान विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान विजयी भएका हुन्।
विजयी प्रधानले १ हजार १ सय ४५ मत पाए भने पराजित गुरुङले १ हजार १ सय ४ मत पाइन्।
वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुला सदस्यमा काँग्रेस विजयी भएका छन्। खुला सदस्यतर्फ एमाले ऋषिराम पौडेल र काँग्रेसका रामजीप्रसाद पौडेल विजयी भएका छन्। यसैगरी महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्यमा सुकमाया दमाई निर्वाचित भएका छन्।
पोखरा–२ को वडाध्यक्षमा प्रधानाङसहित कांग्रेसको प्यानल नै विजयी
पोखरा महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानागसहित नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। आज बिहान सम्पन्न मतगणनामा प्रधानांग आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै विजयी भएका हुन्।
विजयी प्रधानांगले ९३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी दीपक शाहले ६६१ मत प्राप्त गरेका छन्।
खुला सदस्यमा नेपाली काँग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा विजयी भएका छन्।
प्रकाशित: २ जेष्ठ २०७९ ०३:३६ सोमबार





