काठमाडौँ बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघिसम्मकाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिएकाे निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गरेका छन्। उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो।
यस्तै, उपप्रमुखमा पनि कांग्रेसकी उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गरेकी छन्।
बूढानीलकण्ठ–४ मा कांग्रेसको प्यानल नै विजयी
बूढानीलकण्ठ नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा कांग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडाको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार श्रीराम केसीले १२५९ मत ल्याई विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्र खड्काले ८०२ मत प्राप्त गरे।
यस्तै वडासदस्यमा कांग्रेसका उम्मेदवारद्वय पवन कार्की १२२४ र कृष्ण खत्री ११८५ मत ल्याएर विजयी भएका छन्। यसैगरी महिला सदस्यमा कांग्रेसकी सुमिता खड्काले ११९७ र दलित महिला सदस्यमा कांग्रेसकै मञ्जु परियारले १२३० मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृत भट्टराईले बताए।
कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठमा ३४ हजारभन्दा बढी मत खसेको थियो। उक्त नगरपालिकामा १३ वडा छन्।
प्रकाशित: २ जेष्ठ २०७९ ०२:४३ सोमबार





