१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

पोखरामा नेकपा एस, माछापुच्छ्र र अन्नपूर्णमा कांग्रेस तथा मादी र रुपामा एमालेको अग्रता

कास्कीमा मिश्रित परिणाम आउने देखिएको छ। कास्कीका पाँच पालिका मध्ये एउटामा नेकपा एकीकृत समाजवादी तथा नेपाली कांग्रेसले ३ र नेकपा एमालेले १ वटा पालिकामा अग्रता लिएका छन्। 

पछिल्लो मतपरिणाम अनुसार पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र मादी गाउँपालिकामा नेपाली कांग्रेस तथा रुपा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका हुन्।

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले झिनो मतले अग्रता कायम राखेका छन्। पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन्। मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत प्राप्त गरेका छन्।

उपमेयर पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ सय ३३ मतान्तरले अग्रता कायम राखेकी छन्। रानाभाटले ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन्। उनकी प्रतिष्पर्धी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५ सय ८३ मत प्राप्त गरेर पछ्याईरहेकी छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ९८ मत प्राप्त गर्दा अटेरी उम्मेदवार गनेस पौडेलले ३६ मत प्राप्त गरेका छन्। पोखरा महानगरपालिकाको वडा नम्बर १ मा ७ सय, वडा नम्बर १२ मा ८ सय र वडा नम्बर २ मा ४ सय मत गणना भइसकेको छ। अब वडा नम्बर २३ को मतगणना सुरु गर्ने तयारी छ।

पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १३ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। यसअघि पोखरा महानगरपालिका नेकपा एमालेले जितेको थियो।

अन्नपूर्णमा कांग्रेसका कुँवरलाई झिनो मतान्तरले अग्रता

कास्कीको अन्नपूर्ण गाउँपालिकामा २ हजार ५ सय मतगणना हुँदा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता लिएका छन्। अन्नपूर्ण गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका कुँवरले प्रतिष्पर्धी नेकपा एमालेका विष्णुबहादुर केसी भन्दा १६ मतान्तरले अग्रता लिएका हुन्। कुँवरले १ हजार १ सय ८१ मत प्राप्त गर्दा केसीले १ हजार १ सय ६५ मत ल्याएर पछ्याईरहेका छन्। यो अघिल्लो पटक कांग्रेसले नै जितेको गाउँपालिका हो। यसअघि गाउँपालिका प्रमुख रहेका कुँवरलाई नै नेपाली कांग्रेसले यसपटकपनि उम्मेदवार बनाएको छ।

माछापुच्छ्रेमा कांग्रेसका गुरुङको अग्रता

माछापुच्छ्रे गाउँपालिकामा ८ हजार मतगणना हुुँदा नेपाली कांग्रेसका मीनबहादुर गुरुङले प्रमुख पदमा अग्रता कायम राखेका छन्। उनले प्रतिष्पर्धी विक्रम गुरुङलाई ३ सय २४ मतान्तर बनाउँदै अग्रता लिएका हुन्। कांग्रेसका मीनबहादुरले ३ हजार ९ सय ३० मत प्राप्त गरेर अग्रता लिएका छन्। प्रतिष्पर्धी नेकपा एमालेका विक्रम गुरुङले ३ हजार ५ सय ६ मत प्राप्त गरेर पछ्याईरहेका छन्।

त्यस्तै, उपप्रमुख पदमा कांग्रेसकी सीता अधिकारीले ३ हजार ५ सय ६६ मत ल्याएर अग्रता लिएकी छन्। उनले प्रतिष्पर्धी सीता तिवारीलाई ३ सय ११ मतान्तरले पछि पार्दै अग्रता कायम राखेकी छन्। तिवारीले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन्। यसअघिको चुनावमामाछापुच्छ्रे गाउँपालिका नेकपा एमालेले जितेको गाउँपालिका हो।

मादीमा कांग्रेसका गुरुङको अग्रता

मादी गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता लिएका छन्। गठबन्धनका तर्फबाट प्रमुख पदमा उठेका उनले नेकपा एमालेका शिव गुरुङको भन्दा ५२ मत बढी ल्याउँदै अग्रता कायम राखेका हुन्। कांग्रेसका देवीजङ्ग गुरुङले ७ सय ५९ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र)ले ७०७ मत ल्याएर पछ्याईरहेका छन्।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी कल्पना गुरुङले ७१० मत ल्याएर अग्रता लिएकी छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार लालबहादुर गुरुङले ६०८ मत ल्याउँदै पछ्याईरहेका छन्। यसअघि एमालेले जितेको गाउँपालिका हो यो।

रुपामा एमालेका ओझाको अग्रता

रुपा गाउँपालिकामा भने एमालेका नवराज ओझाले अग्रता लिएका छन्। उनले नेपाली कांग्रेसका गिमाया गुरुङलाई ३१ मतान्तरले पछि पार्दै अग्रता लिएका हुन्। एमालेका ओझाले १ हजार ६ सय ७६ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ६सय ४५ मत ल्याएर पछ्याईरहेकी छन्।

उपप्रमुखमा कांग्रेसका नारायणकुमार श्रेष्ठले १९० मतले अग्रता लिएका छन्। श्रेष्ठले १ हजार ६सय १४ मत ल्याएर अग्रता बनाउँदा एमालेकी लालसुब्बा गुरुङले १ हजार ४ सय २४ मत ल्याएर पछ्याईरहेकी छन्।

यसअघि नेकपा एमालेले जितेको गाउँपालिका हो यो। अघिल्लो पटक प्रमुख पदमा बिजयी ओझा र उपप्रमुख पदमा बिजयी गुरुङलाई नै एमालेले यसपटकपनि उम्मेदवार बनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App