प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ९० हजार ४४५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
४ लाख ५३ हजार ६४५ मतदाता रहेको सिरहामा १ लाख ५८ हजार ५७७ महिला र १ लाख ३१ हजार ८६८ पुरुषले मतदान गरेका छन्। अस्थायी मतदान केन्द्रतर्फ सिरहा कारागारमा ६ महिला र ८२ पुरुष तथा नन्द बक्स गण चोहर्वामा ८ महिला र ९२ पुरुषले मतदान गरेका छन्।
निर्वाचन क्षेत्रअनुसार मतदानको विवरण
सिरहा–१ : ३८ हजार १५२ महिला र ३२ हजार ६१३ पुरुष गरी ७० हजार ७६५ मत
सिरहा–२ : ३९ हजार ३९० महिला र ३३ हजार ७८३ पुरुष गरी ७३ हजार १७५ मत
सिरहा–३ : ४२ हजार ६७२ महिला र ३३ हजार ७५८ पुरुष गरी ७६ हजार ४३० मत
सिरहा–४ : ३८ हजार ३६३ महिला र ३१ हजार ७१४ पुरुष गरी ७० हजार ७७ मत
चार निर्वाचन क्षेत्र रहेको सिरहामा ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। त्यसमध्ये सिरहा–१ मा १ लाख ११ हजार ९४९, सिरहा–२ मा १ लाख १५ हजार ७६०, सिरहा–३ मा १ लाख १९ हजार २५० र सिरहा–४ मा १ लाख ६ हजार ६८६ मतदाता रहेका छन्।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका ५३ जना र ८५ जना स्वतन्त्र गरी कुल १३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये राजनीतिक दलबाट ३ जना र स्वतन्त्रबाट ५ जना गरी ८ जना महिला उम्मेदवार रहेका छन्।
निर्वाचनका लागि जिल्लाभर २ अस्थायी मतदानस्थलसहित २२५ मतदानस्थल र ५३८ मतदान केन्द्र स्थापना गरिएको थियो। निर्वाचन सम्पन्न भएसँगै आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाभर समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। उनले भने, “जिल्लाभर समग्रमा शान्तिपूर्ण ढंगले मतदान भएको छ।”
प्रकाशित: २१ फाल्गुन २०८२ २२:११ बिहीबार





