घटना एक
जनकपुर सुगाकी ३८ वर्षीया सरू अन्सारी (नाम परिवर्तन) को डेढ वर्षअघि महिनावारी गडबडी भयो । जनकपुरमा चिनेको चिकित्सककहाँ स्वास्थ्य परीक्षण गर्न उनी पुगिन् । यो समस्या देख्ने बित्तिकै डाक्टरले शल्यक्रिया गरेर पाठेघर निकाल्न सुझाए ।
स्वास्थ्यमा समस्या आउने भएपछि उनी चिकित्सकको सुझावअनुसार शल्यक्रिया गर्न तयार भइन् । गएकै अस्पतालमा उनको पाठेघरको शल्यक्रिया भयो । शल्यक्रियालगत्तै उनमा नयाँ समस्या देखिन थाल्यो । पाँच दिनमै पिसाव चुहिन थाल्यो । उनले यो समस्या आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई बताइन् । चिकित्सकले पाइप लगाएर घर पठाए । पाइप लगाए पनि समस्या यथावत् रह्यो ।
बिस्तारै निको हुन्छ भन्दै चिकित्सकले आलटाल गरे । तर उनमा कुनै सुधार भएन । समस्या बढेर ज्वरो आउने, पेट दुख्ने, सास फेर्न गाह्रो हुने र बेहोससमेत हुने भयो । समस्या बढेपछि पुनः परिवारले सोही अस्पताल पुर्याए । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) नभएको भन्दै कि भारत जान या धरानस्थित बिपी कोइराला अस्पतालका लागि सिफारिस गरे । अस्पतालले एम्बुलेन्समा धरान पठायो । त्यतिञ्जेलमा उनी सिकिस्त भइसकेकी थिइन् ।
उनको स्वास्थ्य गम्भीर भइसकेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अन्सारीको पाठेघरको शल्यक्रिया गर्दा पिसाव थैली काटिएर प्वाल परेको थियो । अस्पताल पुगेपछि उनलाई पाँच दिन आइसियुमा राखेर उपचार गरियो । त्यसपछि मात्र शल्यक्रियाको योजना बनाए । डेढ वर्षअघि उनको बिपी कोइराला अस्पतालका फिस्टुला तथा स्त्री रोग सर्जन डा. मोहनचन्द्र रेग्मीको टोलीले शल्यक्रिया गर्यो ।
घटना दुई
काठमाडौँस्थित नयाँ बानेश्वरकी ६० वर्षीया नन्दा श्रेष्ठ (नाम परिवर्तन) विगत ११ वर्षदेखि पिसाव चुहिने समस्याले हैरान छिन् । उनको पाठेघरमा समस्या भएपछि तत्कालीन समय नेपाल मेडिकल कलेजमा शल्यक्रिया गरी पाठेघर निकालिएको थियो । पाठेघर निकालेपछि यति धेरै पिसाव चुहियो कि उनले सम्हाल्न सक्ने स्थिति नै रहेन । ‘दिनको चारवटा प्याड भिज्थ्यो, घण्टैपिच्छे कपडा फेर्नुपर्थ्यो’– उनले भनिन् ।
त्यसपछि उनी सोही अस्पतालमा उपचारका लागि पुगिन् । पछि उनी मेडिकल कलेजकै चिकित्सकको सिफारिसमा काठमाडौँ मेडिकल कलेज पुगिन् । यो अस्पताल पुगेको पनि दश वर्ष भयो । पहिलोपटक डा. दंगालको समूहले शल्यक्रिया गरेर चुहिएको भाग टाले । तर अहिलेसम्म निको भएको छैन । टालेपछि पनि फेरि थोरै–थोरै गरी पिसाव चुहिने समस्या कम भएन । उनी यो अस्पताल पटक–पटक पुगेकी छिन । यो पटक पनि उनको चुहिने भाग टाल्न फेरि शल्यक्रिया भएको छ ।
घटना तीन
काठमाडौँस्थित सतुंगलकी ५५ वर्षीया चन्द्रकुमारी श्रेष्ठको गत जेठमा पाठेघर दुख्यो । दुखेपछि उनी उपचारका लागि पाटन अस्पताल पुगिन् । चिकित्सकले पाठेघरमा ट्युमर पलाएको भने । त्यसपछि चिकित्सकको ‘सल्लाह’ अनुसार पाठेघर निकालेर फाले । यो शल्यक्रिया भएको ९ दिनमा उनको डिस्चार्ज भयो । घर पुग्नेबित्तिकै असमान्यरूपमा पिसाव चुहियो । ‘दिनमै तीन-चारवटा डाइपर लगाएर बस्थेँ, नत्र पिसाव धेरै चुहिन्थ्यो’– उनले भनिन् । यतिसम चुहिन थाल्यो कि खप्नै नसकेर उनी लगत्तै पाटन अस्पताल पुगिन् । त्यहाँ आफ्नो नयाँ समस्याबारे जानकारी गराइन् । चिकित्सकले फेरि शल्यक्रिया गरेर टाल्ने बताए ।
यो पनि पढ्नुहोस्
नेपालको नयाँ चुनौती : दैनिक ५०० मेगावाट विद्युत् खेर
यो कुरा सुनेपछि श्रेष्ठको मनमा चिसो पस्यो– ‘फेरि झन् बिगार्ने हुन् कि ?’ उनले पाटनमा दोस्रोपटक शल्यक्रिया नगर्ने निधो गरिन् । फर्केर घर गइन् । पहिलो शल्यक्रियाको घाउ पुरै निको हुन बाँकी थियो । आफ्नो शरीर पनि पूरा तन्दुरुस्त भइसकेको थिएन । समस्या साथैमा राखेर तीन महिना आराम गरिन् । यो अवधिमा उनले न आफन्त न त छिमेकीसँगै भेटघाट गरिन् ।
भेटघाट भएका सीमित साथीसंगीले मोडेल अस्पतालमा यस्तो उपचार हुने सुनाए । सोहीअनुसार उनी मोडेलमा आइपुगिन् । अहिले उनको शल्यक्रिया भइसकेको छ ।
घटना चार
काभ्रेपलाञ्चोकको नमोबुद्धकी २८ वर्षीया सानु तामाङ (नाम परिवर्तन)को १४ वर्षको उमेरमा विवाह भयो । विवाहलगत्तै गर्भवती बनिन् । उनलाई लामो सुत्केरी व्यथा लाग्यो । पेटभित्रै बच्चाको मृत्यु भयो । प्रसूतिलगत्तै असामान्यरूपमा पिसाव चुहिन थाल्यो । उपचारका लागि अस्पताल पुगिन् । अस्पतालमा पाठेघर फोहोर छ भन्दै सफा गरिदिए । पाठेघर सफा मात्र गरेको भए पनि घर-परिवारले पाठेघर निकालेको हल्ला चलाए ।
पाठेघर नभएको भन्दै श्रीमानले पनि उनलाई छाडे । आफ्नो स्थिति असामान्य भएपछि तामाङले चौध वर्षसम्म वेहालमै जिन्दगी बिताइन् । न गर्भको शिशु साथमा, न पति, न त स्वास्थ्य नै ठीक अवस्थामा । जिन्दगीमा एकैपटक आइपरेको यो दुःख सामना गर्न उनी माइतीको शरणमा पुगिन् । माइती न हो, दाइ–भाउजूबाट पनि हेलाँ मात्र मिल्यो ।
‘धेरै पिसाव चुहिएको देखेर माइतीले पनि हेला गर्थे’ उनले भनिन् । ‘यति पिसाव चुहिन्थ्यो कि दिनमै दुई-तीनपटक लुगा फेर्नुपर्थ्यो’– उनले दुखेसो गरिँन् । पिसाव लगातार चुहिने भएकाले घरदेखि केही टाढा आफन्तको घरमा समेत जान सकिनन् । धेरै पानी पिएमा त झन् धेरै पिसाव चुहिन्थ्यो । त्यसपछि उनले पानी पनि तिर्खा मेटिने गरी टन्न पिउन पाइनन् । यसरी पानीको मात्रा कम भएकै कारण पिसावथैलीमा पत्थरी जमेको छ । अहिले उनको पिसाव चुहिने र थैलीमा रहेको पत्थरीको शल्यक्रिया पालैसँग हुँदैछ ।
घटना पाँच
नवलपरासीकी २५ वर्षीया मैनाकुमारी चौधरी (नाम परिवर्तन) को ९ वर्षअघि विवाह भयो । विवाहलगत्तै १७ वर्षको उमेरमा गर्भवती भइन् । उमेर परिपक्व भइसकेको थिएन । त्यसैले समयमै बच्चा जन्माउन सकिनन् । करिव दुई दिनको व्यथापछि मात्र उनी सुत्केरी भइन् । सुत्केरी त भइन् तर उनको योनी धेरै च्यातियो र राम्रोसँग निको भएन । पछि गएर योनीबाट दिसा पो चुहिन थाल्यो । उनको अपानवायु पनि यौनीमार्गबाटै बाहिरिन थाल्यो । यो नयाँ अवस्थादेखि चौधरी आजित भइन् । तर कसैलाई भनिनन् । ‘पखाला लाग्दा र कडा भएको बखत दिसा पनि योनीबाटै आउँथ्यो’– चौधरीले सुनाइन् । यसरी दिसा हुँदा उनको पेट बेस्सरी दुख्थ्यो ।
यो समस्या बढेपछि उनी अस्पताल पुगिन् । उनी सुरुमा त सुत्केरी हुँदा अस्पतालमा सिलाइएको टाँका खुस्केको अनुमान गरेर गएकी थिइन् । आफ्नो समस्या बताएपछि अस्पतालले उनलाई एक महिना जति तातो पानीमा बस्ने उपचार गरे तर पनि उनको समस्यामा केही सुधार भएन । त्यसपछि घरैमा बसिन् । आठ वर्षपछि गत साउनमा सिटी अस्पताल भरतपुर पुगिन् । यो अस्पतालले प्रसूति हुँदा बिग्रेर फिस्टुला भएको भन्दै काठमाडौँ मोडेल अस्पतालमा सिफारिस गर्यो ।
अस्पतालका फिस्टुला तथा स्त्री रोग सर्जन डा. गणेश दंगालले जाँचेपछि उनमा उमेर नपुगी बच्चा जन्माउँदा पाठेघरको बाटो नबनेपछि पाठेघर नजिकका अंगहरू मलद्वार र पिसावको नली फुटेर यस्तो समस्या आएको थाहा भयो । यस्तो समस्यालाई चिकित्साको भाषामा ‘रेक्टोभजाइनल फिस्टुला’ भनिन्छ । ‘मलद्वार र योनीको बीचमा असमान्य बाटो बनेपछि यस्तो हुने गर्छ’– अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. अमोघ बस्नेतले भने ।
डा. दंगालका अनुसार पाठेघरमा बच्चा बसेको नमिल्दा र प्रजनन मार्ग सानो भएर यस्तो भएको हो । यस्तो समस्यामा पाठेघर र योनी पूरै खुला हुन्छ । अस्पतालमा पुगेलगत्तै डा. दंगालको टोलीले शल्यक्रिया गरी सुधार गरेका छन् । यस्तो उपचारलाई पेरिनल पुनर्निर्माण भनिन्छ । दिसा रोक्न दिसा च्यातिने प्रणालीको पुनर्निर्माण हुन्छ । सानो उमेरमा सुत्केरी हुनु, सानो उमेरमै यौन सम्पर्क गर्दा योनी मार्ग च्यातिएमा पनि यस्तो समस्या आउने चिकित्सक बताउँछन् ।
यो पनि पढ्नुहोस्
उपचारको तहमा पुगेका यी पाँचवटा प्रतिनिधि घटना हुन । यी घटनाबाहेक बर्सेनि ९० जना औसत सानो उमेरमा प्रसूति हुँदा यस्ता महिलाको पिसावको थैली या पिसाव निस्कने बाटोमा प्वाल परी पिसाव चुहिने गरेको काठमाडौँ मोडेल अस्पतालको तथ्यांक छ । लामो समय पिसाव चुहेका कारण महिलाको पारिवारिक, दाम्पत्य र सामाजिक जीवनसमेत बर्बाद हुने देखिएको छ ।
समस्या लुकाउँदाको परिणाम
सुत्केरी व्यथा लामो समय लाग्दा, सानो उमेरमा सुत्केरी हुँदा समयमै बच्चा जन्माउन नसक्दा, पाठेघर र बच्चाको बसाइ नमिलेमा प्रसूति हुँदा फिस्टुला (पिसाव या दिसा चुहिने समस्या) हुन्छ । पाठेघरको विभिन्न रोेगको शल्यक्रिया गर्दा, बच्चा निकाल्ने शल्यक्रिया गर्दा, पाठेघरभित्रको अन्य रोगको शल्यक्रिया गर्दा पनि फिस्टुला हुन्छ । जुनसुकै कारणले फिस्टुला भएको भए पनि उपचारपछि ९० प्रतिशत निको हुने चिकित्सक बताउँछन् । नेपालमा भने समाजको डर या लाजले गर्दा महिला समस्या लुकाएर बस्ने गर्छन् । ‘थाहा पाए के भन्लान् भन्ने डरले कसैलाई भनेका हुँदैनन्’– मोडेल अस्पतालका डा. बस्नेतले भने । ‘बीस वर्षसम्म पनि रोग लुकाएर बाँचेका महिला उपचारमा आएका छन्’– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग सर्जन प्राध्यापक डा. मोहनचन्द्र रेग्मीलको भनाइ छ । कतिपय महिला श्रीमान्सँंग सम्बन्ध विच्छेद हुने डरले पनि रोग लुकाएर बस्ने गरेका डा. दंगालले सुनाए ।
जसका कारण महिलाहरू लामो समय पीडित बन्ने गरेका चिकित्सकहरू सुनाउँछन् । तर शल्यक्रियाका कारणले सिर्जित फिस्टुलाको समस्या समाधान गर्न भने पीडितहरू चिकित्सककोमा ‘फलो अप’ गर्न जाने गरेका र यही कारण समस्या समयमै पहिचान हुने भएकाले उपचार छिटो र सहज हुने गरेका पनि देखिएको छ ।
मुख्य कारण शल्यक्रियामा लापरबाही
चिकित्सकका अनुसार एक दशकअघिसम्म उपचारमा आउने बिरामीको स्थिति हेर्दा प्रसूतिको जटिलताले फिस्टुला (पिसाव चुहिने समस्या) हुन्थे । पछिल्लो समय शल्यक्रियामा आउने जटिलताका कारण यस्तो समस्या बढेको चिकित्सक नै स्वीकार्छन् । मोडेल अस्पतालका फिस्टुला तथा प्रसूति रोग सर्जन डा. गणेश दंगालका अनुसार पाठघेर निकाल्ने शल्यक्रिया, पाठेघरमा हुने इन्डोम्रयोसिस, पेटको क्षय रोग, पाठेघरको क्यान्सरको शल्यक्रिया, कहिलेकाहीँ क्यान्सर उपचारका क्रममा दिइने रेडियोथेरापीले पनि यस्तो समस्या आउँछ ।
तर पछिल्लो समय नहुनुपर्ने शल्यक्रियामा कमजोरी भएर पिसाव चुहिने समस्या बढेको चिकित्सक बताउँछन् । डा. दंगालका अनुसार पहिला सानो उमेरमा प्रसूति हुँदा र विवाह हुँदा मात्र यस्तो समस्या आउँथ्यो भने अहिले पाठेघर निकाल्ने, बच्चा निकाल्ने शल्यक्रियाका कारण पिसाव चुहिने घटना बढी भएको देखिन्छ । डा. दंगालका अनुसार अहिले पिसाव या दिसा चुहिने समस्या भएर आएका कुल बिरामीमध्ये शल्यक्रियाको जटिलता मुख्य कारण भएका आधाजसो छन् । ‘वर्षमा करिव सयवटा फिस्टुलाको शल्यक्रिया गर्छौँ, तीमध्ये झण्डै ५० वटा शल्यक्रियापछि भएका फिस्टुला छन्’– उनले भने । उनको भनाइ छ– ‘पहिला जस्तो जटिल प्रसूति कम हुन्छ, यही कारण प्रसूतिकै लागि हुने शल्यक्रिया र पाठेघर निकाल्ने शल्यक्रिया दुवै बढी छ ।’ पहिला धेरै प्रसूति घरमै हुने भएकाले प्रसूतिपछिको फिस्टुला बढी हुन्थ्यो, अहिले भने धेरै प्रसूति अस्पतालमा हुने गर्छ । स्वास्थ्य संस्था विस्तारका कारण शल्यक्रिया संख्या बढेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्त्री रोग तथा फिस्टुला सर्जन प्राध्यापक डा. मोहनचन्द्र रेग्मीका अनुसार यो अस्पतालमा मात्र वार्षिक औसत ६० जना फिस्टुलाका बिरामी आउँछन् । तीमध्ये ५० प्रतिशत शल्यक्रियाकै क्रममा पिसावको थैली काटिएर या प्वाल परेर हुने बिरामी छन् ।
फिस्टुलाको आकार
नेपालमा प्रतिवर्ष करिव ४ सयजना नयाँ फिस्टुलाका बिरामी बढ्छन् । हालसम्म ५ हजार भन्दा बढीमा फिस्टुलाको समस्या भइसकेको छ । दक्षिण एशिया र अफ्रिकी देशमा गरी प्रतिवर्ष १ लाखजनामा यस्तो समस्या हुने गरेको तथ्यांक छ । तर विकसित देशमा यस्तो समस्या शून्य रहेको डा. दंगाल बताउँछन् । ‘यो समस्या नेपालको सन्दर्भमा हेर्दा विपन्न, अशिक्षित र विकासकोे मूल प्रवाहमा पछि परेका समूह र समुदायमा बढी देखिन्छ’– उनको अनुभव छ ।
काठमाडौँ मोडेल अस्पतालका स्त्री रोग सर्जन डा. अमोघ बस्नेत पनि शल्यक्रियाकै कारण यस्तो समस्या बढेको बताउँछन् । उनका अनुसार यो अस्पतालमा उपचारमा आउने औसत पाँचजना बिरामीमध्ये दुईजना शल्यक्रियाको जटिलतासँग सम्बन्धित बिरामी छन् । गत साता शल्यक्रिया गरेका सातजना बिरामीमध्ये तीनजना शल्यक्रियापछि निम्तिएको पिसाव चुहिने समस्याका थिए । हाल उनीहरू डिस्चार्ज भइसकेका छन् ।
यो पनि पढ्नुहोस्
डा. बस्नेतको भनाइमा पिसाव चुहिने समस्या नेपालमा शल्यक्रियाको पहुँच र संख्या बढेसँगै बढेको छ । यस्तो समस्या धेरै शल्यक्रियाकै कारण बढेको हो । उनी भन्छन्– धेरै शल्यक्रिया भएपछि जटिलता पनि बढ्छ, यस्तो नेपालमा मात्र नभइ दक्षिण एशियाली अन्य राष्ट्रमा पनि हुन्छ ।
स्तरीयता : अर्को कारण
मोडेल अस्पतालका स्त्री रोग विभाग प्रमुख तथा फिस्टुला विशेषज्ञ डा. दंगाल भने पछिल्लो समय नेपालमा स्वास्थ्य सेवाको विस्तारसँगै गुणस्तरीयता कायम हुन नसक्नुले शल्यक्रियाबाट हुने फिस्टुला बढेको धारणा राख्छन् । नयाँ अस्पतालहरू विस्तार हुनु तर दक्ष चिकित्सकको भने कमीका कारण यो समस्या बढेको हो । स्त्री रोग सर्जनहरू विभिन्न देशबाट अध्ययन सकेर आउने र उनीहरूमा समान तहको सिप विकास नहुँदा शल्यक्रियामा सीमित जटिलताको सट्टा असीमित जटिलता आइरहेको उनको बुझाइ छ । ‘कोही चीनमा पढेर आउने छन्, कोही बेलायत त कोही बंगलादेश पढेर आउने छन्’– विविधताको कारण बताउँदै उनले भने ।
फरक देशका कलेजबाट अध्ययन सकेर आउने चिकित्सकलाई दक्ष बनाउन धेरै विज्ञको निगरानीमा धेरै बिरामीको शल्यक्रिया गर्ने वातावरण हुनुपर्छ । सबैले धेरै बिरामी आउने अस्तपालमा अभ्यास तालिम पाएका हुँदैनन् । जबकि शल्यक्रियामा दक्ष हुनका लागि धेरै बिरामीसँग अभ्यास तालिम पाएको हुनुपर्छ । ‘यस्तो अवसर सबै चिकित्सकले पाएका हुदैनन्’– उनले भने ।
पढाइ सक्नेबित्तिकै चिकित्सकलाई सरकारले उपत्यकाबाहिर मुख्य जिम्मेवारी तोकेर पठाउने र उनीहरूमा पर्याप्त अभ्यासको कमी हुनुले पनि शल्यक्रियामा जटिलता आउन सक्छ । यसबाहेक शल्यक्रियाको भार धेरै हुँदा पनि समस्या आउन सक्छ । शल्यक्रिया भएका सयजनामध्ये एक-दुईजनामा जटिलता आउनुलाई सामान्य मानिन्छ । तर त्यो भन्दा बढी संख्यामा जटिलता आयो भने कमजोरीको कारण हुने फिस्टुलाका रूपमा लिनु चिकित्सकीय सिद्धान्त हो । तर नेपालको यो अनुपात भन्दा बढी जटिलता देखिएको दंगालको बुझाइ छ ।
स्वास्थ्य संस्थाको सेवा प्रवाहमा भएको लापरबाहीका कारण यस्तो समस्या बढेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग तथा फिस्टुला सर्जन प्राध्यापक डा. मोहनचन्द्र रेग्मी बताउँछन् । ‘मुख्य कुरा दक्ष र तालिम प्राप्त जनशक्तिबाट यो सेवा प्रवाह हुनुपर्छ, त्यो अवस्था देखिएन’– उनले भने । नेपालको तराईमा यो समस्या बढी भएको डा. रेग्मी बताउँछन् । भारतको सिमाना जोडिएका जिल्लाका महिला भारत तथा नेपालभित्रकै स्वास्थ्य संस्थामा सेवा लिन पुग्ने क्रममा गर्नै नपर्ने शल्यक्रिया गरी पाठेघर निकाल्ने र निकाल्ने क्रममा दक्ष जनशक्तिको अभावका कारण जटिलता आउने गरेको डा. रेग्मी बताउँछन् । यतिसम्म कि २३ वर्षकी महिलाको समेत भारतमा लगेर पाठेघर निकालेका घटना पाइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै स्त्री रोग सर्जन डा. सन्तोष झाले बताए । ‘सामान्य सेतो पानी बगेको निहुँमा शल्यक्रिया गरेकी महिलालाई पाठेघरको काम छैन भन्दै शल्यक्रिया गरेको पनि पाइयो’– डा. झाले सुनाए ।
यस्ता पनि छन् कारण
तराईका अशिक्षित र पिछडिएका महिलाबीच भारतीय स्वास्थ्य संस्थाको प्रचार र प्रलोभनमा पार्ने बिचौलियाका कारण फिस्टुलाको समस्या बढ्दो क्रममा रहेको डा. झा बताउँछन् । नेपालभित्रै खुलेका निजी स्वास्थ्य संस्थाको गुणस्तरहीन सेवा, सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको कमी, सरकारी अस्पतालमा बिरामीको चाप, गाउँका सोझासाझा बिरामीलाई एम्बुलेन्सकै एजेन्टमार्फत गुण्स्तरहीन स्वास्थ्य संस्थामा पुर्याएर शल्यक्रिया गराइनु जस्ता कारणले पनि अनावश्यकरूपमा पाठेघर निकाल्ने शल्यक्रियामा धकेल्ने र सोही क्रममा फिस्टुलाको शिकार हुने गरेको डा. रेग्मी बताउँछन ।
सरकारी स्वास्थ्य सेवामा सुरक्षित मातृत्वको कार्यक्रमलाई अहिले पनि सरकारले पूर्ण सुरक्षित सेवा प्रदान गर्न नसक्नुले महिलाहरू गुणस्तरहीन स्वास्य सेवाको शिकार हुने गरेको डा. रेग्मी बताउँछन् । पछिल्लो तथ्यांकअनुसार नेपालको प्रति १ लाख मातृ मृत्यु दर १५३ जना छ । यो दर अहिले पनि धेरै उच्च भएको रेग्मीको भनाइ छ ।
चिकित्सकका अनुसार राज्यले संविधानमै घोषणा गरेको सुरक्षित प्रजनन सेवाको सुनिश्चितता व्यवहारमा उतार्न नसक्नुले समस्या अहिले पनि कायमै रहेको हो । अहिले पनि देशमा प्रति १ लाख प्रसूतिमध्ये १५१ जनाको मृत्यु हुन्छ । यो अवस्था आउनुको पछि गर्भवती पुग्ने सरकारी स्वास्थ्य संस्थामा पूर्ण पहुँच नहुनु, गुणस्तरीयता कायम नहुनु, कम जनशक्तिको भरमा सेवा प्रवाह गर्नु र अहिले पनि सबै तहका सरकारी अस्पतालमा चिकित्सकहरू नबस्ने प्रवृत्ति जस्ता कारण देखिन्छ । डा. रेग्मी भन्छन्– ‘चालीस वर्ष पुरानो जनशक्ति संरचनाका भरमा सेवा प्रवाह भइरहनु पनि यस्तो समस्या निम्तनुको एउटा कारण हो ।’ विशेषज्ञ चिकित्सक उत्तीर्ण भइ सेवामा पुगेपछि बीचमा हुनुपर्ने अनुगमन, सेवामा हुनुपर्ने मूल्यांकन तथा आवधिक तालिम आदिको व्यवस्था कमीले पनि समस्या कायमै रहेको उनको भनाइ छ ।
धरापमा यौन तथा सामाजिक जीवन
जुनसुकै कारणले फिस्टुलाको समस्या भए पनि यस्तो समस्या भएपछि महिलाको वैवाहिक र सामाजिक जीवन धरापमा पर्ने गरेको सर्वत्र देखिएको छ । उपचारमा आएका बिरामीमध्ये धेरैलाई पिसाव चुहिने समस्यापछि पतिले छाड्ने, अर्को विवाह गर्ने या दाम्पत्य जीवन सहज नहुने गरेको डा. अमोघ बस्नेत बताउँछन् । ‘धेरेको यौन जीवन समस्यामा परेको देखिन्छ, त्यसपछि श्रीमान् टाढिएका घटना धेरै छन्’– उनले थपे ।
यो पनि पढ्नुहोस्
डा. बस्नेतका अनुसार लामो समय पिसाव चुहिने र समयमै त्यसको उपचार नहुँदा दैनिकी व्यवस्थापनमा समस्या परेको हुन्छ । पिसाव निरन्तर चुहिँदा सम्बन्धित व्यक्तिबाट गन्ध आउने, गन्ध आएका कारण परिवारका सदस्य नजिक नबस्ने, आफन्त या छिमेकीसँग कम संगत गर्ने जस्ता समस्या आउँछन् नै । यसरी लामो समय प्याडको भर पर्दा बिरामीको योनी वरपरको भागमा घाउ हुने, चिलाउने या अन्य संक्रमणको जोखिम हुन्छ । कतिपय महिलाले पिसाव नचुहियोस् भनेर दुईवटा खुट्टा च्यापेर बस्दा खुट्टा बाँगिने जस्ता समस्या थपिएका बिरामी पनि भेटिएका छन् । धेरै पानी पिउँदा धेरै पिसाव चुहिने डरले धेरै बिरामीहरूले कम पानी पिउने र पछि गएर यस्ता बिरामीको पिसाव थैलीमा यही कारण पत्थर बन्ने गरेको अनुभव चिकित्सक सुनाउँछन् ।
राज्य नै गैरजिम्मेवार
सुरक्षित प्रजनन तथा मातृत्व सेवा दिने दायित्व राज्यको भएकाले सर्वप्रथम राज्यले नै स्वास्थ्य संस्थामा सुधार गर्नुपर्ने विज्ञ चिकित्सकहरू सुझाउँछन् । यसका लागि राज्यले प्रवाह गर्ने हरेक स्वास्थ्य संस्थामा दक्ष जनशक्ति, आवश्यक उपकरण, तालिमको व्यवस्था, स्वास्थ्य संस्थाहरूको अनुगमन तथा कारबाहीको व्यवस्था हुनुपर्छ । यसका लागि विभिन्न देशमा चिकित्सा अध्ययन पूरा गरेका चिकित्सकको तालिम, सेवा प्रवाहका लागि आवश्यक व्यवस्था गर्ने, विशेषज्ञ स्त्री रोग चिकित्सकको लागि पर्याप्त निगरानीमा अभ्यासका लागि अवसर प्रदान गर्ने जस्ता व्यवस्था हुनु आवश्यक छ ।
तराईमा पछि परेका तथा कम शिक्षित महिलाबीच स्वास्थ्य सेवा र यस्तो सेवा प्रवाह गर्ने संस्थाबारे जनचेतना कार्यक्रम वृद्धि गर्ने दायित्व पनि सरकारकै हो । खासगरी स्थानीय सरकारले यसका लागि भूमिका निर्वाह गर्नुपर्छ । कम उमेरको विवाह र कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति रोक्न लक्षित समुदायबीच विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ । तर राज्यबाट यसतर्फ पर्याप्त भूमिका निर्वाह नहुनु दुःखद पक्ष हो । राज्यले स्वास्थ्य संस्थाले दिने सेवाको अडिट गर्ने परिपाटी भएमा यो समस्या न्यूनीकरण हुने चिकित्सक बताउँछन् । ‘मुख्य कुरा चिकित्सक र सेवाको गुणस्तरको अनुगमन र मूल्यांकन हुनुपर्छ’– डा. दंगालको सुझाव छ ।
अन्तर्वार्ता
स्वास्थ्य संस्थामा गुणस्तरीयताको कमी अहिलेको समस्या : डा. मोहनचन्द्र रेग्मी
फिस्टुला समस्याका लागि खास जिम्मेवार को हो ?
सबै भन्दा जिम्मेवार निकाय राज्य नै हो । नेपालको संविधानले सुरक्षित प्रजनन अधिकार सुनिश्चित गरेअनुरूप राज्यले स्वास्थ्य संस्थाको गुणस्तर कायम राख्नुपर्छ । सुरक्षित मातृत्व ऐनले सय प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा हुनुपर्ने व्यवस्था गरेको छ । जबकि अहिले ८० प्रतिशत मात्र स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुने गरेका र बाँकी २० प्रतिशत स्वास्थ्य संस्थाबाहिरै हुने गरेका छन् । तर यसका लागिष् अहिलेको स्वास्थ्य जनशक्ति र संरचना पर्याप्त छैन । संख्यात्मकरूपमा स्वास्थ्य संस्थाको विकास हुँदै गएको छ तर प्रसूति सेवाका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति भने छैन ।
यो समस्या बढ्नुको कारणचाहिँ ?
कतै न कतै नीति र व्यवहारमा खाडल छ । यही खाडलको परिणाम अहिले पनि धेरै महिला प्रजनन स्वास्थ्य सेवाको पहुँचबाहिर छन् । गुणस्तरीय सेवाको कमीका कारण विकसित देशमा शून्य संख्यामा रहेको फिस्टुला हामीकहाँ बर्सेनि सयौँको संख्यामा देखिन्छन् । जुन समस्याले महिलाको प्रजनन अधिकार हनन भएको छ ।
यो समस्याको समाधान के हो त ?
कुनै पनि गर्भवती स्वास्थ्य संस्थामा पुगेको दुईदेखि तीन घण्टाभित्र शल्यक्रियामार्फत प्रसूति हुने गरी स्वास्थ्य संस्थामा पूर्वाधार र जनशक्ति हुनुपर्छ । तर अहिलेको स्वास्थ्य संस्थामा यो अवस्था छैन । पुगेको दुई घण्टाभित्र आवश्यक परेमा शल्यक्रिया गरी प्रसूति हुन सक्ने तयारी अवस्थामा स्वास्थ्य संस्थाहरू रहनुपर्छ ।
यो पनि पढ्नुहोस्
पर्सेन्टाइल चलखेलले संकटमा चिकित्सा शिक्षा
प्रकाशित: २२ कार्तिक २०८१ १४:११ बिहीबार