१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
धर्म/संस्कृति

प्रतिष्ठानमा पुलकित ‘विसुपर्व’

संस्कृति

दैलेखीमा ठेका भाँडाको भैंसी दुनी हुन्?

चेला रैग्या दुरैदुर आमाज्यू रुनी हुन्!

(रारा शिरानी, जन्मभूमि भइग्यो बिरानी, लय– भाक्या)

यी र यस्तै गीत गाउँदै मुगु, कालीकोट र हुम्लाका महिलाहरू नेपाल प्रज्ञा प्रतिष्ठान अगाडिको आँगनमा विसुपर्वको उपलक्ष्यमा देउडा खेलिरहेका देखिन्थे। उनीहरू जन्मभूमि छोडेर उपत्यकामा बस्न आएको पनि वर्ष दिन भयो। कोही करेसा खेती, कोही च्याउ खेती त कोही श्रमजीवी काम गरेर जीविकोपार्जन गरिरहेका छन् - काठमाडौं, भक्तपुर, ललितपुर र कोही त बनेपा, काभ्रेमा पनि। प्रत्येक वर्ष वैशाख १ गते प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा कार्यक्रमको आयोजना हुन्छ भन्ने ती देउडा खेलाडी महिलालाई थाहा छ। वैशाख १ गतेको सामूहिक भेटघाट गरी देउडा खेलेर मनको धोको पूरा गर्ने इच्छाले साथीसँगी लिएर उनीहरू समयमा नै कार्यक्रमस्थल पुगिसकेका थिए।

कालीकोट घर भएका ७० वर्षीया सुनपूरा शाही, पानसा हमाल (६५ वर्षीया), कृष्ण हमाल (६० वर्षीया), बझाङ पडेसका रामबहादुर खड्का, सुनिकोटका इन्द्रबहादुर बम, बिरही बम, चैनपुरका भरतबहादुर सिंह, तलकोटका पूर्णबहादुर थापा, मालूमेलाका अञ्जु गिरी, भागीरथी गिरी, जानकी गिरी, खप्तड छान्ना बयानाकी कृष्णादेवी थापालगायत विसु कार्यक्रम सफल पार्न र देउडा खेल्न भनी हौसिएर कार्यक्रमस्थल पुगिसकेका थिए। हुम्ला सर्केगाड–८ फुचाका दीपक रोकाया, जाजरकोट बाह्रकोटका चन्द्रा शाह, मुगु खत्याडका पूजा तिवारी, सिर्जना बिसी, दैलेखकी पवित्रा आचार्य, बैतडीकी अम्बिका भट्टलगायतका संस्कृतिकर्मी देउडा खेल्न हतारिएका देखिन्थे तर भित्री हलमा गरिने औपचारिक कार्यक्रम बाँकी नै थियो।

कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्मा, विशेष अतिथि सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट पुगुन्जेल सभाहल भरिभराउ भइसकेको थियो। कार्यक्रम सञ्चालक तथा लोक देउडा गायक डिबी बोहोरा र संस्थाकी संस्थापक सदस्य एवं लघुकथाकार गायिका प्रार्थना खनाल, देउडा गायक उमाशंकर जोशी, दीपा रोकाया, निरुता खत्री, सरस्वती धामी कार्यक्रमको रौनक बढाउन आआफ्ना प्रतिभा पनि देखाइरहेका थिए। केही दिन पहिले देशमा पानी परेर होला, गर्मी त्यति साह्रो थिएन। मौसम र मौसमसँगै प्रज्ञा प्रतिष्ठानमा फुलेका विभिन्न जातका रंगीबिरंगी फूलहरूले मन आकर्षित गरिरहेका थिए।

बाहिर आँगनमा एक जना केटा र दुई जना गोरा केटी टुप्लुक्क देखापरे। उनीहरूको सामूहिक प्रश्न थियो - ‘हु इज जोशी?’

विसुपर्व मनाउन आएका चारपाँच जना संस्कृतिकर्मीले मतिर इसारा गरे। उनीहरू मतिर आएको देखेर मनमनै सोचेँ -सायद सुदूरपश्चिम र कर्णाली प्रदेशको आजको पर्वको महत्त्वबारे जिज्ञासा राख्न आएका होलान्। नभन्दै देउडाबारे केही जिज्ञासा राखे। अंग्रेजी भाषामा पोख्त नभएको मलाई उनीहरूको लवज बुझ्न केही कठिनाइ त भयो तर देउडा गीत, संगीत र संस्कृतिबारे प्रश्न गरेको अड्कल गरेँ।

नेपाल विविध जातजाति र संस्कृतिले भरिपूर्ण स्वतन्त्र मुलुक हो। यहाँ प्रत्येक जातजातिका नयाँ वर्ष मनाउने आफ्नै शैली छन्। जसमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि बेग्लै परम्परा छ। ‘तपाईंहरूलाई हार्दिक स्वागत छ हाम्रो कार्यक्रममा’ भनी उनीहरूलाई कार्यक्रमस्थल लिएर गएँ। ती पाहुना रुसबाट नेपालको मुस्ताङ, लमजुङको घलेगाउँ, पोखरालगायत ठाउँ घुम्न आएका रहेछन्।

डेनिस, अन्ना र मर्गिटा नाम गरेका तीन जनालाई मञ्चमा बोलाई खादा लगाए कार्यक्रम सञ्चालक डिबीले। अरू अतिथिलाई झैं विदेशी अतिथिलाई पनि मञ्चमा स्थान दिलायौं। दुई घण्टासम्म कार्यक्रममा रोचक मानेर होला, चुपचाप कार्यक्रम हेरिरहे। नबुझे पनि हाम्रो भाषा सुनिरहे। मञ्चमा सिन्नु (सिस्नु) राखिएको थियो। एकआपसमा सिस्नु लगायौं। विसुपर्वमा रोग नलागोस् भन्नका लागि सिस्नु लगाउने चलन छ। विशेष गरी देवर–भाउज्यूबिच सिस्नु लगाउने प्रचलन काली–कर्णालीमा बढी छ। मञ्चमा सिस्नु लगाएको दृश्य उनीहरूले आआफ्नो क्यामेरामा कैद गरे।

निशा शर्मा काँडा नै काँडा भएको संघर्षशील बगैंचामा पाइला टेक्दै नेपाली जनजीवनलाई नाटकका माध्यमबाट उजागर गर्ने सफल रंगकर्मी हुन्। निशा र सुनिल शर्माले नेपाली नाटकलाई स्वदेशमा मात्र होइन, विदेशमा पनि देखाएर नेपाली समाजको पहिचान दिलाए। यिनै विशिष्ट योगदानको कदर गर्दै यसपटक विसु कार्यक्रमको प्रमुख अतिथि निशा शर्मालाई बनाउँदा उपस्थित सबै जनाले खुसी व्यक्त गरे, जुन गैरराजनीतिक व्यक्तिको आगमन थियो।

सधैंझैं यसपटक पनि तीन जना व्यक्तित्वलाई सम्मान गर्‍यौं। प्रतिष्ठित गायक, संगीतकार रत्न बेहोसी, प्रतिष्ठित लोक गायिका संकलक चन्द्रकला शाह र पत्रकार पवन प्याकुरेललाई दोसल्ला, ताम्रपत्रसहित प्रमुख अतिथि शर्मा, विशेष अतिथि विष्ट र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सम्मान गर्नुभयो।

यसै गरी विसु, गौरा पर्वमा देउडा खेलेर संस्कृति जोगाउँदै चर्चा कमाएका धर्मराज उपाध्याय, बिरही बम, सुरेश बोहोरा, भानुभक्त जोशी, जनक महरा, लालमती सिंह, गोदावरी सिंह, छाया सुनार, अञ्जु गिरी, कुसुम राना र विनोद विश्वकर्मालाई उहाँहरूले प्रशंसापत्र वितरण गर्नुभयो।

भाषण होइन, देउडा खेल्न सबै जना लाग,

प्रदेशी हुँ, प्रदेश बस्छु, प्रदेश मेरा भाग।

बझाङ घर भएका बिरही बम र कृष्ण थापा गीतमा सवाल–जवाफ गर्दै थिए। उनीहरूको निष्कर्ष थियो - अब भाषण होइन, संसद्मा देउडा गीत पनि झल्कनुपर्‍यो। यो व्यंग्य बैतडी, बझाङ, कैलालीका सांसद क्रमशः हरिमोहन भण्डारी, ऐन महर, गणेशबहादुर विकप्रति लक्षित थियो। नेपाल सांस्कृतिक समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गीतमै क्यान्सर रोगग्रस्त देउडा गायक टेकराज अवस्थीलाई आर्थिक सहयोगको आह्वान गरे।

विदेशी पाहुनाले झन्डै एक घण्टासम्म हात समातेर डेढी कदम पाइताला चलाउँदै देउडा खेले। उनीहरूले देउडा संस्कृति, सिस्नु लगाउने परम्पराबारे खोज गर्ने विचार राखे। ती पाहुनाले देउडासम्बन्धी धेरै प्रश्न गरे। जसमध्ये ‘अमेरिका र बेलायतमा तपाईंले कस्ता खालका गीत गाउनुभयो?’ भनी सोधेको प्रश्न मन छुने र बौद्धिक लाग्यो। अमेरिकाको हवाई टापुबाट २०६० सालमा समाजको कार्यक्रममा देउडा खेल्दै अन्ना नामकी केटीले पनि पंक्तिकारलाई यस्तै प्रश्न गरेकी थिइन्।

देउडा हाम्रो जीवनपद्धति हो, संस्कृति र संस्कार पनि हो। आदिम संस्कृति र देशको पहिचान देउडा गीत, संगीत र खेललाई विश्वव्यापी बनाउनु छ। विगत २६ वर्षदेखि देउडा समाज यही काममा जुटिरहेको छ।

प्रकाशित: ५ वैशाख २०८३ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App