भक्तपुरको मध्यपुर थिमीमा आज जिब्रो छेड्ने जात्रा हुँदै छ। मध्यपुर थिमी नगरपालिका ४ (क्वलाखु) बालकुमारीनिवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले ‘येंयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा’ मा जिब्रो छेडाउने भएका हुन्।
विभिन्न कारणले यो जात्रा बन्द भएको थियो। यो जात्रा २०२६ सालसम्म चलेको बताइएको छ। त्यसपछि बन्द भएको जात्रा पुनः सञ्चालन गर्दै वीरेन्द्रभक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएका थिए। त्यसपछि २०७९ र २०८१ मा पनि उनैले जिब्रो छेडाए। यो वर्ष चौथोपटक उनले जिब्रो छेडाउने भएका हुन् । २०७४ को बीचमा भने अन्यले जिब्रो छेडाएका थिए।
थिमीको दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा उनले जिब्रो छेडाउने मिति र तत्पश्चात् परिक्रमा गरिने रुटसमेत सार्वजनिक भएको छ। यो वर्ष जिब्रो छेडाएर भ्ये बोकेर खाली खुट्टा हिँडेरै भक्तपुर नगरका नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने निश्चित भएको छ। थिमी नगरदेखि करिब १० किलोमिटरको दूरीलाई दिगुटोलबाट सुरु गरेर बालकुमारी मन्दिर पुगेर सम्पन्न गराउने तयारी थालेको बताइएको छ।
जिब्रो छेडाउने व्यक्तिको इच्छाअनुसार रुट घुमाउने प्रचलन छ। त्यसैअनुसार यो वर्ष मध्यपुर थिमीबाट भक्तपुर नगर परिक्रमा हुने भएको हो। जिब्रो छेड्ने वीरेन्द्रभक्तले आफूले भक्तपुर घुम्ने निधो गरेकाले जात्रामा भक्तपुर घुम्ने जानकारी गराए।
जिब्रो छेड्ने व्यक्तिसँगै सयौं दर्शनार्थी हिँड्ने गर्दछन्। यसअनुसार यो वर्ष मध्यपुर थिमीको दिगुटोलबाट सुरु हुनेछ। त्यहाँबाट मध्यपुर थिमीकै बालकुमारी मन्दिर, तछुटोल (गँतले), विष्णुवीर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोक, दक्षिण बाराही मन्दिर (क्वाछें), सोही रुट भएर शंखधर चोक थिमी, ताकुबा हुँदै राधेराधे पुग्ने छ। त्यसपछि मध्यपुर थिमी तरेर भक्तपुर नगरपालिका १ सल्लाघारी पुग्ने छ। त्यहाँबाट क्रमशः भक्तपुर नगरको चोङा गणेश, सिद्धपोखरी, नःपुखू, दरबार स्क्वायर, न्यातापौ देगः (तःमारी), सुकुलढोका, दत्तात्रय मन्दिर (तचपाः), क्वाठडौं, नवदुर्गा मन्दिर (द्यःछेँ), साःक्वलान हुँदै न्यातापौ देगः (तःमारी) फिर्ता हुनेछ। त्यहाँबाट पुनः भक्तपुर नगरकै वंशगोपाल, सिद्धपोखरी, चोंगा गणेश हुँदै मध्यपुर थिमी नगरपालिका क्षेत्रको निकोसेरा पुग्नेछ। त्यहाँबाट मध्यपुर थिमी नगरपालिका क्षेत्रको नगरपालिका चोक, पाटी बिहार, गुङ्गः चिवाः, भीमसेन चोक हुँदै नगदेश, सिद्धि गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलँख्यः, चोदे टोल, निगुपुखु, (क्वलाखु) बालकुमारी मन्दिर पुगेर समापन हुनेछ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जिब्रो छेड्ने वीरेन्द्रभक्तले यो वर्ष भक्तपुर नगरपालिका क्षेत्र जान चाहेकाले सहयोगको लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कुराकानी भइसकेको जनाए। ‘उहाँले हुन्छ हामी भव्य स्वागतका साथ सहयोग गर्छु भन्नुभएको छ’, प्रमुख श्रेष्ठले जानकारी गराए।
नेपाल संवत् तिथिबमोजिम इन्द्रजात्राको भोलिपल्ट हजारौंको संख्यामा उपस्थितमा कर्मी नाइकेले करिब १० इन्च लामो सुइरोले वीरेन्द्रभक्तको जिब्रो छेड्ने छन्। इन्द्रजात्राको उपलक्ष्यमा हुने जिब्रो छेड्ने जात्राका लागि आवश्यक तयारी सुरु भइसकेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्र श्रेष्ठले जनाए। यसअघि भदौ २२ गते हुने जात्राका लागि करिब एक महिना अघिदेखि सुइरो बनाउने नकर्मीका नाइकेको घरमा जिब्रो छेड्ने सुइरो तयारीका लागि निश्चित गर्न जाने परम्परा तथा एक हप्ताअघि द्यःदुसालेगु (देवता आह्वान गर्ने) परम्परासमेत सकिएको उनल जनाए।
यो जात्रा रातको समयमा हुने गर्दछ। जात्राको साँझ मध्यपुर थिमी नगरभित्रका विभिन्न ठाउँमा दीप प्रज्ज्वलन गरेर करिब आठ बजे दिगुटोल पुगेका वीरेन्द्रभक्तलाई दुईजना सहायकमार्फत भैरव मन्दिर फर्काएर डबलीमा चढाइन्छ। त्यसपछि शुद्ध तोरीको तेलमा डुबाइराखिएको फलामको सुइरोले जिब्रो छेडिन्छ।
नायः पःमँ (तत्कालीन थिमी दरबारका प्रमुख प्रशासक) को उपस्थितिमा वीरेन्द्रभक्तले जिब्रो छेडाएसँगै भ्ये (महादीप) लाई काँधमा बोकेर पैदलै भक्तपुर नगर परिक्रमा गराइने छ। उनीसँगै सयौंको संख्यामा संस्कृतिप्रेमी भक्तपुर पुग्नेछन्। खाली खुट्टा सेतो जामा लगाएर नगर परिक्रमा गर्ने उनीसँगै ‘ताकुं भ्येः ख्वाःमस्यूसें भ्वय् नये’ भन्दै स्थानीय युवा पनि सहभागी हुनेछन्। कतिपयले धिमे बाजाको तालमा भुस्याः बजाएर नगर परिक्रमा गर्नेछन्।
पूर्णिमाको राति जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गरेपछि अन्त्यमा थिमीकै बालकुमारी मन्दिरमा पुगेर कःमि नायःले सुइरो निकालेपश्चात् नित्यनाथ परिसरको माटो जिब्रोमा लगाइदिएको हुन्छ । त्यसलगत्तै सगुन लिएर भोज खुवाउने चलन छ भने भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी देवता पु¥याउन जाने अर्थात् विसर्जन पूूजा गर्नुपर्ने प्रावधान छ।
जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार यसअघि बोदे, नगदेश, टिगनी, नीलबाराही, चाँगुनारायण तथा काठमाडौंको पशुपतिनाथसम्म पनि परिक्रमा गरेको इतिहास छ।
जात्राको ऐतिहासिक पक्ष
काठमाडौंमा कुमारी, भैरव र गणेशको रथ तानेर इन्द्रजात्रा मनाइरहँदा थिमीमा भने जिब्रो छेडाएर जात्रा मनाइन्छ। प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट थिमीमा जिब्रो छेड्ने परम्परा भए पनि केही दशकयता आर्थिक तथा प्राविधिक कारणले यो जात्रा बन्द हुने र पुनः सञ्चालनमा आउने क्रम जोडिएको छ। वीरेन्द्रभक्तले जिब्रो छेडाउनुअघि २०५० साल, २०५७ साल र २०६३ सालमा जिब्रो छेडाएका थिए।
२०५० सालदेखि २०६३ सालसम्म तीनपटक कृष्ण नानिचा श्रेष्ठले संस्कृति संरक्षणमा योगदान दिएका थिए। त्यसपश्चात् अर्थात् २०७४ यता चोदे टोलका बालकराम नानिचा श्रेष्ठले पनि दुईपटक जिब्रो छेडाएका छन्। बालकुमारी मन्दिरमा अवस्थित सुइरोको संख्यालाई हेरेर यो जात्रा करिब साढे तीन सय वर्ष अघिदेखि सुरु भएको अनुमान छ।
जिब्रो छेडाउने व्यक्तिलाई नगर परिक्रमा गराएपश्चात् सोही मन्दिरभित्रको थाममा सुइरो चढाउनुपर्ने हुन्छ। अहिले पनि थाममा कम्तीमा ३५५ वटा सुइरो टाँगिएका छन्। कतिपय अवस्थामा एकै वर्ष सातजनाले पनि जिब्रो छेडेको र धेरै वर्ष बन्द हुने क्रमसँगै थिमीमा जिब्रो छेड्ने जात्राको ऐतिहासिक पक्षको यकिन आकलन भने गर्न नसकिएको बताइएको छ।
जनश्रुतिअनुसार मध्यपुर थिमी नगरभित्रका भूतप्रेत तथा ख्याक भगाउन साहसिक व्यक्ति छनोट गरी जिब्रो छेड्ने चलन सुरुआत गरिएको थियो। जिब्रो छेड्ने व्यक्तिसँग यँमता (लामो बाँसमा कपडाले बेरेर तोरीको तेल राखेर बाल्ने आकाश दीप) सहभागी गराउने कथन छ।
नगरस्थित घरको छानो, अँध्यारो ठाउँ तथा कुनाकाप्चामा लुकेर बसेका ख्याकलाई आगोले पोलेर भगाउन यँमता प्रयोग हुने बताइन्छ। जात्रामा श्रेष्ठ समुदायको नायः पःमँ, कःमि नायः तथा अन्य पदवीले थिमीको जिब्रो छेड्ने जात्रा मल्लकालीन परम्परासँग सम्बन्धित भएको दर्शाउँछ। यसबाहेक भक्तपुरको मध्यपुर थिमीकै बोदेमा प्रत्येक वर्ष बिस्का जात्रामा जिब्रो छेड्ने जात्रा प्रख्यात छ।
प्रकाशित: २२ भाद्र २०८२ ०८:१५ आइतबार



-600x400.jpg)

