३ चैत्र २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

बालगोपालेश्वरमा दिदीबहिनी नहुनेले लगाए भाइटीका

तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन्।  

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको बताए।  

परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।  

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो।  

मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ् र मिठाई चढाई भगवान् बालगोपालेश्वरको आराधना गरेका थिए। परम्परागत विधिअनुसार पञ्चरंगी र सप्तरंगी टीका लगाएका थिए। टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गरेका थिए।  

भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ। रासस

प्रकाशित: ६ कार्तिक २०८२ १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App